मातृशिशु जोगाउन लगानी

१ हजार ३ सय ३८ गर्भवतीलाई सन्तुलित भोजनसँगै आवश्यक तालिमसमेत दिइसकेको खाँडाचक्र नगरले यसकै लागि १० लाख बजेट छुट्ट्याएको छ
तुलाराम पाण्डे

(कालीकोट) — सुनौला हजार दिनका आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउन खाँडाचक्र नगरपालिकाले पोषण अभियान सुरु गरेको छ । अभियानअन्तर्गत गर्भवती तथा सुत्केरीलाई सन्तुलित भोजन र विभिन्न सामग्री वितरण थालिएको छ । 

महिला गर्भवती भएदेखि १ हजार दिनसम्मको समयलाई सुनौला हजार दिनका रूपमा लिइन्छ । अभियानका लागि नगरपालिकाले यस वर्ष १० लाख रुपैयाँ विनियोजन गरेको छ । सुनौला हजार दिनका आमालाई अण्डा, कुखुराका चल्ला, तरकारीको बीउ, पोषिलो पिठो, फिल्टर, धोतीसहितका सामग्री वितरण थालिएको नगरपालिकाले जनाएको छ । नगरका ११ वटै वडामा १ हजार ३ सय ३८ गर्भवती छन् । पहिलो चरणमा ६ सय ७० जनालाई सामग्री वितरण गरिएको नगर स्वास्थ्य संयोजक रविन्द्र सेजुवालले बताए । ‘घरमै सुत्केरी हुने अवस्थालाई शून्यमा झार्न यो कार्यक्रम सुरु गरिएको हो,’ उनले भने, ‘मातृ तथा नवजात शिशुलाई बचाउन पनि कार्यक्रमले सहयोग पुर्‍याउनेछ ।’


नगरले सुत्केरी तथा गर्भवतीका लागि ‘हरेक बार, खाना चार’ अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ । अभियानअन्तर्गत गत वर्ष टोलटोलमा गर्भवती महिलाको भेला गराएर स्थानीय खाद्यान्नमार्फत सन्तुलित भोजन पकाउने सीप सिकाइएको थियो । स्वास्थ्य संयोजक सेजुवालका अनुसार गत वर्ष टोलटोलमा महिला समूह परिचालन गरी कोदो तथा फापरको ढिँडो र हलुवा बनाउन सिकाइएको थियो । ‘बाहिरबाट आएको सेतो चामल, चाउचाउ र बिस्कुटले कुपोषण निम्त्याएको ठहर गर्दै अभियान सुरु गरिएको हो,’ उनले भने, ‘कार्यक्रमले आमा तथा शिशुको स्वास्थ्यलाई गुणस्तरीय बनाउन सहयोग पुर्‍याइरहेको छ ।’


नगरपालिकाले सबै वडाका गर्भवती तथा सुत्केरीको तथ्यांक अद्यावधिक गर्न सुरु गरिसकेको छ । गर्भवतीलाई शुद्ध पानी पिउने बानी बसाउन फिल्टर वितरण गरिएको नगर उपप्रमुख विजया विष्टले बताइन् । उनका अनुसार पहिलो चरणमा अतिविपन्न र जोखिमयुक्त अवस्थाका गर्भवती र सुत्केरीलाई सामग्री वितरण गरिएको हो । नगरपालिकाले पोषणयुक्त सामग्री तथा फिल्टर वितरण गरेपछि विपन्न महिलाले सन्तुलित भोजन र शुद्ध खानेपानीको सुविधा पाएको खाडाचक्र–४, की जालका विश्वकर्माले बताइन् । ‘अब खोलाको धमिलो पानी खानुपर्ने बाध्यता अन्त्य भयो,’ उनले भनिन्, ‘सन्तुलित भोजनले स्वास्थ्यमा सुधार ल्याउने आशा छ ।’


