शय्या अभावमा टेबुलमै सुत्केरी

भाँचिन लागेका टेबुल, त्यसमाथि बाक्लो फर्म नहुँदा प्रसूतिका बेला महिलाले थप पीडा भोग्नुपर्ने बाध्यता छ
विप्लव महर्जन

(सल्यान) — सिद्धकुमाख गाउँपालिकास्थित सिद्धेश्वरी स्वास्थ्यचौकीमा शय्या अभाव भएपछि स्वास्थ्यकर्मीले लामो समयदेखि टेबलमै प्रसूतिसेवा दिइरहेका छन् । चार वर्षअघि खरिद गरिएको प्रसूतिकक्षको शय्या भाँचिएपछि गर्भवती महिला टेबलमै सुत्केरी हुन बाध्य छन् ।

शय्या अभावमा टेबुलमै सुत्केरी

स्वास्थ्यचौकीमा विद्युत् सुविधा नहुँदा मोवाइल र टर्चको उज्यालोले प्रसूति गराउनुपर्ने बाध्यतासमेत छ । साविक जिल्ला स्वास्थ्य कार्यालयले ७५ हजार रुपैयाँमा प्रसूति शय्या खरिद गरी चार वर्षअघि स्वास्थ्यचौकीमा पठाएको थियो । ती शय्या भाँचिएको एक वर्षभन्दा बढी भइसकेको स्वास्थ्यचौकीकी अनमी मीना डिसीले बताइन् । अहिले प्रसूतिकक्षमा टेबल राखी म्याट र प्लाष्टिक बिच्छ्याएर प्रसूतिसेवा दिइरहेको उनको भनाइ छ । ‘गाउँपालिकासँग शय्याको व्यवस्था गर्न माग गरेको लामो समय भइसक्यो,’ उनले भनिन्, ‘बेवास्ता भएपछि टेबलमै काम चलाएर सुत्केरी सेवा दिइरहेका छौं ।’ उनले गतिलो शय्याको जोहो नहुँदा जोखिम मोलेर सुत्केरी गराउनुपरेको गुनासो पोखिन् ।


सजिलो शय्या नहुँदा सुत्केरी हुन आएका महिला प्रसव पीडाका कारण कराउने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । ‘एक त बेडमा बाक्लो फर्म छैन, अर्कोतर्फको टेबुल अग्लो भएपछि भाँचिन लागेकै टेबलमा सुत्केरी गराइरहेका हौं,’ उनले भनिन्, ‘प्रसव पीडाको क्रममा महिला उफ्रिँदा टेबुल भाँचिएला भन्ने चिन्ता सधैं हुन्छ ।’ उनले सहज शय्या नहुँदा महिलाको ज्यानसमेत जोखिममा परिरहेको सुनाइन् । टेबल सानो भएकाले एक्लै सुत्केरी गराउन समस्या हुने गरेको अनमी डिसीको भनाइ छ ।


स्वास्थ्यचौकीका अनुसार नवजात शिशु भुइँमा खस्ने डरले कम्तिमा एकजना स्वास्थ्यकर्मीले सुत्केरीलाई रुघेर बस्नुपर्ने बाध्यता छ । स्वास्थ्यचौकीले सात वर्षदेखि प्रसूति सेवा उपलव्ध गराइरहेको जनाएको छ । तर उपकरण र पूर्वाधार अभावमा समस्या भएको स्वास्थ्यकर्मी शर्मिला रोकाले गुनासो पोखिन् । उनका अनुसार स्वास्थ्यचौकीमा आसपासका करिब एक दर्जन गाउँका महिला प्रसूति सेवाका लागि आउने गरेका छन् । ‘गाउँपालिकाका अन्य प्रसूति गृहभन्दा हाम्रोमा चाप बढी छ,’ उनले भनिन्, ‘तर पूर्वाधार, उपकरण र औषधि अभावमा प्रभावकारी सेवाप्रवाह हुन सकेको छैन ।’ शय्या अभावकै कारण अधिकांश गर्भवती महिला सुत्केरी हुन बाहिर जान थालेको उनको भनाइ छ ।


स्वास्थ्यचौकीमा प्रसूति सेवा दिँदा आवश्यक पर्ने ‘अक्सोटेसिन’ भ्याक्सिनको अभाव भएको लामो समय बित्यो । स्वास्थ्यकर्मीका अनुसार गाउँपालिकाले उपलव्ध गराएको भ्याक्सिन तीन महिनाअघि सकिएपछि मेडिकलबाट किन्नुपर्ने बाध्यता छ । स्वास्थ्यकर्मीले भ्याक्सिन चाहिए गर्भवती महिलाका आफन्तलाई मेडिकलबाट किन्न लगाउने गरेका छन् । उपकरण अभावमा सुत्केरी भएका आमा र नवजात शिशुलाई एकसरो कम्मलको भरमा राख्ने गरिएको रोकायाले बताइन् । ‘प्रसूतिसेवा दिन आधारभूत सुविधासमेत छैनन्,’ उनले भनिन्, ‘अभावबीच गुणस्तरीय प्रसूतिसेवा दिने हाम्रो प्रयास जारी छ ।’


चालु आर्थिक वर्षको सात महिनामा स्वास्थ्यचौकीमा २५ महिलाले प्रसूतिसेवा लिएका छन्, जसमध्ये ११ गर्भवती २० वर्षभन्दा कम उमेरका हुन् । ‘एक त कम उमेरका गर्भवतीलाई सुत्केरी गराउनुपर्ने अवस्था छ,’ अनमी डिसीले भनिन्, ‘त्यो पनि पूर्वाधारको अभावमा ।’


स्वास्थ्यचौकीको मागअनुसार शय्या पठाउने तयारी गरिरहेको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र यादवले पुस महिनाको कार्यपालिका बैठकले शय्या खरिदको निर्णय गरिसकेको जानकारी दिए । उनका अनुसार एक महिनाभित्रै शय्यासहित अन्य उपकरण स्वास्थ्यचौकीमा पठाइनेछ ।


गाउँपालिका उपाध्यक्ष पुष्पा बोहराले गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य अवस्था सुधार्न फागुनदेखि पोषण अभियान सञ्चालन गर्न थालिएको जानकारी दिइन् । उनका अनुसार अभियानमार्फत सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका महिलालाई एक लिटर तोरीको तेल, एक क्यारेट अण्डा, सागपात, फलफूलसहितका सामग्री उपलव्ध गराइनेछ । उनले सबै स्थास्थ्य संस्थाको उपचार गुणस्तरीय बनाउन यस वर्ष पूर्वाधार, उपकरण र औषधि खरिदमा जोड दिइएको जानकारी दिइन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?