मोटरसाइकल पुग्दा खुसियाली

तुलाराम पाण्डे

(कालीकोट) — नरहरिनाथ गाउँपालिकामा पहिलोपल्ट मोटरसाइकल पुगेको छ । सडक पहुँचबाट टाढा रहेको कुमालगाउँमा मंगलबार खाँडाचक्रका चार युवाले दुई मोटरसाइकल पुर्‍याएपछि स्थानीयले खुसियाली मनाउँदै स्वागत गरेका छन् ।

कालीकोटका ९ वटा स्थानीय तहमध्ये नरहरिनाथमा मात्रै सडक सुविधा छैन । गाउँमा पहिलोपटक मोटरसाइकल पुर्‍याउने युवालाई स्थानीयले अवीर र फूलमालासहित स्वागत गरे । लालीघाटदेखि कुमालगाउँसम्मको निर्माणाधीन १८ किलोमिटर सडकको काम नसकिँदै युवाले गाउँमा मोटरसाइकल पुर्‍याएका हुन् । कर्णाली करिडोरको लालीघाटको उकालो सडकबाट जोखिम मोलेर खाँडाचक्रका सुमन विष्ट, भीम शाही, लोकेन्द्र मल्ल र जनेश शाहीले मोटरसाइकल कुमालगाउँ पुर्‍याएका थिए । सडक अप्ठेरो भए पनि गाउँमा गाडी पुग्दैछ भन्ने सकारात्मक सन्देश दिन जोखिम मोटरसाइकल पुर्‍याइएको चालक शाहीले बताए । उनका अनुसार केही ठाउँमा सामान्य सडक मर्मत गरेको खण्डमा गाउँमा मोटरसाइकल पुर्‍याउन सकिन्छ ।


राष्ट्रिय झण्डासहित स्थानीय युवाले मोटरसाइकल गाउँ पुर्‍याएका हुन् । नरहरिनाथ–२, चौथीकोटका ९६ वर्षीय कालु दमाइले गाउँमा मोटरसाइकल पुगेपछि वर्षौंदेखिको सडक सपना पूरा भएको बताए । ‘कुनै जमानामा घरबाट एक महिना हिँडेर बर्दियाको राजापुर पुगेर नुन ल्याएका थियौं, अब त दुःखका दिन गए,’ उनले भने, ‘जुग फेरियो, अब हाम्रै घर अगाडिबाट मोटर गुड्ने भए ।’


गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले दुई महिनाभित्रै सडक निर्माण गरिसक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको बताइन् । उनका अनुसार लालीघाटदेखि कुमालगाउँसम्मको १८ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका अनुसार सडकमा ३ किलोमिटर तारजाली र ग्यावीन लगाउने काम भर्खरै सकिएको छ । सडकमा अहिलेसम्म ७ करोड रुपैयाँ खर्च भइसकेको छ । गाउँपालिकाले ६ करोड र प्रदेश सरकारले १ करोड रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक वर्षमा सडक मर्मत सुधार र बिस्तारका लागि प्रदेश र स्थानीय सरकारमार्फत ७५/७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाको केन्द्र कुमालगाउँदेखि रुप्सासम्मको सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारले २ करोड ६२ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनका अनुसार खुलालुदेखि रहगाड सडकखण्डमा पनि काम जारी छ । रहगाड सडकमा गाउँपालिकाले ७ करोड र प्रदेश सरकारले १ करोड रुपैयाँ खर्च भइसकेको छ ।


नरहरिनाथमै ६ डोजर

सडकको ट्रयाक खोल्न नरहरिनाथमा ६ डोजरले काम गरिरहेका छन् । अहिले लालीघाट खण्ड, कुमालगाउँ र खुलालु–रहगाड सडकमा २/२ डोजरले काम गरिरहेको गाउँपालिकाले जनाएको छ । डोजरले खनेको सडकमा पहिरोको जोखिम भएकाले तारजाली र टेवापर्खाल निर्माणको काम जारी छ । सडक निर्माणका कारण बडेमेला र चौथीकोट गाउँ जोखिममा परेका छन् । उपभोक्ता समितिले व्यवसायीलाई प्रतिघण्टा ६ देखि ८ हजार रुपैयाँ शुल्क तिर्नेगरी सडक निर्माणको सम्झौता गरेका छन् । सडक स्तरोन्नतिका लागि सबै वडाबाट २० जनाका दरले कामदार युवा छनौट गरी रोजगारी दिन लागिएको अध्यक्ष विष्टले जानकारी दिए ।







प्रकाशित : माघ २४, २०७६ १०:१५

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बरातुमा अर्गानिक लहर

घरैपिच्छे तरकारीको व्यावसायिक खेती हुँदै आएकोमा प्रत्येक किसानले वर्षको ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् 
तुलाराम पाण्डे

(बरातु, कालीकोट) — खाँडाचक्र नगरपालिका–११, बरातुकी बिरु भारतीलाई अहिले बारीको पालुँगो र धनियाँ बेच्न भ्याइनभ्याइ छ । उनी दैनिक पौने घण्टा उकालो चढेर तरकारी बेच्न सदरमुकाम मान्म आइपुग्छिन् ।

मूल्य पनि मनग्गे पाइने भएपछि उनीजस्तै बरातुका अधिकांश कृषक व्यावसायिक अर्गानिक खेतीमा लागेका छन् । स्थानीयले एक दशकदेखि रासायनिक मल प्रयोग गरेका छैनन् । ‘बरातुको तरकारी बजार जान थालेपछि अन्यत्रको बिक्री हुन मुस्किल भइरहेको छ,’ बिरु भन्छिन्, ‘तरकारी खेती नगर्ने घर बरातुमा छैनन् ।’ उनले तरकारी बेचेरै वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताइन् ।

