१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पाठेघर खसेकाहरू पीडामै 

करिब ५० प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट ग्रस्त रहे पनि अधिकांशले उपचार पाएका छैनन् 
भीमबहादुर सिंह

(जाजरकोट) — जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक र उकरण नहुँदा पाठेघर खसेका महिलाको उपचारमा समस्या भएको छ । अधिकांश महिला वर्षौंदेखि पीडा बोकेर बस्न बाध्य छन् भने आर्थिक हैसियत बलियो भएका केही महिलामात्र जिल्लाबाहिर गएर उपचार गराउँछन् ।

पाठेघर खसेकाहरू पीडामै 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जाजरकोटमा करिब ४० हजार महिला प्रजनन उमेरका छन् । तीमध्ये करिब ५० प्रतिशत पाठेघरको समस्याबाट पीडित रहेका जाजरकोट अस्पतालका डा. अमिन शाहको भनाइ छ । उनका अनुसार बर्सेनि करिब ५ हजार महिलाले सन्तान जन्माउँछन् । पाठेघरको समस्याबाट १५ देखि ८० वर्षसम्मका महिला पीडित बनेका उनले बताए ।


पाठेघर खस्ने समस्याबाट पीडित बनेको १३ वर्षसम्म उपचार नपाएको नलगाड नगरपालिका–६, की गुलाबी ओलीले बताइन् । ‘पहिलो र दोस्रो सन्तान जन्माउँदा थाहै भएन, तेस्रो जन्माएपछि विभिन्न लक्षण देखा परे,’ उनले भनिन्, ‘अहिले त सामान्य काम गर्न पनि समस्या भइरहेको छ ।’


उनकी छिमेकी ५९ वर्षीया कमला ओलीले पाठेघरको समस्याका कारण लामो समयदेखि थला परेको बताइन् । सुरु–सुरुमा सबैलाई यस्तै होला भन्ने ठानेकी उनले केही वर्ष लाजकै कारण कसैलाई भनिनन् । अहिले हिँडडुल गर्न पनि समस्या हुने गरेको उनको भनाइ छ । १४ वर्षको उमेरमा विवाह गरेकी उनका ७ सन्तान छन् । दुई वर्षयता सामान्य काम गर्न पनि गाह्रो हुने गरेको उनले बताइन् ।


गाउँमा उनीहरूजस्तै पाठेघरको समस्या भोग्ने करिब ३ दर्जन महिला छन् । तीमध्येकी एक हुन्– गोमा केसी । ‘ख्याल–ख्यालैमा पाँच छोराछोरी जन्मिए, उमेरमै पाठेघर खस्यो,’ उनले भनिन्, ‘औषधीमूलो गर्ने पैसा छैन, दुःख सहेरै बसेकी छु ।’


डा. शाह ग्रामीण क्षेत्रका महिलामा पाठेघर खस्ने समस्या बढ्दै गएको बताउँछन् । उनका अनुसार सेतोपानी बग्ने, पाठेघर गन्हाउने, लामो समयदेखि तल्लो पेट दुख्नेलगायत समस्या बोकेर दैनिक करिब दर्जन बिरामी अस्पतालमा आउने गरेका छन् । सामान्य समस्या भएका बिरामीलाई औषधि दिएर पठाउने गरेको उनले बताए । ‘पाठेघरपीडित महिलाको उपचारका लागि अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउनुको विकल्प छैन,’ डा. शाहले भने, ‘अधिकाश बिरामीलाई बाहिरका सुविधायुक्त अस्पतालमा रिफर गर्ने गरिएको छ ।’ पछिल्लो ५ वर्षमा विभिन्न संघसंस्थाको सहयोगमा करिब १ हजार महिलाको पाठेघरको शल्यक्रिया गरिएको र करिब ७ सयले रिङ प्रेसरी राखेका उनले बताए ।


लाज, अपहलेना, बहुविवाह, घरयासी कामकाज गर्नुपर्ने बाध्यता, चेतनाको कमीलगायत कारण अधिकांश महिलाले आफ्नो रोग लुकाउने गरेका छन् । पाठेघरको समस्या भएका महिलालाई नेपालगन्ज र सुर्खेतका विभिन्न अस्पतालमा रिफर गर्ने गरिन्छ । तर, उनीहरू आर्थिक अभावमा जान सक्दैनन् । उपचार खर्च नहुँदा अधिकांश महिला जिल्लामा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा मात्र उपचार गराउन बाध्य छन् । गत साता छेडागाड नगरपालिकाका १ सय २४ महिलाले शिविरमार्फत पाठेघरको उपचार गर्ने मौका पाए ।


नगरपालिकाले कोहलपुर मेडिकल कलेजका स्त्रीरोग बिशेषज्ञ डा. रामविश्वास रायको टोलीलाई मनघाटमा ल्याएर पाठेघर खस्ने समस्याका महिलालाई उपचार सेवा प्रदान गरेको थियो । कतिपय महिलाले आफ्नो समस्या थाहा पाएर पनि शल्यक्रिया गर्न नमानेको डा. राय बताउँछन् । ‘पाठेघर बाहिर निस्केपछि फोहर तथा घस्रनाले फुल्न गइ इन्फेक्सन हुँदा अप्रेशन गर्नुपर्ने बाध्यता हुन्छ,’ उनले भने, ‘कतिपय महिलाले अप्रेसन गर्न नमान्दा उपचारमा थप समस्या भएको छ ।’ घरेलुहिंसा, घरयासी कामको बोझ, गर्भवती समयमा गह्रौं भारी बोक्नु, कुपोषण हुनु, कम उमेरमै धेरै सन्तान जन्माउनुलगायत कारण जाजरकोटका महिलामा पाठेघर खस्ने समस्या बढेको उनले बताए ।

प्रकाशित : माघ १८, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?