पाठेघर खसेकाहरू पीडामै 

करिब ५० प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट ग्रस्त रहे पनि अधिकांशले उपचार पाएका छैनन् 
भीमबहादुर सिंह

(जाजरकोट) — जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक र उकरण नहुँदा पाठेघर खसेका महिलाको उपचारमा समस्या भएको छ । अधिकांश महिला वर्षौंदेखि पीडा बोकेर बस्न बाध्य छन् भने आर्थिक हैसियत बलियो भएका केही महिलामात्र जिल्लाबाहिर गएर उपचार गराउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जाजरकोटमा करिब ४० हजार महिला प्रजनन उमेरका छन् । तीमध्ये करिब ५० प्रतिशत पाठेघरको समस्याबाट पीडित रहेका जाजरकोट अस्पतालका डा. अमिन शाहको भनाइ छ । उनका अनुसार बर्सेनि करिब ५ हजार महिलाले सन्तान जन्माउँछन् । पाठेघरको समस्याबाट १५ देखि ८० वर्षसम्मका महिला पीडित बनेका उनले बताए ।


पाठेघर खस्ने समस्याबाट पीडित बनेको १३ वर्षसम्म उपचार नपाएको नलगाड नगरपालिका–६, की गुलाबी ओलीले बताइन् । ‘पहिलो र दोस्रो सन्तान जन्माउँदा थाहै भएन, तेस्रो जन्माएपछि विभिन्न लक्षण देखा परे,’ उनले भनिन्, ‘अहिले त सामान्य काम गर्न पनि समस्या भइरहेको छ ।’


उनकी छिमेकी ५९ वर्षीया कमला ओलीले पाठेघरको समस्याका कारण लामो समयदेखि थला परेको बताइन् । सुरु–सुरुमा सबैलाई यस्तै होला भन्ने ठानेकी उनले केही वर्ष लाजकै कारण कसैलाई भनिनन् । अहिले हिँडडुल गर्न पनि समस्या हुने गरेको उनको भनाइ छ । १४ वर्षको उमेरमा विवाह गरेकी उनका ७ सन्तान छन् । दुई वर्षयता सामान्य काम गर्न पनि गाह्रो हुने गरेको उनले बताइन् ।


गाउँमा उनीहरूजस्तै पाठेघरको समस्या भोग्ने करिब ३ दर्जन महिला छन् । तीमध्येकी एक हुन्– गोमा केसी । ‘ख्याल–ख्यालैमा पाँच छोराछोरी जन्मिए, उमेरमै पाठेघर खस्यो,’ उनले भनिन्, ‘औषधीमूलो गर्ने पैसा छैन, दुःख सहेरै बसेकी छु ।’


डा. शाह ग्रामीण क्षेत्रका महिलामा पाठेघर खस्ने समस्या बढ्दै गएको बताउँछन् । उनका अनुसार सेतोपानी बग्ने, पाठेघर गन्हाउने, लामो समयदेखि तल्लो पेट दुख्नेलगायत समस्या बोकेर दैनिक करिब दर्जन बिरामी अस्पतालमा आउने गरेका छन् । सामान्य समस्या भएका बिरामीलाई औषधि दिएर पठाउने गरेको उनले बताए । ‘पाठेघरपीडित महिलाको उपचारका लागि अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउनुको विकल्प छैन,’ डा. शाहले भने, ‘अधिकाश बिरामीलाई बाहिरका सुविधायुक्त अस्पतालमा रिफर गर्ने गरिएको छ ।’ पछिल्लो ५ वर्षमा विभिन्न संघसंस्थाको सहयोगमा करिब १ हजार महिलाको पाठेघरको शल्यक्रिया गरिएको र करिब ७ सयले रिङ प्रेसरी राखेका उनले बताए ।


लाज, अपहलेना, बहुविवाह, घरयासी कामकाज गर्नुपर्ने बाध्यता, चेतनाको कमीलगायत कारण अधिकांश महिलाले आफ्नो रोग लुकाउने गरेका छन् । पाठेघरको समस्या भएका महिलालाई नेपालगन्ज र सुर्खेतका विभिन्न अस्पतालमा रिफर गर्ने गरिन्छ । तर, उनीहरू आर्थिक अभावमा जान सक्दैनन् । उपचार खर्च नहुँदा अधिकांश महिला जिल्लामा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा मात्र उपचार गराउन बाध्य छन् । गत साता छेडागाड नगरपालिकाका १ सय २४ महिलाले शिविरमार्फत पाठेघरको उपचार गर्ने मौका पाए ।


नगरपालिकाले कोहलपुर मेडिकल कलेजका स्त्रीरोग बिशेषज्ञ डा. रामविश्वास रायको टोलीलाई मनघाटमा ल्याएर पाठेघर खस्ने समस्याका महिलालाई उपचार सेवा प्रदान गरेको थियो । कतिपय महिलाले आफ्नो समस्या थाहा पाएर पनि शल्यक्रिया गर्न नमानेको डा. राय बताउँछन् । ‘पाठेघर बाहिर निस्केपछि फोहर तथा घस्रनाले फुल्न गइ इन्फेक्सन हुँदा अप्रेशन गर्नुपर्ने बाध्यता हुन्छ,’ उनले भने, ‘कतिपय महिलाले अप्रेसन गर्न नमान्दा उपचारमा थप समस्या भएको छ ।’ घरेलुहिंसा, घरयासी कामको बोझ, गर्भवती समयमा गह्रौं भारी बोक्नु, कुपोषण हुनु, कम उमेरमै धेरै सन्तान जन्माउनुलगायत कारण जाजरकोटका महिलामा पाठेघर खस्ने समस्या बढेको उनले बताए । प्रकाशित : माघ १८, २०७६ ०९:४२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भेडालाई छैन चरन

