सोलारले उज्यालियो नरहरिनाथ

गाउँपालिकाले ४२ सय घरपरिवारलाई अनुदानमा सोलार उपलब्ध गराइसकेको छ । त्यसबाट पाँचवटासम्म बत्ती बाल्न पुग्छ । स्थानीय बासिन्दाले अब गाउँमै बसेर मोबाइल, रेडियो र टिभी चलाउन पाएका छन् ।
तुलाराम पाण्डे

(कोटवाडा, कालिकोट) — नरहरिनाथ–४ रुप्सा अदेलाका विष्णा सहकारीको घरमा सोलार जडान गरिएको दुई साता पुग्यो । ५० वाट क्षमताको सोलार ल्याएपछि उनले बाख्रा बेचेर जुटाएको रकमले गत साता रंगीन टेलिभिजन पनि जडान गरेकी छिन् । पाँचवटा बत्ती बल्नुका साथै मोबाइल चलाउन, रेडियो सुन्न र चर्को घाम लागेका दिन टिभी पनि हेर्न मिल्ने भएपछि परिवार दंग छ । उनका छिमेकी ७१ वर्षीय धनबहादुर सहकारीको घर पनि सातायता यसै गरी उज्यालिएको छ । 

सोलारले उज्यालियो नरहरिनाथ

कर्णाली राजमार्गबाट एक दिन हिँडेर पुगिने रुप्सालगायत गाउँ अहिले सोलारले झिलिमिली बनेका छन् । गाउँपालिकाले लालु, माल्कोट, रुप्सा, कुमालगाउँ र कोटवाडाका ४ हजार २ सय घरधुरीमा सोलार वितरण गरेको हो । वर्षौंदेखि सल्लाको दियालो र टुकीको भरमा रहेका विपन्न नागरिकले अनुदानमा सोलार पाएपछि घर मात्र होइन, मन पनि उज्यालिएको सहकारीले बताए । ‘हुने–खानेका घरमा त सोलारको उज्यालो थियो,’ चौथीकोटकी उज्जली दमाईले भनिन्, ‘यसपालि हामी गरिबले पनि सोलार बत्ती बाल्न पायौं ।’ उनले सोलार जोडेपछि रातको समयमा पनि सिलाइकटाइको काम गर्न सहज भएको सुनाइन् ।


उज्यालो गाउँपालिका बनाउन नरहरिनाथले गत वर्षदेखि विशेष अभियान सुरु गरेको थियो । यो वर्ष पनि गाउँपालिकाले अनुदानमा सोलार वितरण गरिरहेको छ ।


विद्युत् सुविधा पुग्न वर्षौं लाग्ने भएपछि सबै विपन्न घरपरिवारलाई अनुदानमा सोलार वितरण गरिएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनका अनुसार एक महिनाभित्रै औपचारिक कार्यक्रममार्फत उज्यालो गाउँपालिका घोषणा गर्ने तयारी छ । दुई साताअघि सम्पन्न गाउँसभाले नरहरिनाथलाई उज्यालो गाउँपालिका घोषणा गर्ने नीतिगत निर्णयसमेत पारित गरिसकेको छ । आर्थिक विपन्नताले अँध्यारोमा बसिरहेका घरपरिवार पहिचान गरी अनुदानमा सोलार वितरण गरिएको अध्यक्ष विष्टले जानकारी दिए । ‘घरघरमा सोलार वितरण गरेर उज्यालो गाउँबस्ती बनाइरहेका छौं,’ उनले भने, ‘दीर्घर्कालीन रूपमा गाउँ उज्यालो बनाउन धाचुखोला र उच्छवखोलामा विद्युत् उत्पादन गर्ने योजना छ ।’ रहगाडमा पावरहाउस स्थापना गर्ने गरी ४ सय ३६ किलोवाट क्षमताको धाचुखोला साना जलविद्युत् योजना निर्माण भइरहेको उनले जानकारी दिए ।


नरहरिनाथ गाउँपालिका कालिकोटको सबैभन्दा बढी द्वन्द्वप्रभावित क्षेत्र हो । गाउँपालिकामा दलित समुदायको बाहुल्य छ । साबिकका लालु, माल्कोट, कुमालगाउँ, कोटवाडा र रुप्सा गाविस मिलेर बनेको नरहरिनाथ जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको पालिका पनि हो । ४ हजार २ सय घरधुरीमा २४ हजार जनसंख्या बसोबास गर्ने नरहरिनाथका सबै घरमा सोलार जडान गरेर जिल्लाकै पहिलो उज्यालो स्थानीय तह बनाउन लागिएको वडा नं. ५ का अध्यक्ष गगनबहादुर फडेराले बताए । उनका अनुसार अति विपन्न, एकल महिला र सहिद परिवार पहिचान गरी गत वर्ष १ सय ६४ घरधुरीमा सोलार वितरण गरिएको थियो । बाँकी घरधुरीलाई यस वर्ष वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा सोलार वितरण गरिएको उनले जानकारी दिए । केन्द्रले ५० वाटको सोलार सिस्टम प्रतिधरधुरी १० हजार रुपैयाँ अनुदानमा वितरण गरेको थियो जसमा ४ हजार रुपैयाँ घरधनीले बेहोरेका थिए ।


विपन्न परिवारका लागि आवश्यक रकम जुटाउन यस वर्ष ४२ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार विपन्न समुदायका लागि यस वर्ष २ हजार ५ सय थान सोलार सदरमुकाम मान्म पुगिसकेको छ । ५० वाटको सोलारमार्फत ५ वटा बत्ती बाल्न सकिन्छ । यसबाट टेलिभिजन हेर्न, रेडियो सुन्न र मोबाइल चार्ज गर्नसमेत सकिने लालुका रमेश विष्टले बताए । उनले गत मंगलबार लालुमा एक हजार थान सोलार वितरण भइसकेको जानकारी दिए ।

प्रकाशित : माघ २६, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?