१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अक्षर चिन्दै आमा

महिला साक्षर भए परिवारैलाई पढ्न प्रेरित गर्ने भएकाले सबल परियोजनाले अधूरो छाडेको अभियानलाई गाउँपालिकाले बजेट विनियोजन गरेर अघि बढाउँदा कक्षा लिने बढ्दै 
तुलाराम पाण्डे

(पलाँता, कालीकोट) — खिनकी सुनतारा शाहीको उमेर २७ वर्षको भएपछि बल्ल अक्षरसँग साइनो जोडिएको छ । ‘नाम लेख्न र जोडघटाउ गर्न सक्ने भएकी छु,’ उनले भनिन्, ‘अब सही गर्नुपर्ने ठाउँमा ल्याप्चे लगाउनु पर्दैन ।’

अक्षर चिन्दै आमा

पलाँता गाउँपालिकाले सुरु गरेको साक्षरता कक्षाबाट अक्षरसँग साइनो जोड्ने उनी एक्ली महिला होइनन् । स्कुल–कलेज पढ्ने थुप्रैका आमाहरू अहिले पढ्न जान्ने भएका छन् । पलाँतामा एक वर्ष अवधिमा करिब पाँच सय महिला साक्षर भएका गाउँपालिकाले जनाएको छ ।


साक्षरता कक्षाले ग्रामीण महिलाको आत्मबल पनि बढाएको छ । गाउँघरमा हुने सभा र बैठकमा जान लाज मान्ने उनीहरू निर्धक्कसँग बोल्न सक्ने भएका छन । ‘पहिले त मोसो (तावाको कालो) तेलमा हालेर औंठाछाप हान्नुपर्थ्यो, बोल्नु पर्‍यो भने लाजले सकिन्थेन,’ सुनताराले भनिन्, ‘अचेल त न लाज लाग्छ, न ल्याप्चेको झन्झट हुन्छ ।’


धौलागोहकी ४२ वर्षीया जनकला विश्वकर्माले त लेखपढ गर्न सक्ने भएको तीन वर्ष भयो । अक्षर चिन्न सक्ने भएपछि उनले गाउँकी अगुवा महिलाका रूपमा आफ्नो परिचय बनाउन थालेकी छन् । सात वर्षअघि श्रीमान्को मृत्युपछि संसारै अँध्यारो भयो भन्ठानेकी उनी अहिले जिउने आत्मबल बढेको बताउँछिन् । गाउँकै लालीगुराँस सबल समूहबाट १० हजार ऋण लगेर खुद्रा पसल पनि चलाएकी छन् । ‘बुढेसकालमा पढ्न पाइयो, सीप सिकेर कमाइ पनि भएकै छ,’ उनले भनिन्, ‘समूहमा पैसा हालेर बचत पनि गरेकी छु ।’


साक्षरताले महिलालाई घर र समाजमा सम्मानित पनि महसुस गराएको छ । पुलाहाँकी ३५ वर्षीया बिनपुरी बुढाका श्रीमान अक्षर चिन्दैनन् । पढेपछि श्रीमान्समेत आफ्नो भर पर्न थालेका उनले बताइन् । साक्षरता कक्षामा पढाइसँगै अन्य सीप पनि सिकाइने भएकाले व्यावसायिक तरकारी खेतीमा पनि लागेको उनको भनाइ छ । उनले उब्जाएको तरकारी थिर्पु, घाटपारीचौर र राडुनेटा बजारमा बिक्री हुन्छ ।


उखाडीकी २९ वर्षीया आशा बुढालाई गाउँकै मान्छेले ‘पढेर मास्टर्नी हुन्या होइ र,’ भनेको अहिलेझैं लाग्छ । ‘अचेल मेरो प्रगति देखेर त्यस्तो भन्नेहरू घोसे मुन्टो लाउँछन्,’ उनी भन्छिन्, ‘पढाउने मास्टर्नी नभयापन सीप सिकेर कपडा सिलाउने मास्टर्नी भएकी छु ।’


साक्षरता अभियानलाई सुरुमा ‘कर्णालीका महिलाका लागि अवसर र अधिकार सबल परियोजना’ ले चलाएको थियो । परियोजना सकिएपछि गाउँपालिकाले निरन्तरता दिएको हो । गाउँपालिकाले बजेट विनियोजन गरेर नौवटै वडामा साक्षरता कक्षा चलाएको छ । चालु वर्ष ९५ लाख र निरक्षर पुरुषलाई साक्षर बनाउन थप १५ लाख गरी १ करोड ५५ लाख रुपैयाँ गाउँसभाबाट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनले भने, ‘आमा साक्षर भए परिवारै साक्षर बनाउन सक्ने भएकाले महिलामा लगानी गरेका हौं ।’ १५ हजार ३ सय जनसंख्या रहेको पलाँताको साक्षरता प्रतिशत ४८ छ । यहाँका ६० प्रतिशत पुरुष र ३७ प्रतिशत महिला साक्षर छन् ।


गाउँपालिकाकी उपाध्यक्ष दाना न्यौपाने पनि साक्षरता कक्षाबाटै शिक्षित भएर राजनीतिमा अघि बढेकी हुन् । ‘म पनि यहीँको साक्षरता कक्षा पढेर साइन (हस्ताक्षर) गर्न सक्ने भएकी हुँ,’ उनले भनिन्, ‘जीवनमा सबैभन्दा ठूलो कुरा पढाइलेखाइ रहेछ ।’ आफूसँगै साक्षरता कक्षा पढेका अन्य ६ जना वडा समितिमा चुनिएका उनले बताइन् ।

प्रकाशित : माघ १८, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?