३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गाउँमै चामल पुगेपछि खुसी

हरि गौतम

(रुकुम पश्चिम) — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गाउँगाउँमा चामल पठाउन थालेको छ । बजार मूल्यभन्दा सस्तोमा चामल पाइन थालेपछि स्थानीय पनि खुसी देखिएका छन् ।

गाउँमै चामल पुगेपछि खुसी

पछिल्लो समय आठबीसकोट नगरपालिकाका–१, २ र ३ स्थित स्यालाखदीमा चार वर्षदेखि नियमित चामल गइरहेको छ । साविक स्यालाखदी गाविस जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र मानिन्छ । २०७३ सालदेखि चामल नियमित पठाउन सुरु गरेको कम्पनीले २०७४ सालदेखि छुट्टै ठेक्का आव्हान गरिरहेको छ । त्यसअघि सदरमुकाम खलंगामा रहेको शाखा कार्यालयले केही क्विन्टल चामल स्यालाखदीका लागि पठाउने गरेको थियो ।


यो वर्ष स्यालाखदीका लागि ५ सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । नेपालगन्जबाट २ सय क्विन्टल चामल स्यालाखदी पुर्‍याइएपछि बिक्री थालिएको छ । चामल बिक्री भएको आधारमा निर्धारण गरिएको कोटाभन्दा थप चामल पनि पठाउन सकिने कम्पनीले जनाएको छ । गत वर्ष आर्थिक वर्षको अन्त्यमा मात्रै चामल स्यालाखदी पुगेको थियो । ढुवानी र बिक्रीको जिम्मा लिएको जाजरकोटको एमबी बिल्डर्सले समयमै चामल पुर्‍याएपछि वितरण भइरहेको हो । यस वर्ष ५ सय क्विन्टलभन्दा बढी चामल बिक्री हुने अनुमान रहेको बिल्डर्सले जनाएको छ । ठेकेदार कम्पनीले सडक पुगेको ठाउँसम्म चामल ढुवानी गरिरहेको जनाएको छ । ३ नम्बर वडाको खदीसम्म सडक सुविधा छ ।


खदीबाट चामल किनेर १ र २ नम्बर वडाका स्थानीयले उपभोग गरिरहेको कम्पनीका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार सदरमुकामकै दरमा खदीमा चामल बिक्री भइरहेको छ । ‘बजारको चामल महँगो हुने भएकाले ढुवानी अनुदानमा चामल बिक्री वितरणको व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘खाद्यान्न उत्पादन कम हुने भएकाले खदीमा चामलको माग बढी छ ।’ उनले स्थानीयले बजारभन्दा सस्तो मूल्यमा चामल उपभोग गरिरहेको जानकारी दिए ।


खदीमा अरुवा मोटो चामल ४ हजार ४ सय, जापानी चामल ४ हजार ४ सय, अरुवा मध्यम ४ हजार ८ सय, सोनामन्सुली ४ हजार ९ सय र अरुवा जिरामसिनो ६ हजार रुपैयाँ प्रतिक्विन्टल बिक्री भइरहेको छ । यो मुल्य स्थानीय बजारमा पाइने चामलभन्दा ५ देखि ६ सय रुपैयाँ सस्तो हो । उत्पादन कम हुने भएकाले खदीमा चामलको माग बढी भएको स्थानीय रबिन्द्र बोहराले बताए । ‘ढुवानी समस्याका कारण स्थानीय बजारमा चामल नै आउँदैन,’ उनले भने, ‘आए पनि अचाक्ली महँगो हुने भएपछि खाद्यको चामल नै हाम्रो रोजाइमा छ ।’ खदीबाट चामल बोकेर १ नम्बर वडाका विभिन्न टोल पुर्‍याउँदा चामलको भाउ महँगो भएको उनी बताउँछन् ।


चालु आर्थिक वर्षमा सदरमुकामस्थित शाखा कार्यालयका लागि १ हजार क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । त्यसमध्ये ५ सय ४० क्विन्टल चामल ढुवानी भइसकेको निमित्त प्रमुख खड्काले जनाए । यस वर्ष राप्ती बहुसेवा प्रालिले सदरमुकाममा चामल ढुवानीको जिम्मा लिएको छ । शाखा कार्यालयमा प्राप्त हुने चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गरिरहेको छ । धमाधम बिक्री भइरहेकाले कोटा थप गर्नुपर्ने अवस्था आएको खड्काले जानकारी दिए । उनका अनुसार विभिन्न सहकारीले गाउँ–गाउँमा चामल बिक्री गरिरहेकाले १ हजार क्विन्टलले मात्रै नपुग्ने अवस्था आएको हो ।


गत वर्ष शाखा कार्यालयबाट १२ सय क्विन्टल चामल बिक्री गरिएको थियो । ‘गत वर्ष जेठ महिनामा मात्रै ढुवानी गरिएको चामल पनि कोटाभन्दा बढी बिक्री भयो,’ निमित्त प्रमुख खड्काले भने, ‘यस वर्ष समयमै ढुवानी भएको छ, ६ महिना अवधिमा आधाभन्दा बढी चामल ढुवानी भइसक्यो ।’ उनले दैनिक ५० क्विन्टल चामल बिक्री भइरहेको बताए ।

प्रकाशित : माघ १३, २०७६ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?