बरातुमा अर्गानिक लहर

घरैपिच्छे तरकारीको व्यावसायिक खेती हुँदै आएकोमा प्रत्येक किसानले वर्षको ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् 
तुलाराम पाण्डे

(बरातु, कालीकोट) — खाँडाचक्र नगरपालिका–११, बरातुकी बिरु भारतीलाई अहिले बारीको पालुँगो र धनियाँ बेच्न भ्याइनभ्याइ छ । उनी दैनिक पौने घण्टा उकालो चढेर तरकारी बेच्न सदरमुकाम मान्म आइपुग्छिन् ।

बरातुमा अर्गानिक लहर

मूल्य पनि मनग्गे पाइने भएपछि उनीजस्तै बरातुका अधिकांश कृषक व्यावसायिक अर्गानिक खेतीमा लागेका छन् । स्थानीयले एक दशकदेखि रासायनिक मल प्रयोग गरेका छैनन् । ‘बरातुको तरकारी बजार जान थालेपछि अन्यत्रको बिक्री हुन मुस्किल भइरहेको छ,’ बिरु भन्छिन्, ‘तरकारी खेती नगर्ने घर बरातुमा छैनन् ।’ उनले तरकारी बेचेरै वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताइन् ।


अर्गानिक गाउँ बरातुको तरकारी र फलफूल मान्ममा हारालुछ हुने गरेको छ । बरातु तरकारी उत्पादनमा जिल्लाकै नमुना गाउँ पनि हो । बिरुको परिवारका सातै जना व्यावसायिक तरकारी र सुन्तला खेतीमा छन् । ‘जैविक विषादी र कम्पोष्ट मलमात्र प्रयोग गर्छौं,’ भारतीले भनिन्, ‘अर्गानिक उत्पादनको माग जिल्लाबाहिर पनि बढिरहेको छ ।’


गाउँसम्म सडक निर्माण भए पनि भरपर्दो नहुँदा तरकारी बोकेर बजार पुर्‍याउनुपर्ने बाध्यता रहेको स्थानीय किसान तारा गिरीले बताइन् । अन्य ठाउँको तुलनामा गाउँको तरकारी महँगोमा बिक्री हुने गरेको उनको भनाइ छ । ‘अन्यत्र रासायनिक मल हालेर तरकारी उत्पादन गर्ने हुँदा मान्ममा हाम्रो गाउँको तरकारी खोसाखोस हुन्छ,’ एकीकृत शत्रुजीव व्यवस्थापन कृषक पाठशालाकी सहजकर्तासमेत रहेकी उनले भनिन्, ‘गाउँमा रासायनिक मल र विषादी जान छाडेको दस वर्षै पुग्यो होला ।’ उनका अनुसार अहिले गाउँमै प्रांगारिक मल बनाउने गरिन्छ । पशुचौपायाको पिसाबलाई विषादीको रुपमा प्रयोग गर्ने गरिएको उनले बताइन् ।


स्थानीय किसानले तरकारी, अन्न र फलफूलमा रोग–किराको प्रकोप देखिएमा तितेपाती, टिमुरको झोल र खरानी प्रयोग गर्छन् । खाँडाचक्र नगरपालिकास्थित कृषि शाखा प्रमुख पर्शुराम काफ्लेले गाउँमा बेमौसमी खेतीको लहर चलेको बताए । ‘केही घरधुरीमा प्लाष्टिक घर बनाएर तरकारी उत्पादन भइरहेको छ,’ उनले भने, ‘तरकारी उत्पादनमा बरातु जिल्लाकै नमुना गाउँ बन्न सफल भएको छ, तरकारी खेतीबाटै सबै किसान परिवार आत्मनिर्भर बनेका छन् ।’


स्थानीय ३ घरधुरीले प्रदेश सरकारको सहयोगमा हाइटेक नर्सरी सञ्चालन गरेका छन् । हिउँदे सिजनमा तरकारी उत्पादन गर्न प्लाष्टिक घर उपयोगी हुने गरेको किसानको अनुभव छ । प्लाष्टिक घर निर्माण गर्न ३५ देखि ४० हजार रुपैयाँ लाग्ने र लगानी एक सिजनमै उठ्ने स्थानीय हरिशचन्द्र गिरीले बताए । उनका अनुसार प्लाष्टिक घरमा तरकारी खेती गर्न अधिकांश किसानले थोपा सिँचाइ प्रविधि जडान गरेका छन् ।


कृषि विकास कार्यालय र साविक उच्च मूल्य कृषि वस्तु विकास आयोजनालगायतले विभिन्न कार्यक्रम सञ्चालन गरी उत्पादन, बजारीकरण, मूल्य निर्धारणलगायतमा सहयोग गरेका थिए । गाउँमै कृषि साक्षरता कक्षा सञ्चालन भएपछि किसानले तरकारी खेती व्यवस्थित गरेको बाल विकास प्राथमिक विद्यालयका प्रधानाध्यापक अजबहादुर गिरीले बताए । किसानले प्रतिघरधुरी बार्षिक ४० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने उनले जानकारी दिए ।


बरातुका ४२ घरधुरी व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । गाउँका महिला तरकारी खेतीतर्फ आकर्षित भएकाले अन्नबालीको उत्पादन भने घटिरहेको उद्यमी महिला कृषक समूहकी सचिव नानी गिरीले बताइन् । ‘धान–मकै लगाउँदा खान पनि धौधौ हुन्थ्यो,’ उनले भनिन्, ‘तरकारी खेती गर्न थालेदेखि हाम्रा दुःखका दिन सकिए ।’ उनले तरकारीबाट आएको आम्दानीबाट छोराछोरी पढाइरहेको बताइन् । तरकारी बेचेरै सुर्खेतमा घडेरी पनि खरिद गरेको उनको भनाइ छ ।


तरकारीको आम्दानीले गाउँका सबै घरधुरी आत्मनिर्भर बनेका छन् । गाउँमा निर्वाहमुखी खेती प्रणालीको सट्टा व्यावसायिक खेती सुरु गरेपछि आम्दानी बढ्दै गएको स्थानीय श्रीकला गिरीले बताइन् । उनका अनुसार अधिकांश घरधुरी तरकारी खेतीमा संलग्न भए पनि सडक र सिँचाइको भने समस्या छ । सुन्तला उत्पादनमा पनि बरातु जिल्लाकै उत्कृष्ट गाउँ मानिन्छ ।

प्रकाशित : माघ २१, २०७६ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?