१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

५६ लाखको दूध जिल्लाबाहिर

हरि गौतम

(रुकुम पश्चिम) — जिल्लाका विभिन्न गाउँबाट ५६ लाख रुपैयाँको दूध जिल्लाबाहिर गएको छ । बाँकेको कोहलपुरस्थित दुग्ध विकास संस्थानको दुग्ध आयोजनामा एक वर्षदेखि जिल्लाको दूध पुगिरहेको छ ।

५६ लाखको दूध जिल्लाबाहिर

मुसीकोट नगरपालिका–४ को नागरिक दुग्ध सहकारी संस्थाले दूध र दुधजन्य पदार्थ जिल्लाबाहिर पठाइरहेको हो । गत वर्षको पुस महिनादेखि सहकारीले दूध खरिद गरी कोहलपुर पठाइरहेको छ । यही अवधिमा सहकारीले ७७ लाख ५४ हजार रुपैयाँको दूध र दुग्धजन्य वस्तु बिक्री गरेको छ । किसानको घरघर पुगेर सहकारीले दूध खरिद गरी स्थानीय बजार हुँदै कोहलपुरसम्म बिक्री गरिरहेको छ । किसानबाट ६१ लाख ४ हजार रुपैयाँको दूध खरिद गरिएको सहकारीले जनाएको छ ।


सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएपछि सहकारीले दूध संकलन तथा बिक्री वितरण थालेको थियो । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७९ लाख ९९ हजार अनुदान र सहकारीको ६० लाख ५६ हजार रुपैयाँको लगानीमा चिस्यान केन्द्र स्थापना गरिएको थियो । सहकारीका अध्यक्ष धिरन सेर्पालीले दूधसहित घिउ, पनिर, छुर्पी र खुवा जिल्लाबहिर गइरहेको जानकारी दिए । उनका अनुसार सहकारीमा मुसीकोट नगरपालिका, त्रिवेणी र सानीभेरी गाउँपालिकाका विभिन्न टोलका किसानले दूध बिक्री गरिरहेका छन् । किसानबाट ४५ रुपैयाँमा खरिद गरिरहेको सहकारीले ५० रुपैयाँ दूध बिक्री गरिरहेको हो । सहकारीले एक लिटर दूधबाट दुध संकलक समूह तथा सहकारीलाई तीन रुपैयाँ तिरिरहेको जनाएको छ ।


हरेक बिहान सहकारीको गाडीले गाउँ पुगेर दूध संकलन गरिरहेको छ । ‘चिस्यान केन्द्र स्थापनापछि हामीलाई धेरै सजिलो भएको छ,’ मुसीकोट नगरपालिका–१३ का किसान नारायण खड्काले भने, ‘हामीले जति दूध उत्पादन गरे पनि अब बजारको समस्या रहेन ।’ उनका अनुसार सहकारीले नै हरेक संकलन केन्द्रमा फ्रिज तथा दूध संकलनका लागि मिल्क क्यान उपलब्ध गराएको छ ।


सहकारीका ३ सय ७ शेयर सदस्य छन् । मन्त्रालयको थप अनुदानमा चिस्यान केन्द्रलाई व्यवस्थित बनाउन लागिएको सेर्पालीले बताए । उनका अनुसार मन्त्रालयको ६८ र सहकारीको ३२ प्रतिशत लगानीमा यस वर्ष चिस्यान केन्द्र थप व्यवस्थित बन्दैछ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कृषि तथा पशुजन्य उत्पादन र बिक्री वितरणमार्फत पनि कर्णालीको विकासमा टेवा पुगिरहेको बताइन् । ‘जसले जति काम गर्न सक्छ उसले अनुदान पाउँछ,’ प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी उनले भनिन्, ‘आफूले पनि लगानी गरेको खण्डमा उसैलाई अनुदान दिएर हौसला दिने कार्यक्रम बनाइएको छ ।’ विभिन्न कृषि तथा पशु कार्यक्रममा अनुदानको साथै ऋणको प्रावधान पनि राखिएको उनले जानकारी दिइन् ।

प्रकाशित : माघ ११, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?