१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आठ वर्ष बित्दा पनि बनेन विद्युत् आयोजना

२ करोड खर्चिइएको आयोजना अलपत्र पर्दा जिरीका ४ सय घरपरिवार अझै टुकी र मैनबत्तीको भरमा 
भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिका–४ जिरीमा निर्माणाधीन विद्युत् आयोजना ८ वर्षदेखि अलपत्र परेको छ । सरकारी निकायको लापरबाहीले ३२ किलोवाट क्षमताको अयारीखोला लघुजलविद्युत् आयोजना अलपत्र परेको हो ।

आठ वर्ष बित्दा पनि बनेन विद्युत् आयोजना

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, साविक जिल्ला विकास समिति र नायकवाडा गाविसले करिव दुई करोड रुपैयाँ खर्च गरिसकेका छन् । २०६८ सालमा हेलिकप्टरबाट सामान ढुवानी गरी आयोजनाको काम सुरु गरिएको थियो । जिरीगाउँमा समयमै विद्युत् उत्पादन नहुँदा चार सय घरधुरी लामो समयदेखि अँध्यारोमा बस्न बाध्य छन् । स्थानीयलाई अझै दियालो, मैनबत्ती, टुकीलगायत परम्परागत उज्यालोको भरमा रात गुजार्नुपर्ने बाध्यता छ । बजेट अभावका साथै विद्युत् निर्माण उपभोक्ता समितिको चरम लापरबाहीले आयोजना अलपत्र परेको स्थानीयको गुनासो छ ।


२ वर्षमा नै निर्माण हुनुपर्ने योजना सम्पन्न नभएपछि स्थानीयको वर्षौदेखिको बिजुली बाल्ने सपना पूरा भएको छैन । निर्माण स्थलमा पोल, उपकरण, तारलगायत निर्माण सामग्री अलपत्र परेका छन् ।


उपभोक्ता समितिको लापरबाहीले ८ वर्षदेखि आफूहरू अध्याँरोमा बस्न बाध्य भएको स्थानीय गोरखबहादुर बोहोराले बताए । ‘विद्युत् योजना अवरुद्ध हुँदा लाखौंको सरकारी लगानी बालुवामा पानी बनेको छ,’ उनले भने, ‘विद्युत् आयोजना सम्पन्न भई बिजुली बाल्ने आशामा उपभोक्ताले २ महिनासम्म गरेको लगानी खेर गएको छ ।’ आयोजना निर्माणका लागि तीन पटकसम्म उपभोक्ता समिति पुनर्गठन भए पनि निर्माणको काम नसकिएको उनले गुनासो गरे । आयोजनाको विद्युत्गृह, नहरलगायत पूर्वाधार निर्माणको ८० प्रतिशत काम पूरा भए पनि बजेट अभावमा स्थानीयको बिजुली बाल्ने सपना अधुरै भएको हो ।


बिजुली अभावमा वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत सरकारी निकायको कामकाज प्रभावित बनेको छ । विद्युत्सेवा नहुँदा जिरीका स्थानीय लामो समयदेखि टेलिफोन सुविधाबाट वञ्चित छन् । गाउँमा बिजुली आएपछि स्वरोगजार बन्ने वर्षौदेखिको धोको अझै पूरा नभएको स्थानीय कमल केसीले गुनासो गरे । ‘विद्युत्सेवा सुचारु भए गाउँमै घरेलु उद्योग सञ्चालन गरी स्वरोजगार बन्न सकिन्छ भन्ने आशा थियो,’ उनले भने, ‘बन्छ भन्दा भन्दाभन्दै वर्षौं बितिसक्यो, अब त आशै लाग्न छोडिसक्यो ।’


अलपत्र विद्युत् आयोजना पूरा गर्न गाउँपालिकाले आवश्यक पहल सुरु भइसकेको जनाएको छ । गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले आयोजनाका लागि कर्णाली प्रदेश सरकारसँग बजेट माग गरिएको जानकारी दिए । ‘स्थानीय खोलाबाट विद्युत् आयोजना निर्माण गरी ५ वर्षभित्रै बारेकोटलाई उज्यालो गाउँपालिका बनाउन गुरुयोजना निर्माण गरिएको छ,’ उनले भने, ‘जसका लागि प्रदेश र संघीय सरकारसँग आवश्यक बजेट माग

गरेका छौं ।’

प्रकाशित : माघ २७, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?