२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

मौसमी रुघाखोकीले हुम्लाकाे एकै गाउँका ३ सय ६५ बिरामी

स्वास्थ्यचौकीमा औषधि नहुँदा घरमै थलिए बिरामी
छपाल लामा

हुम्ला — भारी हिमपातले अत्यधिक चिसो बढेपछि सिमकोट गाउँपालिका–८ स्याडाका ३ सय ६५ स्थानीय बिरामी परेका छन् । मौसमी रुघाखोकीले गाउँका अधिकांश बासिन्दा बिरामी परे पनि स्थानीय स्वास्थ्यचौकीमा औषधि नहुँदा उपचारमा समस्या भएको छ ।

मौसमी रुघाखोकीले हुम्लाकाे एकै गाउँका ३ सय ६५ बिरामी

हुम्लामा यस वर्ष २ दसकयताकै भारी हिमपात भएको छ । बिरामी भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको स्याडा स्वास्थ्यचौकीले जनाएको छ । स्वास्थ्यचौकीका सिनियर अहेब अर्जुन कार्कीले औषधि अभावमा उपचारमा समस्या भएपछि जटिल अवस्थाका बिरामीलाई जिल्ला अस्पताल पठाइएको जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यकर्मी पर्याप्त नहुँदा उपचारमा खटिन समस्या भएको छ । ‘न औषधि छ, न पर्याप्त स्वास्थ्यकर्मी,’ उनले भने, ‘ गाउँपालिकाले दिएको औषधि २ महिनाअघि सकिएपछि बिरामीलाई औषधि किन्न मेडिलकमा पठाउनुपर्ने बाध्यता छ ।’ उनले ३ स्वास्थ्यकर्मीका भरमा स्वास्थ्यचौकी सञ्चालन भइरहेको गुनासो गरे ।

पहिले परेको हिउँ नबिलाउँदै फेरि हिमपात हुन थालेपछि जिल्लाभरि अत्यधिक चिसो बढेको हो । उच्च हिमाली क्षेत्रमा ५ फिट बाक्लो हिउँ जमेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिसोका कारण मौसमी रुघाखोकीले घरघरै बिरामी थलिएको स्थानीय नुर्बु वुढाले बताए ।

उनका अनुसार रुघाखोकीका कारण बालबालिका र बृद्ध बढी प्रभावित छन् । ‘तत्काल औषधिको व्यवस्था गर्न ३ वटै सरकारका जनप्रतिनिधिलाई अनुरोध गरे पनि बेवास्ता गरियो,’ उनले भने, ‘स्थानीय सरकारले ध्यान नदिँदा महामारीको जोखिम बढेको छ ।’


जिल्लाका विभिन्न ठाउँमा फैलिएको मौसमी रुघाखोकीे १ साताअघि नियन्त्रणमा आएको स्थानीय प्रशासनले दाबी गरेको थियो । सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले रुघाखोकी फैलिएको खबर पाउनेबित्तिकै औषधिसहित स्वास्थ्यकर्मीको टोली स्याडा खटाइएको दाबी गरे ।

सबै स्वास्थ्यचौकीमा १/२ दिनभित्रै पर्याप्त औषधि पठाइने उनको भनाइ छ । २ साताअघि खार्पुनाथ, चंखेली र सर्केगाड गाउँपालिकाका विभिन्न गाउँमा पनि रुघाखोकीको प्रकोप देखिएको थियो । ३ वटै गाउँपालिकामा कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालय र स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मी पुगेपछि रुघाखोकी नियन्त्रणमा आएको हो ।

रुघाखोकी फैलिएका क्षेत्रको स्थलगत भ्रमण गरी बिरामी परीक्षण र उपचार गरिएको टोलीप्रमुख उदय विसीले बताए । उनका अनुसार ती क्षेत्रमा अहिले पर्याप्त औषधिसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।


टोलीले सदरमुकाममा जनप्रतिनिधि, कार्यालय प्रमुख र सरोकारवालालाई थप सतर्क रहन आग्रह गरेको थियो । ‘अत्यधिक चिसोका कारण गाउँगाउँमा मौसमी रुघाखोकी फैलिएको पाइयो,’ टोलीप्रमुख विसीले भने, ‘स्थानीय र सरोकारवालालाई थप सतर्क रहन आग्रह गरेका छौं ।’ हुम्लामा मौसमी रुघाखोकीका कारण यस वर्ष १४ जनाको मृत्यु भइसकेको छ ।

गाउँ गाउँमा बिरामी बढ्दै गएपछि जिल्लाभरि औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य सेवा कार्यालयकी नर्सिङ इन्चार्ज सरिता बोहोराले बताइन् ।

प्रकाशित : माघ २४, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?