कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मुआब्जा विवादले पुल अलपत्र

विप्लव महर्जन

सल्यान — सल्लीबजार–चौरजहारी सडकखण्डको नाथेखोलामा निर्माणाधीन पक्की पुलको काम जग्गा बिवादका कारण लामो समयदेखि अल्झिएको छ । मुवाव्जा बिवाद नमिल्दा २ वर्षअघि सम्पन्न हुनुपर्ने काम अझै पूरा भएको छैन । 

मुआब्जा विवादले पुल अलपत्र

निर्माणको जिम्मा लिएका ठेकेदारले काम गर्न खोजे पनि बारम्बार स्थानीयले अवरोध गर्दै आएका छन् । पुल निर्माण गर्दा खेतीयोग्य जग्गामा क्षति पुर्‍याएको भन्दै स्थानीयले मुवाब्जा मागेका हुन् । जग्गाधनी लक्ष्मी कामीले मुआब्जा माग गरे पनि बेवास्ता भएकाले पुल निर्माण गर्न नदिएको बताइन् । ‘पुलको फाउण्डेसनको काम गर्दा खेतीयोग्य जग्गा धेरै मासिएको छ,’ उनले भने, ‘कि हामीलाई मुवाब्जा चाहियो, नत्र हामी पुल निर्माण हुन दिँदैनौ ।’


पुल निर्माणका लागि सडक डिभिजन कार्यालय, दाङले ०७२ सालमा हरिहरि/गजुरमुखी निर्माण सेवासँग सम्झौता गरेको थियो । सम्झौतामा २०७४ पुस मसान्तभित्र पुल निर्माणको काम सक्न ठेकेदार कम्पनीलाई कार्यादेश दिइएको थियो । कम्पनीले ४ करोड ७५ लाख रुपैयाँमा ४० मिटर लम्वाइको पुल निर्माणको जिम्मा लिएको हो । जग्गाधनीले बिवाद उठाएपछि २० प्रतिशत बाँकी काम लामो समयदेखि रोकिएको डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुल निर्माणको काम करिव ८० प्रतिशत सकिएको छ ।


मुआब्जा बिवादकै कारण पुल निर्माणको काम रोकिँदा वर्षायाममा यातायातका साधन सञ्चालन गर्न समस्या भएको स्थानीय कर्णबहादुर खड्काले बताए । ‘समयमै पुलको काम नसकिँदा करिव १ महिना यातायात सेवा अवरुद्ध हुन्छ,’ उनले भने, ‘हामीले पुल निर्माण नहुँदा लामो समयदेखि सास्ती खेपिरहेका छौं ।’ उनका अनुसार पुलको काम रोकिएपछि सल्यान, रुकुम र जाजरकोटका बासिन्दा समस्यामा परेका छन् ।



ठेकेदार कम्पनीले लामो समयदेखि मुवाब्जा नदिँदा काम रोकिएको स्थानीय देबबहादुर विष्टले बताए । ‘ठेकेदारले विभिन्न बहाना बनाएर मुवाब्जा दिन आनाकानी गरिरहेका छन्,’ उनले भने, ‘मुवाब्जा दिए उनैलाई पुल निर्माण सुचारु गर्न सहज हुन्थ्यो ।’ ठेकेदारले काममा ढिलाइ गर्न जग्गा बिवादलाई बहाना बनाएको उनले जानकारी दिए । स्थानीय अगुवा धनबहादुर सुनारले ठेकेदारले देखावटी काम गरेर मुख्य काम अझै सुरु नगरेको आरोप लगाए । ‘सम्पन्न हुने मिति २ वर्ष धकेलिएको छ, सरकारी निकायले पनि पटकपटक म्याद थपिरहेको छ,’ उनले भने, ‘यस्तै अवस्था रहे अर्को वर्षको वर्षायाम सुरु हुदा पनि पुल निर्माण हुने छाँटकाँट देखिएन ।’ काम नगर्ने ठेकेदारलाई सरकारी निकायले नै संरक्षण गरिएको उनले आरोप लगाए ।

ठेकेदार हरिबहादुर रावतले पुलको काम अन्तिम चरणमा पुगिसकेको बेला जग्गाधनीले बिवाद झिकेपछि काममा समस्या भएको दाबी गरे । उनका अनुसार बिवाद सुल्झाउन सरकारी निकाय र स्थानीयले सहयोग नगर्दा काम लम्बिरहेको छ । उनले पुलमा पर्खाल लगाउने र फिनिसिङको काम बाँकी रहेको जनाए । ‘बिवाद टुंगिनेवित्तिकै निर्माणको कामले तीव्रता पाउनेछ,’ उनले भने, ‘जतिसक्दो छिटो निर्माणको काम सक्ने हाम्रो प्रयत्न छ ।’


डिभिजन कार्यालयका अनुसार पुलमा ‘स्ल्याप’, ‘एप्रोच रोड’, ‘रिटेनिङ वाल’ लगायत काम बाँकी छन् । ठेकेदार कम्पनीको अनुरोधमा निर्माणको म्याद २ पटक थपिएको कार्यालयले जनाएको छ । कार्यालयका प्राविधिक प्रकाश अधिकारीले सुरुमा पुल निर्माणको कामले तीव्रता पाए पनि लामो समयदेखि रोकिएको बताए । ‘जग्गा बिवादले काम बीचमै अलपत्र परेको छ,’ उनले भने, ‘हामीले ठेकेदारलाई बिवाद मिलाएर छिटो काम सक्न ताकेता गरिरहेका छौं ।’ जग्गाधनीले मागेअनुसार मुवाब्जा बुझाउन माथिल्ला निकायमा पत्राचार गरिएको उनले जानकारी दिए । ४० मिटर लम्बाइको पुलमा आरसीसी ढलानको काम सकिएको उनको भनाइ छ ।

प्रकाशित : माघ १५, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?