शारदा बालविवाहमुक्त नगर बन्दै

शारदा नगरपालिकालाई बालविवाहमुक्त उन्मुख घोषणा कार्यक्रमका सहभागी ।तस्बिर : विप्लव महर्जन/कान्तिपुर 
कान्तिपुर संवाददाता

सल्यान — निर्धारित सूचक पार गरेपछि आइतबार शारदालाई बालविवाहमुक्त उन्मुख नगरपालिका घोषणा गरिएको छ । बालविवाहमुक्त नगरपालिका बनाउने गरी नगरपालिकाले गत वर्षदेखि विशेष अभियान सुरु गरेको थियो ।
आइतबार आयोजित कार्यक्रममा १५ वटै वडाका जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला र स्थानीयले हस्ताक्षर गरी प्रतिबद्धता जनाएका छन् ।

शारदा बालविवाहमुक्त नगर बन्दै

बालविवाहले सम्बन्धविच्छेद, बहुविवाह, महिला हिंसालगायत सामाजिक अपराध बढाएको ठहर गर्दै अभियान सञ्चालन गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार बालविवाहविरुद्धको अभियान नगरका १५ वटै वडामा जारी छ । नगरभित्रका ११ हजार घरधुरीलाई लक्षित गरी अभियान थालिएको उनले जानकारी दिए । ‘बालविवाहका घटना घटेपछि र केही सूचक पार गरिएपछि बालविवाहमुक्त उन्मुख घोषणा गरिएको हो,’ उनले भने, ‘अभियानले सार्थकता पाएपछि छिट्टै पूर्ण रूपमा बालविवाहमुक्त नगर घोषणा गरिनेछ ।’ अभियानअन्तर्गत नगरपालिकाले ‘घरघरमा स्टिकर’ अभियान सञ्चालन गरेको थियो । अभियानमा धर्मगुरु, पुरोहित, बालक्लव, महिला समूहलगायतलाई गाउँगाउँमा परिचालन गरिएको नगरप्रमुख अधिकारीले बताए । पछिल्लो समय नगरपालिकामा बालविवाहका घटना घटिरहेको जिल्ला प्रहरीको तथ्यांकले समेत देखाएको छ ।


यस वर्ष बालविवाहका दुईवटा मात्र घटना भएका छन् । गत वर्ष तीनवटा मुद्दा चलाइएको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले अभियानको प्रभावकारिता बढिरहेको बताए । ‘बालविवाह उन्मुख घोषणा गरिएसँगै जिल्लालाई बालविवाहमुक्त बनाउने अभियान सुरु गरिएको छ,’ उनले भने, ‘मातहतका प्रहरी इकाईलाई परिचालन गरी टोल प्रशिक्षण, विद्यालय शिक्षा, घरदैलोलगायतमा जोड दिइरहेका छौं ।’ बालविवाह गर्ने र गराउने १९ जनालाई कारवाहीको दायरामा ल्याइएपछि घटना कम हुँदै गएका उनले बताए ।


प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बालविवाह मात्रै रोक्न सके अधिकांश सामाजिक विकृति कम हुने बताए । पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाहले बालविवाहकै कारण महिलामा पाठेघर खस्ने समस्या बढिरहेको जनाए । ‘कानुनी आधारमा दण्डित र सामाजिक रुपमा बहिस्कृत भए पनि गाउँगाउँमा बालविवाह बढिरहेको छ,’ उनले भने, ‘जिल्लालाई बालविवाहमुक्त गर्न सके सल्यानले ठूलो उपलब्धि हासिल गर्नेछ ।’

प्रकाशित : फाल्गुन ५, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?