घरघरमा बिरामी, औषधि छैन

स्वास्थ्य चौकीमा औषधि नहुँदा बिरामी मेडिकलबाट किन्छन् । पैसा नहुनेहरु जडिबुटी र घरेलु उपचारको भरमा बसिरहेका छन् ।
राजबहादुर शाही

(मुगु) — खत्याड गाउँपालिकास्थित रातापानीकी ५० वर्षीया लक्ष्मी कार्की दुई सातादेखि ढाड दुख्ने, हातगोडा बाउँरिने, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्याले थलिएकी छिन् । उनको घर नजिकै प्राथमिक स्वास्थ्य केन्द्र छ । तर, लामो समयदेखि औषधि अभाव भएपछि उनी घरेलु उपचार गराउन बाध्य छिन् । 

घरघरमा बिरामी, औषधि छैन

रातापानीकै सतु कार्की पनि एक सातादेखि ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्नेलगायत समस्याबाट पीडित छिन् । ‘बिरामी परेको बेला कहिल्यै औषधि हुँदैन,’ उनले भनिन्, ‘मेडिकलमा गएर उपचार गराउने पैसा नहुँदा जडिबुटी चपाएर बस्नुपरेको छ ।’


चिसोका कारण सुकाढिक, आम, रातापानी, रिघा, हयाङलुलगायत गाउँमा बिरामी बढिरहेका छन् । तर, औषधि नहुँदा बिरामीलाई धामीझाँक्री र घरेलु औषधिको भर पर्नुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाले खरिदमा बेवास्ता गरेपछि अधिकांश स्वास्थ्यचौकीमा औषधि अभाव चुलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र क्षेत्रीय मेडिकल स्टोरले उपलब्ध गराउने निःशुल्क औषधि पनि गाउँमा नपुगेको लामो समय भयो । ‘गाउँमा अरु धेरै सुविधा आयो, तर औषधि कहिल्यै आएन,’ लुइगाउँका दानबहादुर कार्कीले भने, ‘स्वास्थ्यचौकीमा औषधि पाइँदैन, मेडिकलमा किन्न पैसा हुँदैन ।’ उनले सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा विपन्न बिरामी मारमा परेका बताए । उनका अनुसार कतिपय बिरामीलाई ऋण लिएरै उपचार गराउनुपर्ने बाध्यता छ । उनले चिसोका कारण घरघरमा बिरामी बढेका उनको भनाइ छ ।


औषधि नहुँदा स्वास्थ्यचौकीमा फुर्सदिलो भएर बस्नुपरेको स्वास्थ्यकर्मीको ग्नुासो छ । स्वास्थ्यचौकी इन्चार्ज शारदा भट्टले जिल्ला स्वास्थ्य कार्यालय र क्षेत्रीय मेडिकल स्टोरमा माग फाराम भरी पठाएको लामो समयसम्म पनि औषधि नआएको बताइन् । ‘गाउँपालिकामा पनि औषधि नभएको पटकपटक जानकारी गराएका छौं,’ उनले भनिन्, ‘बेवास्ता भएपछि उपचारमा समस्या भएको छ ।’ उनले उपचारका लागि आएका बिरामी स्वास्थ्यकर्मीलाई गाली गर्दै रित्तोहात फर्किने गरेको गुनासो गरिन् ।


स्वास्थ्यचौकीका अनुसार घरघरै मौसमी बिरामीको संख्या बढिरहेको छ । इञ्चार्ज भट्टले दैनिक ३५ जनासम्म बिरामी उपचारका लागि स्वास्थ्यचौकीमा आउने गरेको जानकारी दिइन् । ‘आएका बिरामीलाई चेकजाँच गरी औषधि किन्न मेडिकलमा पठाउने गरेका छौं,’ उनले भनिन्, ‘औषधि अभावकै कारण विपन्न बिरामी लामो समयदेखि उपचारबाट वञ्चित छन् ।’


खत्याडस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ३ महिनादेखि औषधि अभाव भएको छ । स्थानीय तहले वर्षमा एकपल्ट मात्र ५ देखि १० लाख रुपैयाँको मात्र औषधि उपलव्ध गराउँदा गाउँको स्वास्थ्य चौकीमा सधैं औषधि अभाव हुने गरेको हो । स्वास्थ्य चौकीमा निःशुल्क उपलव्ध हुने ३५ प्रकारका औषधि मागका आधारमा जिल्ला स्वास्थ्य र मेडिकल स्टोरले उपलव्ध गराउँदै आएका छन् । तर, ढुवानी समस्याका कारण ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीका लागि पठाइएका औषधि जिल्ला स्वास्थ्यमै थन्किने गरेको स्वास्थ्यकर्मीको गुनासो छ ।


स्वास्थ्यचौकीले पठाएको माग फारामका आधारमा औषधि पठाइने नियम रहेको जिल्ला स्वास्थ्य प्रमुख नहकुल शाहीले बताए । ‘गाउँपालिका भित्रका स्वास्थ्यचौकीलाई औषधि खरिद गर्ने जिम्मा स्थानीय सरकारकै हो,’ उनले भने, ‘तर अत्यावश्यक औषधि कार्यालयमा यहाँ भएको खण्डमा हामीले पनि पठाइरहेका छौं ।’ उनले कार्यालयमा समेत अधिकांश औषधिको मौज्दात सकिएपछि गाउँमा औषधि पठाउन नसकिएको जानकारी दिए । उनका अनुसार यस वर्ष मेडिकल स्टोरबाट प्राप्त हुने औषधि जिल्लामा आएको छैन ।


औषधिसहित पुग्दा स्वागत

लामो समयदेखि औषधि अभावको समस्या झेल्दै आएको रातापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई समाजसेवी ऐनबहादुर कार्कीले ४ लाख ५० हजार रुपैयाँको औषधि उपलव्ध गराएका छन् । औषधिसहित गाउँ पुगेका उनलाई स्थानीयले फूलमालासहित भव्य स्वागत गरे । लामो समयदेखि औषधि अभाव भएको सुनेपछि विभिन्न निकायबाट सहयोग जुटाइ औषधि खरिद गरेको कार्कीले बताए । उनका अनुसार औषधि खरिदमा विदेशमा बस्ने नेपालीले समेत सहयोग गरेका छन् ।


‘गाउँमा बिरामीको संख्या बढिरहेको छ,’ उनले भने, ‘गाउँ पुगेरै औषधि हस्तान्तरण गरेको छु, केही समय भए पनि औषधि अभावको समस्या हल हुने अपेक्षा छ ।’ कार्कीले विगत चार वर्षदेखि वर्षेनि गाउँका स्वास्थ्यचौकीलाई औषधि सहयोग गर्दै आएका छन् । उनले गत वर्ष रातापानी, लुई, डामलेक, आमलगायत बस्तीका विपन्न परिवारलाई खाद्यान्न र न्यानो कपडा उपलव्ध गराएको जानकारी दिए ।

प्रकाशित : माघ २४, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?