१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जोखिम मोलेर शल्यक्रिया

मुगु जिल्ला अस्पतालमा औषधि, जनशक्ति र उपकरण अभावकै बीच सेवा दिनुपर्ने बाध्यता 
राजबहादुर शाही

(मुगु) — छायाँनाथरारा नगरपालिका–३, फूलीकी सुकिल्ली खड्कालाई बेहोस अवस्थामै राति १२ बजे जिल्ला अस्पताल पुर्‍याइयो । बच्चाको हात बाहिर निस्किएर छटपटाउँदै गरेको अवस्थामा उनलाई अस्पताल पुर्‍याइएको थियो । उपकरणबिनै जोखिम मोलेर डा. मीना चौलागाईं र डबल मल्लले उनको शल्यक्रिया गरे ।

जोखिम मोलेर शल्यक्रिया

२०७५ कात्तिक ३० गते भएको यो शल्यक्रिया अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले सम्झिरहन्छन् । एक साताअघि अत्यधिक रक्तस्रावले थलिएकी छाइलकी अर्की गर्भवती महिलाले पनि जिल्ला अस्पतालमै सकुशल बच्चा जन्माइन् । पेटमा दुई बच्चा भएका कारण उनलाई स्थानीय स्वास्थ्यचौकीमा प्रसूति हुन समस्या भएको थियो । विगत वर्षमा महँगो रकम खर्च गरेर सुर्खेत र नेपालगन्ज जाने गर्भवती महिलाले जिल्लामै शल्यक्रिया सुविधा पाएका छन् । जिल्ला अस्पताल, ठिनीमा ३ वर्षयता शल्यक्रियामार्फत प्रसुतिसेवा उपलब्ध छ । ३ वर्षअघि बाहिर रिफर गरिएका गर्भवतीको बाटोमै ज्यान जाने जोखिम थियो । डा. चौलागाईं र मल्लले ७० दिने ‘एड्भान्स एसबीबीएस’ तालिम लिएपछि शल्यक्रिया सेवा प्रभावकारी बन्दै गएको छ ।


पर्याप्त औषधि, जनशक्ति र उपकरणको अभावबीच चिकित्सकले रातदिन सेवा दिइरहेका छन् । अस्पतालका अनुसार आर्थिक वर्ष २०७४/७५ मा चार जना र २०७५/७६ मा १३ जनाले शल्यक्रियामार्फत प्रसूतिसेवा लिएका छन् । चालू आर्थिक वर्षको ६ महिनामा ९ जना गर्भवतीको शल्यक्रिया गरिएको छ । अस्पतालले अहिलेसम्म २६ जटिल अवस्थाका गर्भवतीलाई शल्यक्रिया गरिएको जनाएको छ ।


बिरामीको अवस्थालाई ख्याल राखेर जोखिम मोलेरै भए पनि शल्यक्रिया सेवा दिइरहेको डा. चौलागाईँले बताइन् । उनका अनुसार ९ औं हका विशेषज्ञ चिकित्सक नहुँदा अन्य बिरामीलाई शल्यक्रिया सेवा दिन भने समस्या भइरहेको छ । ‘अस्पताल पुर्‍याए पूर्वाधार र उपकरणबिनै जोखिम मोलेर शल्यक्रिया गर्ने गरेका छौं,’ उनले भनिन्, ‘तर जिल्लामा प्रसुतिका लागि गर्भवतीलाई अस्पताल नपुर्‍याउने प्रवृत्ति बढी छ ।’ उनका अनुसार गत साता समयमै अस्पताल पुर्‍याउन नसक्दा रोवाकी धनरुपा विकको मृत्यु भएको थियो ।


जिल्लाबाट अहिलेसम्म एकजना गर्भवतीलाई मात्र बाहिर रिफर गरिएको छ । शल्यक्रिया सेवाले गर्भवतीको रिफरको दर कम हुँदै गएको डा. मल्लले जनाए । उनका अनुसार जिल्लाको ४ स्थानीय तहका प्रसुतिगृहले शल्यक्रियाका लागि गर्भवतीलाई अस्पतालमा पठाउने क्रम बढेको छ । अस्पतालमा सबैभन्दा बढी सोरु, मुगमकार्मारोङ गाउँपालिका र छायाँनाथरारा नगरपालिकाका गर्भवतीले प्रसूति सेवा लिइरहेका छन् । उनले रक्तसञ्चार केन्द्र नहुँदा शल्यक्रियामा समस्या भइरहेको गुनासो गरे । ‘रगतका लागि सुरक्षाकर्मीलाई गुहार्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘बिरामी बचाउन कहिलेकाहीँ स्वास्थ्यकर्मीले नै रक्तदान गर्ने गरेका छौं ।’


पूर्वाधारको अभाव भएपछि जिल्ला अस्पतालमा नयाँ भवन निर्माण भइरहेको छ । कोरिया सरकारको ४५ करोड रुपैयाँ सहयोगमा सुविधासम्पन्न अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । चालु आर्थिक वर्षभित्रै नयाँ भवनबाट उपचार सुचारु गर्ने अस्पतालको योजना छ ।

प्रकाशित : माघ १३, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?