गर्भवती र सुत्केरी महिलाले चारपटक गर्भ जाँच गरेवापत ८ सय, स्वास्थ्य संस्थामा सुत्केरी भएबापत ३ हजार र प्रदेश सरकारबाट पोषण कोसेलीवापत २ हजार रुपैयाँ पाउँदै आएका छन् । खाँडाचक्र नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअर्न्तगत सबै वडामा कुखुराका चल्ला र तरकारीको बीउ वितरण, सडक नाटक, सासु–बुहारी अन्तर्क्रियालगायत कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ । कोदो, फापर, रातो फर्सी, सागपात र गेडागुडीमा पाइने भिटामिनबारे जानकारी पाएपछि स्थानीय उत्पादनबाट पकाइएका विभिन्न परिकार खान थालेको खाँडाचक्र–६ की गर्भवती जया गोरालले बताइन् । ‘हामीले त खाना खान नै जानेका रहेनछौं,’ उनले भनिन्, ‘पहिले कोदोको सुख्खा रोटी मात्र खाने चलन थियो, अहिले ढिडो र हलुवा बनाएर खाइरहेका छौं ।’ उनले रैथाने बालीको फाइदा थाहा पाएपछि गाउँमा कोदो, फापरलगायत बाली लगाउने लहर चलेको बताइन् ।


गर्भवती महिलामा रक्तअल्पता र ५ वर्षमुनिका बालबालिकामा अत्यधिक कुपोषण देखिएपछि बहुक्षेत्रीय पोषण कार्यक्रममार्फत खाँडाचक्रमा गत वर्ष ३३ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको थियो । मान्म, दाहाँ, पाखा, जिम्मजेडी, रेंगिल र बरातुमा मात्र लागु भएको कार्यक्रमलाई थप परिमार्जित गर्दै यस वर्ष सबै वडामा लागु गरिएको उपप्रमुख विष्टले जानकारी दिइन् ।


स्वास्थ्य सेवा कार्यालयका अनुसार यस वर्ष प्रदेश सरकारले सुनौला हजार दिनका आमाका लागि कोसेलीवापत ४० लाख रुपैयाँ विनियोजन गरेको छ । महिला र बालबालिकामा चाउचाउ, बिस्कुटलगायत गुणस्तरहीन खाद्यान्नले कुपोषणको दर बढाइरहेको कार्यालयका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए । ‘जिल्लाभरि रैथाने बाली तथा फलफूलको फाइदाबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘गत वर्ष हरेक बस्ती र टोल–टोलसम्म कार्यक्रम सञ्चालन गरिएपछि प्रभावकारिता देखिन थालेको छ ।’ उनका अनुसार जिल्लामा खाद्य आनीबानीबारे चेतनाको कमी, लैंगिक विभेद, स्याहार सुसारमा बेवास्तालगायत कारणले मातृ तथा बालमृत्युदर उच्च छ । प्रकाशित : माघ १७, २०७६ १०:०५

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दिन बिराएर लोडसेडिङ

तुलाराम पाण्डे

(कालीकोट) — देशभर उज्यालो अभियान चलिरहेका बेला जिल्लावासी दिन बिराएर लोडसेडिङ खेप्न बाध्य छन् । अनियमित लोडसेडिङ यहाँको वर्षौं पुरानो समस्या हो ।

विद्युत्‌ गृहको नहर र मेसिनमा बेलाबेलामा खराबी आउँदा हप्तैपिच्छे विद्युत् अवरुद्ध हुने समस्याबाट स्थानीयबासी आजित छन् । सान्नीगाड साना जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् अपुग भएकाले एक दिन बिराएर लोडसेडिङ हुने गरेको हो । विद्युत् आयोजना आसपासका बस्तीमा एक दिन र कर्णालीवारि पर्ने सदरमुकाममा अर्को दिन विद्युत् सेवा प्रवाह भइरहेको छ । वितरण केन्द्र प्रमुख मेखराज जोशी ५ सय किलोवाट क्षमताको आयोजनाबाट अहिले मुस्किलले आधा मात्र विद्युत् उत्पादन हुँदा समस्या भएको बताउँछन् ।

