सुर्खेतमा तेस्रो दिन पनि तनाव, शव पोस्टमार्टम भएन

(सुर्खेत) — टिपरले हानेर एक युवाको मृत्यु भएपछि तेस्रो दिन पनि सुर्खेतको अवस्था सामान्य हुन सकेको छैन । मृतकका आफन्तले बिहीबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै सवारी चल्न दिएका छैनन् ।

सुर्खेतमा तेस्रो दिन पनि तनाव, शव पोस्टमार्टम भएन

प्रहरीले प्रदर्शनमा उत्रिएका ८ जनालाई नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बुधबार साँझ मृतकका आफन्तसँग सहमति भए पनि एक्कासी अर्को समूह चक्काजाममा उत्रिएको बताए । उनका अनुसार टिपरधनी हरि बिसीविरुद्ध मुद्दा दायर गर्ने, प्रदर्शनमा घाइते भएकाहरुको उपचार गर्ने र कानुनी रुपमा मृतकका परिवारलाई राहत दिने सहमति भएको थियो ।


सहमति भइसकेपछि अर्को समूहले उक्त सहमति नमान्ने भनेपछि समस्या बल्झिएको उनले बताए । ‘हामीले कुन समूहसँग सहमति गर्ने हो भन्ने नै अलमल भयो,’ उनले भने, ‘दुःखद् घटनामा पीडित परिवारलाई अधिकतम रुपमा न्याय दिन सबैले लाग्नु पर्छ, तर कसैले पनि मृत्युमाथि खेलवाड गर्नु हुँदैन ।’


सहमति नहुँदा मृतक युवा केशरबहादुर सिंहको शव पोस्टमार्टम हुन सकेको छैन । प्रजिअ अधिकारीले आफन्तलाई सहमतिमा ल्याउन प्रयास हुने र सम्भव नभए प्रशासनले आफै पोस्टमार्टमको प्रक्रिया अगाडि बढाउने बताए ।


कालीकोटका २१ वर्षीय युवा सिंहको जुम्लारोडमा मंगलबार बिहान टिपरले हानेर मृत्यु भएको थियो ।

प्रकाशित : माघ १६, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?