स्वास्थ्य चौकी अधुरै

भीमबहादुर सिंह

(जाजरकोट) — जुनीचाँदे गाउँपालिका–१ स्थित स्वास्थ्यचौकी, बडकुलेको भवन निर्माण ६ वर्षदेखि अलपत्र छ । ८ वर्षअघि निर्माण सुरु गरिएको भवन ठेकेदारले बीचैमा छाडेपछि अलपत्र परेको हो । 

स्वास्थ्य चौकी अधुरै

तोकेको समयमै स्वास्थ्यचौकी भवन नबन्दा प्रसूति सेवा प्रवाहमा समस्या भएको छ । फ्रेन्ड्स कन्स्ट्रक्सन, कोटेश्वरले १ करोड ५० लाख रुपैयाँमा बनाउने सम्झौता गरेको निर्माणाधीन भवन अलपत्र परेपछि बिरामीले सास्ती भोग्नुपरेको वडाध्यक्ष चन्द्रबहादुर शाहीले बताए । उनका अनुसार स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलव्ध नहुँदा अधिकांश महिला घरमै सुत्केरी हुन बाध्य छन् । ‘लामो समयदेखि बिरामीको उपचारमा समस्या भइरहेको छ,’ उनले भने, ‘ठेकेदारले काम छाडेपछि स्वास्थ्यकर्मी जीर्ण भवनमा जोखिम मोलेर उपचार गर्न बाध्य छन् ।’


वडाध्यक्ष शाहीका अनुसार २ वर्ष काम गरेर ठेकेदार कम्पनीले घाटा लागेको भन्दै भवन निर्माणको काम छोडेको थियो । सरकारी निकायले भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही नगर्दा स्थानीयले गुणस्तरीय उपचार पाउन नसकेको उनको भनाइ छ । ‘एउटा ठेकेदारका कारण सयौं बिरामीले सास्ती भोगिरहेका छन्,’ उनले भने, ‘भवन अलपत्र हुँदा सामान्य बिरामीलाई पनि जिल्ला अस्पतालमा उपचारका लागि जानुपर्ने बाध्यता छ ।’


भवन अलपत्र परेपछि निर्माण गरिएका संरचनासमेत जीर्ण बनेका छन् । निर्माणस्थल वरिपरि रुख–विरुवा उम्रिएको स्थानीय कमल केसीले बताए ।


वडकुलेमा जस्तै जिल्लाका अन्य तीन स्वास्थ्यचौकी भवन निर्माणको काम पनि लामो समयदेखि अलपत्र छ । स्वास्थ्यचौकी दल्ली, घरंगा र प्रसूति केन्द्र सीमाको भवन अलपत्र छन् । सबै भवन निर्माणको ५० प्रतिशतसमेत पूरा भएको छैन । भवन निर्माण अलपत्र भएपछि बिरामी उपचार कक्षको समेत अभाव रहेको स्वास्थ्यकर्मीको गुनासो छ ।


व्यवसायीले ठेक्का सम्झौता गर्ने, पेश्की रकम लिने र काम नसकेर भाग्ने समस्या जिल्लाभरि देखिएको पूर्वाधार निर्माण कार्यालयका निमित्त प्रमुख टेकेन्द्र रोकायले बताए । उनका अनुसार जिल्लाका अधिकांश भवन ठेकेदारकै लापरबाहीका कारण अलपत्र छन् । ‘थोरै काम बाँकी राखेर पनि ठेकेदार कम्पनी सम्पर्कविहीन बनेका छन्,’ उनले भने, ‘व्यवसायीले के कारणले भवन अलपत्र पारेको भन्ने जानकारीसमेत नदिँदा निर्माणको काममा समस्या भइरहेको छ ।’ छतको ढलान नगर्ने, भुइँतलाको काम गरेर माथिल्लो तला अलपत्र पार्ने, प्लास्टर नगरेर छोड्ने, झ्याल–ढोका र फिनिसिङको काम बाँकी राख्ने ठेकेदारका कारण कर्मचारीले गाली खानुपरेको उनले गुनासो गरे ।


अन्य भवन पनि उस्तै

पूर्वाधार कार्यालयका अनुसार ठेकेदारकै लापरबाहीले जिल्लाभरि करिब २ दर्जन भवन योजना अलपत्र परेका छन् । जिल्लाभरि १ करोडदेखि ३ करोड रुपैयाँका क्रमागत भवन निर्माणका करिव ५० योजनाको काम भइरहेको कार्यालयले जनाएको छ । जिएम कन्स्ट्रक्सन, काठमाडौंले दल्ली स्वास्थ्यचौकीको भवन अलपत्र पारेको पनि लामो समय बितेको छ । ‘हामीलाई ठेकेदार कम्पनीलाई कारबाही गर्ने अधिकार छैन,’ उनले भने, ‘माथिल्लो निकायमा कालोसूचीमा राख्नका लागि सिफारिस गर्ने मात्र हो, पहुँचका भरमा ठेक्का लिएकाहरू वर्षौंदेखि कारबाहीको दायरामा आउन सकेका छैनन् ।’


व्यवसायीले ठेक्का पार्न चर्को प्रतिस्पर्धा गरे पनि निर्माणमा ध्यान नदिँदा सरकारी संरचना गुणस्तरहीन र अलपत्र हुने गरेको नागरिक अगुवा बालकुमार शर्माले बताए । उनका अनुसार निर्माण कम्पनीले पेटी ठेकेदारलाई योजनाको जिम्मा दिँदा पनि अधिकांश योजना अलपत्र परेका हुन् । ‘कतिपय ठेकेदार ठेक्का स्वीकृत गरी पेश्की रकम लिएर फरार भएका उदाहरणसमेत छन्,’ उनले भने, ‘सरकारी निकायले कारबाहीमा बेवास्ता गर्दा ठेकेदारको मनोमानी बढिरहेको छ ।’ भवन निर्माण अलपत्र पर्दा सरकारी रकमको दुरुपयोग भएको उनले बताए ।


गत वर्षसम्मका योजना साविक सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको डिभिजन कार्यालय, सुर्खेतसँग सम्झौता भएका हुन् । स्वास्थ्यचौकी भवन निर्माणको काम अलपत्र हुँदा बिरामीको उपचार गर्न, प्रसूति सेवा दिन र औषधि भण्डारण गर्न समस्या भइरहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रविन भुसालले वताए । उनका अनुसार अधिकांश स्वास्थ्यचौकी भाडाका जीर्ण भवनमा सञ्चालन भइरहेका छन् ।


‘केही स्वास्थ्यसंस्थामा सरकारले उपलब्ध गराएका उपकरण राख्ने ठाउँसमेत छैन,’ उनले भने, ‘भवन निर्माणकै कारण स्वास्थ्यचौकीलाई बर्थिङ सेन्टर सञ्चालन गर्न समस्या भइरहेको छ ।’ उनले जिल्लाभरि १० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेका स्वास्थ्यचौकी भवन अलपत्र परेको जानकारी दिए । स्वास्थ्यचौकीको गतिलो भवन नहुँदा व्यवस्थापन भद्रगोल बन्न पुगेको उनले बताए ।


प्रकाशित : माघ २३, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?