१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

वर्षाले धान उत्पादन बढ्यो

चाँदनी कठायत

(वीरेन्द्रनगर) — गत वर्षको तुलनामा कर्णाली प्रदेशमा धान उत्पादनमा वृद्धि भएको छ । कर्णाली प्रदेशको कृषि निर्देशनालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष ८ सय ८८ मेट्रिक टन बढी धान उत्पादन भएको हो ।

गत वर्ष १ लाख ७१ हजार ६ सय ६६ मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष एक लाख ७२ हजार पाँच सय ५४ टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका बागवानी विकास अधिकृत भक्तिराम शर्माले वर्षा र सिँचाइ सुविधाले यो वर्ष धान उत्पादन बढेको जानकारी दिए । उनले अनुकूल मौसम र उन्नत जातको धानको बीऊ प्रयोग बढ्दै गएपछि धान उत्पादन बर्सेनि बढिरहेको जानकारी दिए । ‘धान उत्पादन बढेसँगै कर्णाली खाद्यान्नमा आत्मनिर्भर बन्ने दिशामा अगाडि बढेको छ,’ उनले भने, ‘कृषीमैत्री योजना निर्माणलाई प्राथमिकता दिएपछि अन्य बालीको उत्पादन पनि बढिरहेको छ ।’


रासायनिकभन्दा प्रांगारिक मलको प्रयोग बढेपछि धानको उत्पादन बढेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार कर्णालीको सबैभन्दा बढी सुर्खेतमा धान उत्पादन भएको छ । गत वर्ष ५० हजार ८ सय ८३ मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष १३ हजार ५ सय २ हेक्टर क्षेत्रफलमा ५१ हजार ५ सय ६७ मेट्रिक टन धान उत्पादन भएको छ । सबैभन्दा कम हुम्लामा ७ सय ९६ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष हुम्लामा ७ सय ६३ टन धान फलेको थियो ।


सल्यानमा ७ हजार ७८ हेक्टर क्षेत्रफलमा २९ हजार ३ सय, रुकुम पश्चिममा ७ हजार ८० हेक्टर क्षेत्रफलमा २८ हजार ९ सय र जाजरकोटमा ३ हजार ७० हेक्टर क्षेत्रफलमा ९ हजार ९ सय ७१ मेट्रिक टन धान उत्पादन भएको छ । निर्देशनालयका अनुसार डोल्पामा ५ सय ८३, कालीकोटमा ७ हजार ७ सय, जुम्लामा ५ हजार ७ सय र मुगुमा ६ हजार ३ सय टन धान उत्पादन भएको छ ।

यस वर्ष दैलेख, डोल्पा र जाजरकोटमा भने धान उत्पादनमा कमी आएको छ । ३ जिल्लामा समयमै पानी नपरेकाले ढिलो गरी रोपाईँ भएको थियो भने रोपाइँपछि पशस्त पानी परेन । ‘वर्षा र मौसमले साथ दिनुका साथै उन्नत जातको धान रोपेका कारण पनि धान उत्पादन बढेको हो,’ शर्माले भने, ‘कर्णाली प्रदेशलाई अर्गानिक बनाउने अभियानले पनि उत्पादन बढेको देखिएको छ ।’ उनका अनुसार कर्णालीमा मनसुली, राधान, हाइब्रिड, सेहरान, चन्दननाथ, खुमलालगायत धान खेती गरिन्छ ।


भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले धान खेतीमा भित्रिएको प्रविधिले पनि उत्पादन बढाउन मद्दत गरेको बताए । उनले कर्णालीमा स्थानीय जातका धान उत्पादनलाई प्रोत्साहन गरिएको जानकारी दिए ।

प्रकाशित : माघ १३, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?