कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हिउँ पन्छाउँदै खुल्यो सडक

राजबहादुर शाही

(मुगु) — भारी हिमपातले अवरुद्ध बनेको नाग्मा–गमगढी सडक २ महिनापछि बिहीबारबाट खुलेको छ । उद्योग वाणिज्य संघ र सडक डिभिजन कार्यालयले एक्साभेटरमार्फत सडकमा थुप्रिएको हिउँ हटाएपछि सडक खुलेको हो । 

हिउँ पन्छाउँदै खुल्यो सडक

हिमपातका कारण सडक खण्डका विभिन्न स्थानमा दुई दर्जन गाडी अलपत्र परेका थिए । सडक बन्द हुँदा स्थानीयलाई जिल्लाबाहिर आउजाउ गर्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सास्ती भएको थियो । सडकको विभिन्न स्थानमा करिब ४ फिटसम्म हिउँ जमेपछि डोजरलाई समेत पन्छाउन हम्मेहम्मे परेको डिभिजन कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार पहिलेको हिउँ नबिलाउँदै पटकपटक भारी हिमपात भएपछि सडकमा यातायात सेवा बन्द भएको हो । सडक खुलेसँगै बिहीबार एक दर्जन सवारी साधन सदरमुकाम गमगढी भित्रिएको उद्योग बाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । उनका अनुसार दुई महिनासम्म सडक अवरुद्ध हुँदा जिल्लाभरि दैनिक उपभोग्य सामानको अभाव चुलिएको थियो । ढुवानी समस्या भएपछि बाध्य भएर खाद्यान्नको भाउ २५ प्रतिशतसम्म बढेको उनले बताए । ‘सडक खुलेपछि ढुवानी सहज भएकाले मुल्य घटाउन सबै व्यवसायीलाई अनुरोध गरेका छौं,’ उनले भने, ‘यात्रुले पनि लामो सास्तीबाट छुटकारा पाएका छन् ।’ पिनास्थित झारनाउनादेखि घुच्चीडाबसम्म सडकमा जमेको सबै हिउँ पन्छाउन अझैं केही दिन लाग्ने भए पनि सवारीसाधन ओहोरदोहोर सुरु भइसकेको उनले बताए ।


पुस पहिलो साता परेको हिमपातका कारण यातायात सेवा बन्द भएको थियो । हिउँ हटाइएपछि सुर्खेत र नेपालगन्जबाट सामान ढुवानी सुरु गरिसकिएको व्यवसायीले जनाएका छन् । भण्डारी स्टोरका प्रोपराइटर रवि रावतले ढुवानी सहज बनेकाले एक/दुई दिनभित्रै रित्तिएका पसल भरिभराउ हुने जानकारी दिए । उनका अनुसार हिमपातका कारण ढुवानी समस्या भएपछि सिमेन्ट, छड, तारजालीलगायत निर्माण सामग्रीको समेत अभाव भएको थियो । सडक खुलेसँगै गाउँगाउँमा अवरुद्ध भएका विकास निर्माणका कामले तीव्रता पाउने जनप्रतिनिधिको भनाइ छ ।


दुई महिनासम्म सडक अवरुद्ध भएपछि सदरमुकाम गमगढीसहित ग्रामीण क्षेत्रका खाद्य डिपोमा अनुदानको चामलको मौज्दात सकिएको थियो । खत्याड गाउँपालिकालाई सदरमुकासँग जोड्ने गम्था–कालाकाडा सडक भने अझैं सुचारु भएको छैन । २ महिनादेखि सडक बन्द भएपछि स्थानीय बजारमा खाद्यान्न, दैनिक उपभोग्य र निर्माण सामग्रीको अभाव देखिएको गम्थाका व्यापारी लोकराज दाहालले बताए । उनका अनुसार सडक नखुल्दा अधिकांश सामग्रीको मूल्य २५ प्रतिशतसम्म वृद्धि गरिएको छ ।


प्रकाशित : फाल्गुन ३, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?