अर्गानिक गाउँ बरातुको तरकारी र फलफूल मान्ममा हारालुछ हुने गरेको छ । बरातु तरकारी उत्पादनमा जिल्लाकै नमुना गाउँ पनि हो । बिरुको परिवारका सातै जना व्यावसायिक तरकारी र सुन्तला खेतीमा छन् । ‘जैविक विषादी र कम्पोष्ट मलमात्र प्रयोग गर्छौं,’ भारतीले भनिन्, ‘अर्गानिक उत्पादनको माग जिल्लाबाहिर पनि बढिरहेको छ ।’

गाउँसम्म सडक निर्माण भए पनि भरपर्दो नहुँदा तरकारी बोकेर बजार पुर्‍याउनुपर्ने बाध्यता रहेको स्थानीय किसान तारा गिरीले बताइन् । अन्य ठाउँको तुलनामा गाउँको तरकारी महँगोमा बिक्री हुने गरेको उनको भनाइ छ । ‘अन्यत्र रासायनिक मल हालेर तरकारी उत्पादन गर्ने हुँदा मान्ममा हाम्रो गाउँको तरकारी खोसाखोस हुन्छ,’ एकीकृत शत्रुजीव व्यवस्थापन कृषक पाठशालाकी सहजकर्तासमेत रहेकी उनले भनिन्, ‘गाउँमा रासायनिक मल र विषादी जान छाडेको दस वर्षै पुग्यो होला ।’ उनका अनुसार अहिले गाउँमै प्रांगारिक मल बनाउने गरिन्छ । पशुचौपायाको पिसाबलाई विषादीको रुपमा प्रयोग गर्ने गरिएको उनले बताइन् ।

स्थानीय किसानले तरकारी, अन्न र फलफूलमा रोग–किराको प्रकोप देखिएमा तितेपाती, टिमुरको झोल र खरानी प्रयोग गर्छन् । खाँडाचक्र नगरपालिकास्थित कृषि शाखा प्रमुख पर्शुराम काफ्लेले गाउँमा बेमौसमी खेतीको लहर चलेको बताए । ‘केही घरधुरीमा प्लाष्टिक घर बनाएर तरकारी उत्पादन भइरहेको छ,’ उनले भने, ‘तरकारी उत्पादनमा बरातु जिल्लाकै नमुना गाउँ बन्न सफल भएको छ, तरकारी खेतीबाटै सबै किसान परिवार आत्मनिर्भर बनेका छन् ।’

स्थानीय ३ घरधुरीले प्रदेश सरकारको सहयोगमा हाइटेक नर्सरी सञ्चालन गरेका छन् । हिउँदे सिजनमा तरकारी उत्पादन गर्न प्लाष्टिक घर उपयोगी हुने गरेको किसानको अनुभव छ । प्लाष्टिक घर निर्माण गर्न ३५ देखि ४० हजार रुपैयाँ लाग्ने र लगानी एक सिजनमै उठ्ने स्थानीय हरिशचन्द्र गिरीले बताए । उनका अनुसार प्लाष्टिक घरमा तरकारी खेती गर्न अधिकांश किसानले थोपा सिँचाइ प्रविधि जडान गरेका छन् ।

कृषि विकास कार्यालय र साविक उच्च मूल्य कृषि वस्तु विकास आयोजनालगायतले विभिन्न कार्यक्रम सञ्चालन गरी उत्पादन, बजारीकरण, मूल्य निर्धारणलगायतमा सहयोग गरेका थिए । गाउँमै कृषि साक्षरता कक्षा सञ्चालन भएपछि किसानले तरकारी खेती व्यवस्थित गरेको बाल विकास प्राथमिक विद्यालयका प्रधानाध्यापक अजबहादुर गिरीले बताए । किसानले प्रतिघरधुरी बार्षिक ४० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने उनले जानकारी दिए ।

बरातुका ४२ घरधुरी व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । गाउँका महिला तरकारी खेतीतर्फ आकर्षित भएकाले अन्नबालीको उत्पादन भने घटिरहेको उद्यमी महिला कृषक समूहकी सचिव नानी गिरीले बताइन् । ‘धान–मकै लगाउँदा खान पनि धौधौ हुन्थ्यो,’ उनले भनिन्, ‘तरकारी खेती गर्न थालेदेखि हाम्रा दुःखका दिन सकिए ।’ उनले तरकारीबाट आएको आम्दानीबाट छोराछोरी पढाइरहेको बताइन् । तरकारी बेचेरै सुर्खेतमा घडेरी पनि खरिद गरेको उनको भनाइ छ ।

तरकारीको आम्दानीले गाउँका सबै घरधुरी आत्मनिर्भर बनेका छन् । गाउँमा निर्वाहमुखी खेती प्रणालीको सट्टा व्यावसायिक खेती सुरु गरेपछि आम्दानी बढ्दै गएको स्थानीय श्रीकला गिरीले बताइन् । उनका अनुसार अधिकांश घरधुरी तरकारी खेतीमा संलग्न भए पनि सडक र सिँचाइको भने समस्या छ । सुन्तला उत्पादनमा पनि बरातु जिल्लाकै उत्कृष्ट गाउँ मानिन्छ ।

प्रकाशित : माघ २१, २०७६ १०:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×