१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुहान जमेपछि सिमकोटमा पानी अभाव 

छपाल लामा

(हुम्ला) — पटकपटकको बाक्लो हिमपातका कारण सदरमुकाम सिमकोटमा खानेपानी अभाव हुन थालेको छ । पहिलेको हिउँ नबिलाउँदै फेरि बाक्लो हिमपातले चिसो बढाएपछि स्थानीयका धारामा पानी झर्नै छाडेको छ । ट्यांकी र मुहानमा रहेको पानी बरफ बनेको छ ।

मुहान जमेपछि सिमकोटमा पानी अभाव 

घामले पग्लिएपछि मात्र स्थानीयले खानेपानी उपभोग गर्न पाउँछन् । घरमा जडान गरिएका धारा रसाउन छाडेपछि पानीको खोजीमा भौंतारिनुपर्ने बाध्यता भएको स्थानीय रिजिनआङमु लामाले बताइन् । ‘हिउँ थपिएको थपियै छ,’ उनले भनिन्, ‘बिहान उठ्दा धारामै पानी जमेको हुन्छ, धाराको बरफ पग्लिए पिउन पाइन्छ, नत्र बरफ उमालेर पानी जोहो गर्छौं ।’


पानी नआउँदा स्थानीय बासिन्दा, व्यापारी, कर्मचारीलगायत समस्यामा परेका छन् । बरफ पग्लिनासाथ धारामा पानी भर्नेको भीड हुने स्थानीय ललिता परियारले बताइन् । लामो समयदेखि खानेपानी अभाव भएपछि सिमकोटका अधिकांश शौचालय प्रयोगविहीन बनेको उनले जानकारी दिइन् । ‘अहिले दिनभर पानीकै चिन्ता हुन्छ, चिसो झन् बढिरहेको छ,’ उनले भनिन्, ‘बरफ उमालेको पानी पनि १०/१५ मिनेटमै जम्दा हाहाकार भोग्दै आएका छौं ।’


केही दिनयता मौसममा बदली आई घाम लाग्न छोडेपछि स्थानीयले खानेपानीको संकट भोग्नुपरेको सिमकोट खानेपानी उपभोक्ता समितिका सचिव राजु रोकायाले गुनासो गरे । उनका अनुसार सिमकोट गाउँपालिका–४ स्थित

खानेपानी मुहान जमेको छ । ‘घाम नलागे मुहान र धाराको बरफ पग्लन मुस्किल हुन्छ,’ उनले भने, ‘स्थानीयलाई बरफ पगालेर खानेपानीको जोहो गर्न अनुरोध गरिएको छ ।’ सिमकोटस्थित माथिल्लो र तल्लो बजारमा सबैभन्दा समस्या देखिएको उनले जानकारी दिए । खानेपानी ट्यांकी, धारा र मुहानमा जमेको बरफ निकाल्न एक सातादेखि नेपाल प्रहरी र खानेपानी उपभोक्ता समितिका प्राविधिक खटाइए पनि सफल हुन नसकेको समितिले जनाएको छ ।

प्रकाशित : माघ २६, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?