कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३९ लाखको श्रमदान, घरघरमा धारा

विप्लव महर्जन

(सल्यान) — कपुरकोट गाउँपालिका–१, उनबाङकी ४५ वर्षीया डिलसरी रावतलाई एक वर्षअघि डेढ घण्टा टाढाको मुहानमा गई खानेपानी ल्याउनुपर्ने बाध्यता थियो । गाउँमा लिफ्ट खानेपानी पुगेपछि अब सास्ती हटेको छ । गाउँमा खानेपानी ल्याउन स्थानीयले ३८ लाख ८५ हजार रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

आयोजनाको लागि कादुरी एग्रिकल्चर एसोसियसन र ब्रिटिस गोर्खा नेपालको १ करोड रुपैयाँ लगानी गरेका छन् । ७४ घरका स्थानीयले आफ्नो तर्फबाट साढे दुई महिनासम्म श्रमदान गरेका रावतले बताइन् । गाउँ नजिकैका मुहान सुकेपछि स्थानीयले पानीका लागि ठूलो सास्ती भोग्नुपरेको उनको भनाइ छ । ‘गाउँको मुहान सुक्यो, महँगो रकम खर्च हुने भन्दै तल खोलाबाट डाँडाको बस्तीमा पानी ल्याउन कसैले चासो दिएनन्,’ उनले भनिन्, ‘जसका कारण हामीले लामो समय खानेपानी संकट भोग्नुपर्‍यो ।’ खानेपानी समस्याकै कारण गाउँका अधिकांश महिलामा ढाडको समस्या रहेको उनले जानकारी दिइन् । उनका अनुसार अहिले सरसफाइ काममा हुन थालेको छ भने वर्षौंदेखि अलपत्र परेका शौचालय प्रयोगमा आएका छन् । खानेपानी सुविधा भएपछि जनजीवन सहज बनेको उनको भनाइ छ ।


आधा जीवन खानेपानी बोक्दैमा बितेको ४५ वर्षीया पानसरी दमाईले गुनासो गरिन् । ‘पानीकै अभावले महिला र बालबालिकाले धेरै सास्ती भोग्यौं,’ उनले भनिन्, ‘अहिले बालबालिकाको पढाइ नियमित बनेको छ, खानेपानी बोक्न खर्च हुने समयलाई अन्य घरायसी कामकाजमा लगाएका छौं ।’ एक घर, एक धाराको सपना बल्ल पूरा भएको स्थानीय धनवीर खड्काले सुनाए । ‘घरघरै खानेपानी सुविधा पुगेपछि बचेको पानी करेसाबारीमा प्रयोग गर्न थालेका छौं,’ उनले भने, ‘अहिले गाउँमा तरकारी खेती गर्ने लहर चलेको छ ।’ उनका अनुसार स्थानीयले आयोजनामा ७५ दिनसम्म श्रमदान गरेका थिए ।


अहिले रिजर्व ट्यांकीमा आठ सेकेन्डमा १० लिटर पानी जम्मा भइरहेको छ । कपुरकोट गाउँपालिका–१ का वडाध्यक्ष बालाराम खड्काले पाँच सय चार मिटर तलको धारापानीबाट गाउँमा पानी तानिएको बताए । उनका अनुसार मुहानमा १२ हजार लिटर क्षमताको पम्प हाउस निर्माण गरिएको छ । उनले आठ हजार र १४ हजार लिटर क्षमताका दुई ट्यांकी निर्माण गरी घरघरमा पानी पुर्‍याइएको जानकारी दिए ।

प्रकाशित : माघ १२, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?