१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पानी नहुँदा शौचालय बन्द

विप्लव महर्जन

(सल्यान) — बन्गाडकुपिण्डे नगरपालिकामा ६५ सामुदायिक विद्यालय छन् । पानी अभावका कारण ४० विद्यालयका शौचालय प्रयोगविहीन बनेपछि विद्यार्थीलाई खुला शौच गर्नुपर्ने बाध्यता छ ।

पानी नहुँदा शौचालय बन्द

जिल्ला शिक्षा कार्यालय, नेपाल रेडक्रस, वडा कार्यालय, नगरपालिका र अन्य संघसस्थाले लाखौं खर्चेर निर्माण गरेका शौचालय प्रयोगविहीन बनेपछि लगानी खेर गएको छ । शौचालय प्रयोगविहीन हुँदा नगरभरिका करिव ४ हजार विद्यार्थी प्रभावित बनेका भैरवी निम्न मावि, देवस्थलका प्रधानाध्यापक खिमलाल विकले बताए । उनका अनुसार विद्यालयको शौचालय ३ वर्षदेखि प्रयोगविहीन बनेको छ । ‘पानीको पर्याप्तता हुँदा विद्यार्थीलाई शौच गर्न सुविधा थियो,’ उनले भने, ‘नजिकैका मुहान सुकेपछि शौचालय प्रयोग गर्न छाडेको लामो समय भइसक्यो ।’ उनले खुला शौच गर्दा छात्राहरू बढी समस्यामा परेको सुनाए । उनले विद्यार्थीका लागि पिउने पानी ल्याउन आधा घण्टा टाढाको मुहानमा जानुपर्ने बाध्यता रहेको जनाए । विद्यार्थीले जथाभाबी दिसापिसाब गर्दा विद्यालय आसपासको क्षेत्र दुर्गन्धित हुन थालेको उनको भनाइ छ ।


सिद्धेश्वरी माविका प्रधानाध्यापक थुमन केसीले बालबालिकालाई विद्यालय नजिकैका घरका शौचालयमा पठाउनुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार गाउँमा खानेपानी अभाव हुँदा विद्यार्थीलाई खुला शौच गर्न पठाउनुपर्ने बाध्यता छ । ‘कहिले जंगलमा त कहिले आफन्तका घरका शौचालयमा जानुपर्ने बाध्यताले माथिल्लो कक्षाका विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको छ,’ उनले भने, ‘विद्यालयले वैकल्पिक व्यवस्था गर्न नसक्दा छात्राहरू बढी प्रभावित छन् ।’


पानीको अभावमा अधिकांश विद्यालयका शौचालय लामो समयदेखि दुर्गन्धित बनेको कृष्ण मावि, संग्रहरीका प्रधानाध्यापक मोहनकुमार रोकायले गुनासो गरे । ‘बाहिरबाट सबै शौचालय चिटिक्कका देखिन्छन्,’ उनले भने, ‘प्रयोगविहीन बनेपछि लामो समयदेखि विद्यालयका शौचालयमा ताला लगाएका छौं ।’ खानेपानी अभावका कारण विद्यालयमा अन्य सरसफाइका काममा पनि बाधा परेको उनको भनाइ छ । उनले विद्यार्थीलाई खानेपानी सुविधा दिन एक घण्टा टाढाबाट पानी बोकेर ल्याइने गरिएको जानकारी दिए । बन्गाडकुपिण्डे–१२ का वडाध्यक्ष गोविन्द डाँगीले अधिकांश गाउँमा लामो समयदेखि खानेपानी अभाव रहेको जानकारी दिए ।


उनका अनुसार विद्यालयका मात्र नभइ अधिकांश स्थानीयका शौचालय पानी अभावकै कारण प्रयोगविहीन बनेका छन् । ‘जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको ६ वर्ष पुग्यो, तर बाहिरै शौच गर्नुपर्ने बाध्यता छ,’ उनले भने,‘स्थानीयलाई खानेपानी सुविधा दिन विभिन्न गाउँमा लिफ्ट खानेपानी योजना निर्माण भइरहेका छन् ।’

प्रकाशित : माघ १३, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?