कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘सरकार, जवाफ खोइ ?’

सांसदहरूको प्रश्न
चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाका सदस्यहरूले विशेष र शून्य समयमा आफूले उठाएका प्रश्नको सरकारले जवाफै नदिने गरेको बताएका छन् । सरकारका क्रियाकलाप, समसामयिक घटनाक्रम र आ–आफ्नो क्षेत्रका समस्याबारे पटकपटक सवाल उठाए पनि सरकार मौन बस्ने गरेको उनीहरूको भनाइ छ ।

२०७५ जेठ २४ गते विशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले राष्ट्रपति रनिङ सिल्डमा कर्णाली प्रदेशका खेलाडीले काठमाडौंमा जर्सी नपाउनुले प्रदेशको बेइज्जत भएको टिप्पणी गरे । सरकारले जर्सी किन्न नसकेको हो वा दिन नचाहेको हो भन्ने उनको प्रश्न थियो । उनले ५५ लाखको ठेक्कामा संसद बैठक जाने बाटोमा ग्राभेल गरिएकोप्रति पनि आपत्ति जनाए । पटकपटक राजधानीभित्रका सडक, नाली र कल्भर्ट निर्माण गर्न माग गरिए पनि अवस्था उस्तै रहेको नेता शाहीको गुनासो छ । राजधानीकै सडक, नाली र कल्भर्ट निर्माणका लागि ६५ करोड रुपैयाँ माग गरिएको उनले जानकारी दिए ।

प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठकमा पनि विशेष समय लिएर बोल्दै सांसद पदमबहादुर रोकायले पहिलो चौमासिकका लागि ल्याएको बजेट कार्यान्वयन नभएको भन्दै प्रष्टिकरण मागे । तर, सम्बन्धित मन्त्री वा मुख्यमन्त्रीबाट उनले उचित जवाफ पाएनन् । प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठले कर्णाली प्रदेशका सबै जिल्लामा हवाइसेवा सञ्चालन गर्न सरकारसँग माग गरे । उनले उठाएको विषयको पनि सरकार मातहतका कुनै मन्त्रीले ठोस जवाफ दिएका छैनन् ।

विशेष समय वा शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ नपाइएपछि सांसदहरू सरकारप्रति रुष्ट बनेका हुन् ।

२०७४ चैत २६ गते बसेको प्रदेशसभा वैठकमा सरकारले निःशुल्करुपमा उपलब्ध गराउनुपर्ने औषधि नपाएर विकट जिल्लाका नागरिकले समस्या भोगिरहेको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा बोल्दै सांसद कृष्णा शाहले जाजरकोटका जनताले सिटामोलसमेत नपाएर छट्पटिनुपर्ने दर्दनाक अवस्था रहेको सुनाइन् । सांसद गणेशप्रसाद सिंहले सांसदहरूको विशेष समिति नै बनाएर अनुगमनका लागि पठाउन आग्रह पनि गरे । तर, सरकारले अझैसम्म दुर्गम क्षेत्रमा हुने औषधिको अपर्याप्ततालाई पूर्ति गर्न नसकेको सिंहको भनाइ छ । सांसद बिन्दमान विष्टले विपद् न्यूनीकरणका लागि सरकारको योजना सार्वजनिक हुनुपर्ने माग गरे । तर, सरकारले विपद् जोखिम बीमा कार्यक्रमबाहेक अन्य विशेष खालको योजना ल्याउन सकेको छैन । चालु आर्थिक वर्षको बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै उपस्थित नभएपछि कांग्रेसले सदन अवरुद्ध गरेका थियो । प्रदेशसभामा शून्य, विशेष र ‘ढ्यापढ्यापे’ समय लिएर उठाएका महत्वपूर्ण प्रश्नको जवाफ सरकारले नदिएको सांसद शाहीले बताए । गत वर्ष चैत ४ गते बसेको संसद बैठकमा प्रतिपक्षी दलका नेता शाहीले ‘ढ्यापढ्यापे’ समय लिएर मन्त्रीहरू सदनमा उपस्थित नभएकोप्रति आपत्ति जनाएका थिए ।

डेमोक्रेसी रिसोर्स सेन्टरले गरेको एक अध्ययनमा समेत कर्णालीका कुनै पनि मन्त्रीले जवाफ नदिएको पाइएको छ । प्रदेशसभा नियमावलीअनुसार मन्त्रीले सदनमा उठेका प्रश्नको सात दिनभित्र जवाफ दिनुपर्छ । सेन्टरले अध्ययनमा सबैभन्दा बढी जवाफ प्रदेश ५ का मन्त्रीहरूले दिँदा कर्णालीका एकजना मन्त्रीले पनि जवाफ नदिएको उल्लेख छ । तेस्रो अधिवेशनका १३ बैठकलाई आधार मानेर अध्ययन गरिएको हो ।

वीरेन्द्रनगरमा आइतबार आयोजित ‘प्रदेशसभाको कार्यप्रणाली र सहभागिता’ विषयक अन्तरक्रियामा सांसदले सरकार संसदप्रति जवाफदेही नभएको बताए । सांसद शाहीले अन्य प्रदेशले नगरेको ‘ढ्यापढ्यापे’ समय लिएर बोल्ने अभ्यास कर्णाली प्रदेशसभाले गरेको बताए । उनले प्रश्नोत्तरको अभ्यासका लागि समयको सदुपयोग हुनुपर्ने अडान राखे । ‘बिहान ११ बजे सुरु भएर दिनभर संसद् बस्नुपर्ने हो,’ उनले भने, ‘तर ३ बजे सुरु भएर एक–डेढ घण्टामै सकिन्छ, अनि कसरी आउँछ प्रश्नको जवाफ ?’

सांसद देवी ओलीले सरकारले संसदलाई ‘विजनेश’ नदिइरहेको अवस्थामा आफूहरूले गैरसरकारी विधेयक ल्याउने योजना बनाएको भए पनि समस्या भएको बताइन् । ‘हामीले बारम्बार अनौपचारिक रुपमा पनि छलफल गरिरहेका छौँ,’ उनले भनिन्, ‘तर सरकारले हामी आफैँ ल्याउँछौ भनेर रोकेको छ, आफूले पनि ल्याएको छैन ।’

प्रकाशित : फाल्गुन ५, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?