हिमाली बस्तीमा लहलह तरकारी

छपाल लामा

(हुम्ला) — जिल्लाका उच्च हिमाली बस्तीका किसान तरकारी खेतीमा आकर्षित भएका छन् । बर्सेनि भारी हिमपात हुने सिमकोट–१ को ठेहे, खार्पुनाथ गाउँपालिका–५ को ताक्ला र बाम्टालगायत गाउँमा प्लाष्टिकघर निर्माण गरी तरकारी खेती गर्ने लहर चलेको छ ।

हिमाली बस्तीमा लहलह तरकारी

पटकपटकको हिमपातका कारण जिल्लाका अधिकांश बस्तीमा बाक्लो हिउँ जमेको छ । तर, यहाँका किसान प्लाष्टिक घरभित्र तरकारी लगाउने, गोडमेल गर्ने, तरकारी टिपेर भण्डारण गर्नेलगायत काममा व्यस्त बनेका छन् ।


बेमौसमी खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि स्थानीयको जीवनस्तरसमेत बदलिएको छ । ठेहेका करिब एक सय घरमा तरकारीखेती भइरहेको स्थानीय बदमा बोहराले बताइन् । उनका अनुसार घरघरमा प्लाष्टिक टनेल बनाइएपछि तरकारी खेती गर्नेको संख्या बढिरहेको छ । उनले पछिल्लो समय गाउँमा मौरी, कुखुरा र बाख्रापालनको लहरसमेत बढेको सुनाइन् । उनको बारीमा अहिले काउली, खुर्सानी, केराउ, भाण्टा, भेडेखुर्सानीलगायत तरकारी हुर्किरहेको छ । उनले विभिन्न प्रजातिका साग बिक्रीको सिजन चलिरहेको सुनाइन् ।


दुई वर्षदेखि तरकारी खेती गरिरहेकी उनले मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेकी छिन् । ‘टमाटर, प्याज, काँक्रालगायतका बेर्ना राख्न जग्गा खन्ने काम भइरहेको छ, सागको सिजन सकिएलगत्तै काउली र खुर्सानीको बिक्री सुरु हुन्छ,’ उनले भनिन्, ‘तरकारी खेतीबाटै अहिले घरखर्च चलिरहेको छ, छोराछोरीको पढाइखर्च व्यहोरेर मासिक बचत गर्न थालेकी छु ।’


स्थानीय कृषक काली बोहराले पनि तरकारी बिक्रीबाटै मासिक २० हजार रुपैयाँ सजिलै कमाइरहेकी छिन् । उनको बारीमा तीनवटा प्लाष्टिक टनेल छन् । ‘टनेलभित्र खेती गर्न सजिलो पनि छ, उत्पादन पनि बढी हुन्छ,’ उनले भनिन्, ‘बाहिर जतिसुकै हिउँ परे पनि प्लाष्टिक टनेलमा विभिन्न प्रजातिका तरकारी फलिरहेका छन् ।’ उनले तरकारीखतीमा लागेपछि छोराछोरीको पढाइखर्च आफै व्यहोरिरहेको जानकारी दिइन् ।


सोही गाउँकी झुप्री सुनारले मौरीपालनसँगै तरकारी खेतीलाई निरन्तरता दिइरहेकी छिन् । उनका अनुसार स्थानीय स्तरमै तरकारी उत्पादन बढेपछि सिमकोटमा बाहिरको तरकारी आउन कम भएको छ । सडक सुविधा नभएका कारण हुम्लामा नेपालगन्ज र सुर्खेतबाट तरकारी आउने गरेको हो । ‘हामीले उत्पादन थालेपछि सिमकोटमा तरकारीको भाउ सस्तिएको छ,’ उनले भनिन्, ‘बाहिरबाट अधिकांश तरकारी आउन छोडेको छ ।’ बजार र भाउको समस्या नभएपछि तरकारीखेतीमा हौसिएको उनी बताउँछिन् । सिमकोट बजारमा अधिकांश तरकारीको भाउ प्रतिकिलो एक सयदेखि दुई सय रुपैयाँसम्म छ । बाहिरको तरकारी आउँदा दुई गुणाले तरकारीको मुल्य बढ्ने सुनारको भनाइ छ । उनको बारीमा चार मौरीघारसमेत छन् ।


जिल्लाका किसानलाई विकासका लागि साझामञ्च (सिएफडी)ले बीउ, प्रविधि र बजारीकरणमा सहयोग गरिरहेको छ । संस्थाका संयोजक सौरभ लामाले किसानहरू दुई वर्षयता व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका बताए । उनका अनुसार ग्रामीण क्षेत्रका महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तरकारी खेती र पशुपालनमा जोड दिइएको छ । ‘व्यावसायिक तरकारी खेती हुम्लाका लागि नयाँ र नौलो हो,’ उनले भने, ‘किसानलाई खेती, उत्पादन र बजारीकरणका लागि विभिन्न अनुदान उपलव्ध गराइरहेका छौं ।’

प्रकाशित : फाल्गुन २, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?