भीमबहादुर सिंह

(जाजरकोट) — कुशे गाउँपालिका–९ चौराँटाका दीर्घबहादुर रोकायले भेडीगोठ औंलमा सारेको दुई महिना भयो । उनको गोठमा १ सय ५० भेडा छन् । कुशे–८ कफल्लाका दुर्गबहादुर रोकायले पनि गत मंसिरदेखि १ सय ७० भेडा बेंसी झारेका छन् । 

उनीहरू मात्र होइन, अहिले कुशे, बारेकोट र जुनीचाँदे गाउँपालिकाका सयौं किसानले गोठ तल्लो भेगमा सारेका छन् । मंसिर पहिलो सातादेखि नै कुशे, चाखुरेलगायत पाटनमा हिमपात सुरु भएपछि भेडा औंल सार्नुपर्ने बाध्यता भएको हो तर चरन क्षेत्र नहुँदा उनीहरूको व्यवसाय संकटमा परेको छ । भेडीगोठ रहेका सार्वजनिक स्थल र वनजंगलमा पर्याप्त घाँसपात छैन । यसले समस्या पारेको रोकायले गुनासो गरे । ‘कुशे पाटनमा हुँदा २५ किलो तौल भएका भेडा चरनक्षेत्र अभावमा २० किलोमा झरेका छन्,’ उनले भने, ‘पाटनमा बुकी र पोसिलो घाँस प्रशस्त पाइन्छ, यहाँ भेडालाई सुकेको घाँस खुवाउनुपर्ने बाध्यता छ ।’ औल क्षेत्रमा सुकेको घाँस पनि पर्याप्त नपाइने उनको गुनासो छ ।

भेडालाई चरिचरनका लागि किसानले ४ हजार मिटरभन्दा अग्ला पाटनमा लैजाने गरेका छन् । तर पाटनमा हिउँ पर्दा भेडा बेंसीमा झार्नुपर्ने बाध्यता छ । भेडाका लागि मसिनो खर, पातपतिंगर र हरियो झारपात आवश्यक पर्ने भए पनि तल्लो क्षेत्रमा नपाइने कुशे–८, जिन्तालाका किसान पदमबहादुर सिंहले बताए । उनको गोठमा करिब १ सय भेडा छन् ।

अहिले गाउँ आसपास चरिचरन गर्ने ठाउँ नै नभएको बारेकोट गाउँपालिका–४ जिरीका धनबहादुर बोहराको भनाइ छ । उनले २ सय भेडा औल झारेका छन् । वन विनाश, अतिक्रमणलगायत कारण भेडाबाख्राको चरिचरनमा समस्या भएको उनले बताए । ‘भेडा चराउने ठाउँमा मानिसको बस्ती नै बसेपछि खाली क्षेत्र पाउनै मुस्किल छ,’ उनले भने, ‘भएको खाली ठाउँमा पनि घाँस नहुँदा समस्या छ ।’ सामुदायिक वन उपभोक्ता समितिले गरेको कडाइले पनि भेडापालन संकटमा परेको उनले जनाए । चैत नलाग्दासम्म भेडालाई चरनको अभाव हुने गरेको छ । चैत सुरु भएपछि भेडा पाटनतिर उक्लन्छन् । भेडीगोठ ७ महिना पाटन र ५ महिना औलमा रहने उनले बताए ।

एक दशक अघिसम्म किसान भेडा लिएर जुम्लाका गुठीचौर, गर्ज्याङकोट, टोप्ला, डुँर्गी, ताम्तीलगायत ठाउँमा पुग्थे । पछिल्लो समय भेडाको माग बढ्दै गए पनि पाटनबाहेकका ठाउँमा चर्ने ठाउँ नै छैन । ‘उतिबेला औलका खुला चौर, जंगल र बाँझो पाखोमा भेडाका बथानै हुन्थे,’ सिंहले भने, ‘अहिले ती ठाउँमा स्थानीयकै भेडा चर्ने ठाउँ छैन ।’ पशुपालन व्यवसाय घट्दै गएको जिल्लाका किसान भेडापालनमा अग्रसर देखिएको उनी बताउँछन् ।

स्थानीय बजारमा एउटा भेडाको मूल्य १५ देखि २० हजार रुपैयाँ छ । पछिल्लो समय भेडाको मासु, ऊन, कम्बल, राडीपाखीलगायत सामग्रीको माग पनि बढिरहेको पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताए । पाटनमा बस्ने भेडापालक किसानको आम्दानी वार्षिक ५ लाख रुपैयाँसम्म छ । स्थानीय सरकारले किसानलाई नस्ल सुधार गर्न उन्नत जातका ‘थुमा’ बोका वितरण गर्दै आएको उनले जानकारी दिए ।

जिल्लामा २५ देखि ३० हजार भेडा रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । बारेकोट गाउँपालिकामा मात्र १० हजार भेडा पालिएको कार्यालयको भनाइ छ । पाटनमा भेडालाई हावाहुरी तथा चट्याङ तथा वन्यजन्तुबाट जोगाउन चुनौती रहेको प्राविधिक सिंहको भनाइ छ ।

प्रकाशित : माघ १८, २०७६ ०७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×