१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

करोडको अर्गानिक मकै निर्यात

भीमबहादुर सिंह

जाजरकोट — जिल्लामा उत्पादन हुने अर्गानिक मकैको माग जिल्लाबाहिर बढ्दै गएको छ । कुशे गाउँपालिका र छेडागाड नगरपालिकाबाट एक वर्षको अवधिमा करिब १ करोड रुपैयाँको मकै जिल्लाबाहिर गएको छ ।

करोडको अर्गानिक मकै निर्यात

जिल्ला कृषि विकास कार्यालयका अनुसार मकै, कोदो, भटमासलगायत अन्नको माग नेपालगन्ज, काठमाडौंलगायत ठाउँमा बढिरहेको छ । कुशे, नलगाड, जुनीचाँदे र छेडागाड जिल्लामा मकै उत्पादनको भण्डार मानिन्छन् । एक वर्षको अवधिमा करिब १ करोडको मकै र करिब ५० लाख रुपैयाँको अन्य कृषिजन्य उत्पादन जिल्लाबाहिर गएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्रै १ करोड रुपैयाँको उत्पादन जिल्लाबाहिर गएको छ ।


स्थानीय जातको मकै, कोदो, भटमास, सिमी, रातो चामललगायत अर्गानिक अन्नको माग सहरमा बढेको स्थानीय व्यापारी भद्रबहादुर ओलीले बताए । उनका अनुसार मधुमेहलगायत रोगका बिरामीले रोटी, चाख्ला, भात, ढिढोलगायत परिकार खानका लागि अर्गानिक मकै र कोदो खोज्ने गरेका छन् । काठमाडौंका बासिन्दाले पहाडको अर्गानिक मकै, रातो चामल र कोदोको माग कोसेलीको रुपमा पठाउन आफन्तलाई आग्रह गर्ने गरेको उनको भनाइ छ । ‘सहरका ठूला होटल र रेष्टुरेण्टमा भटमास र सिमी खपत हुने क्रम पनि बढिरहेको छ,’ उनले भने, ‘आफ्नो उत्पादन बाहिर पठाउन लागेपछि कृषकको जीवनस्तरसमेत फेरिएको छ ।’


जिल्लाबाट नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा पठाइने मकै बोइलर कुखुराको दानामा पनि प्रयोग हुने गरेको छ । ओलीले यस वर्ष एक सय ३० मेट्रिक टन मकै, १५ मेट्रिक टन भटमास र १५ मेट्रिक टन कोदो नेपालगन्ज पठाइसकेको जानकारी दिए । उनका अनुसार स्थानीय बजारमा मकै ३५, कोदो ३८ र भटमास ७८ रुपैयाँ प्रतिकिलोमा खरिद बिक्री भइरहेको छ । जिल्लाका दुर्गम क्षेत्रमा २८ रपैयाँ प्रतिकिलोमा मकै खरिद हुने गरेको छ ।


जिल्लामा उत्पादन हुने रातो चामलको माग पनि बढिरहेको छ । यहाँको रातो चामल प्रतिकिलो ३ सय रुपैयाँमा नेपालगन्ज र काठमाडौंमा बिक्री हुने गरेको छ । तर, यातायातको असुविधाका कारण बारेकोट गाउँपालिकामा उत्पादन हुने अर्गानिक अन्नले बजार पाउन सकेको छैन । कुशे गाउँपालिकाबाट सबैभन्दा बढी मकै जिल्लाबाहिर गएको कृषि कार्यालयको तथ्यांक छ । कुशेको चाल्ना, जिन्ताला, चौराटा, पैक, लाता कफल्लालगायत ठाउँको मकै रोटी र ढिढोका लागि प्रख्यात मानिन्छ ।

प्रकाशित : फाल्गुन १, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?