‘माग बढी छ, आपूर्ति कम छ,’ उनले भने, ‘बेला–बेलामा मर्मत गर्नुपर्ने भएकाले सोचेजस्तो विद्युत्सेवा प्रवाह गर्न सकिएको छैन ।’

विद्युत् अभावमा सदरमुकाममा टेलिफोन लाइन पनि चल्दैनन् । मोबाइलको टावरले पनि काम नगर्ने समस्या रहेको स्थानीयको गुनासो छ । घाम नलागे स्थानीय रेडियो बन्द हुने समस्या रहेको रेडियो नयाँ कर्णालीका प्रवन्धक भरतराज विष्टले गुनासो गरे । विद्युत् नहुँदा इन्टरनेट नचल्ने समस्यासमेत लामो समयदेखि रहेको उनको भनाइ छ । हप्तैपिच्छे विद्युत् अवरुद्ध हुने समस्याले कर्मचारीलाई पनि सास्ती भइरहेको छ । २०५७ मा निर्माण सकिएको आयोजना सशस्त्र द्वन्द्वका कारण अवरुद्ध पारिएको थियो । आयोजनाले २०६५ जेठदेखि विद्युत् सेवा दिइरहेको छ । आयोजनाले मुम्रा, मेहेलमुडी, रकु, स्युना, सिप्खाना, रेंगिल, मान्म, ताडी, भर्ताको पोरिपाल्नीसम्म लाइन विस्तार गरेको छ । खाँडाचक्र, रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका २ हजार ६ हजार घरधुरीमा मिटर वितरण गरिएको आयोजनाले जनाएको छ । ‘पावर’ नपुग्दा ‘पिकआवर’ मा पालोपालो गरेर लोडसेडिङ गर्ने गरिएको केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताए । ‘नयाँ मेसिन जडान गरेमात्र लोडसेडिङको समस्या हल हुन्छ,’ उनले भने, ‘पुरानै मेसिनले माग धान्न मुस्किल छ ।’

विद्युत् अनियमितताले बालबालिको पढाइमा पनि बाधा पुगेको छ । ‘बत्ती नआएको दिन विद्यार्थीले होमवर्क गर्दैनन्,’ महादेव आधारभूत विद्यालयकी प्रधानाध्यापक नन्दाकुमारी शाहीले भनिन्, ‘कालीकोटको विजुली नाम मात्रको छ, काम परेको बेला आउँदैन ।’

महँगोमा सोलार
विद्युत् नहुँदा जिल्लाका केही व्यापारीले सोलार ब्याट्री र जेनेरेटर ल्याएर मोबाइल तथा ल्यापटप चार्जलाई व्यवसाय बनाएका छन् । उनीहरूले सोलार ब्याट्रीमार्फत मोबाइल, ल्यापटपलगायत साधन चार्ज गर्न चर्को रकम लिने गरेका छन् ।

नागरिकता फोटोकपी गरेबापत १० र एकप्रति कागजात प्रिन्ट गरेको २० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । बिजुली अभावमा मोबाइल अधिकांश समय ‘स्विच अफ’ गर्नुपर्ने बाध्यता रहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष कालीबहादुर विष्टले बताए । ‘पैसा तिरेर पनि गाउँमा मोबाइल चार्ज गर्ने ठाउँ छैन,’ उनले भने । २०७० मा मुम्रा पोतमारास्थित सान्नीगाड खोलामा आएको बाढीले साना जलविद्युत् केन्द्रको नहर बगाएको थियो । बाढीमा १२ जना बेपत्ता भएका थिए । त्यसयता पनि बेला–बेलामा विद्युत् नहर भत्किने र मेसिन बिग्रिने समस्या छ ।

प्रकाशित : माघ १४, २०७६ ०९:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×