१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महिलाको अगुवाइमा खानेपानी

२८ लाख बजेटको योजनाअन्तर्गत माडेगाउँका ४५ घरधुरीमा पानी पुर्‍याइँदै छ । यसैका लागि उनीहरु हरेक दिन पाइपलाइन खन्न, ढुंगा बोक्न र ट्यांकी बनाउन खटिन्छन् ।
तुलाराम पाण्डे

(नरहरिनाथ, कालीकोट) — नरहरिनाथ गाउँपालिका–३, माडेगाउँका महिलालाई अहिले खानेपानी योजनामा काम गर्न भ्याइनभ्याइ छ । बिहानै उठेर घरपरिवारलाई खाना पकाएर गाउँमा सञ्चालन भएको योजनाको पाइपलाइन खन्ने, ट्यांकी निर्माण गर्ने र ढुंगा बोक्ने काममा उनीहरूको व्यस्तता बढेको हो ।

महिलाको अगुवाइमा खानेपानी

९ सदस्यीय निर्माण समितिमा ७ जना महिला छन् । २१ लाख २० हजार रुपैयाँको लागतमा गाउँमा खानेपानी योजनाको काम भइरहेको छ । योजनामा ५ सय मिटर पाइपलाइन खनेर ट्यांकीसम्म पाइप गाड्ने काम सकिएको छ । सम्झौताअनुसार एक ठूलो ट्यांकी, ५ धारा वितरण ट्यांकी र ४२ घरधुरीमा एक–एकवटा धारा निर्माण गरिनेछन् । खानेपानी पुगेपछि माडेगाउँलाई पूर्ण सरसफाइयुक्त नमुना गाउँ घोषणा गर्ने योजना छ । ‘समितिको अगुवा आफै भएपछि सबै काम गर्नै पर्‍यो,’ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी अध्यक्ष दुर्गादेवी उपाध्यायले भनिन्, ‘पुरुषले महिला अध्यक्ष भएको मनबाटै स्वीकार्न सकेका छैनन् ।’ घरमा ट्युमरले थलिएका अपांग पति दशरथलाई स्याहारसुसार गरेर उनी दैनिक निर्माणको काममा जुटिरहेकी छिन् ।


नरहरिनाथमा महिला अध्यक्ष भएको यो पहिलो समिति हो । सचिवमा २५ वर्षीया हरिशोभा उपाध्याय र कोषाध्यक्ष कोइलादेवी उपाध्याय छन् । महिलाले नेतृत्व गरेको योजनामा गाउँका पुरुषले मुखले सहयोग गर्छौं भने पनि काममा सहयोग नगरेको समितिकी सदस्य सावित्री न्यौपानेले बताइन् । ‘जिते बजारबाट पाइप बोक्न पनि पुरुष गएनन्,’ उनले भनिन् ‘गाउँमै पानीको ट्यांकी बनाउन जान्ने सिपालु मिस्त्री भए पनि उनीहरूले महँगो दररेट मागेपछि बाहिरबाट मिस्त्री ल्यायौं ।’ उनका अनुसार जिल्ला दररेट प्रतिदिन ८ सय रुपैयाँ भए पनि स्थानीयले १ हजार २ सय रुपैयाँ मागेर असहयोग गरेका थिए ।


समितिले जेठ मसान्तसम्म आयोजना सक्ने सम्झौता गरेको छ । स्थानीयले प्रतिघरधुरी ५ हजार रुपैयाँ लगानी गर्नेछन् । पाइप ढुवानी र पाइपलाइन खनेवापत १ लाख ५० हजार रुपैयाँ समितिको खातामा आएर समुदायमा वितरण गरिसकेको कोषाध्यक्ष उपाध्यायले बताइन् । नरहरिनाथ–४, अदेलागाउँको पोखरी निर्माण उपभोक्ता समितिमा पनि यसपटक सचिव र कोषाध्यक्ष महिला रहेको वडाध्यक्ष नरबहादुर बोगटीले बताए । जिल्लाकै पहिलो खुला दिसामुक्त गाविस बनेको साविकको कुमालगाउँमा हेल्भेटासको सहयोगमा हुरेन्डेक नेपालले ‘एक घर, एक धारा अभियान’अर्न्तगत खानेपानी योजना सञ्चालन गरेको हो ।


सधैं महिलाले अवसर पाएनन् भन्ने गुनासो आउन थालेपछि खानेपानी तथा सरसफाइ योजनाको जिम्मा महिलालाई दिइएको गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए । उनले महिला संलग्न भएको योजना पारदर्शीर् हुने भन्दै काम गुणस्तरीय हुने दाबी गरे । ‘सुरुमा त पुरुषले नै दाबी गरेका थिए,’ उनले भने, ‘महिलाले हामी रहन पाउनुपर्छ भनेर दाबी गरेपछि बल्लबल्ल सहमति भएको हो ।’ गाउँपालिकाले एक वर्षअघि जलकचहरीमा उपभोक्ता समितिमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व गर्ने प्रतिबद्धता गरिएको जानकारी दिए ।

प्रकाशित : माघ १२, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?