१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लहडमा क्याम्पस : पूर्वाधार न विद्यार्थी

एउटा विद्यालयका विद्यार्थीलाई आधार मानेर गाउँगाउँमा क्याम्पस खोलिएका छन्
हरि गौतम

रुकुम पश्‍चिम — आठबीसकोट नगरपालिका–९ राडीमा राडीज्युला शिक्षा क्याम्पस सञ्चालनमा छ । शिक्षा संकायतर्फ स्नातक तह पठनपाठन हुने क्याम्पसमा ३ सय ५० विद्यार्थी भर्ना भएका छन् । तर १५ देखि २० जना मात्र नियमित क्याम्पस आउँछन् । त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा ०६९ मा स्थापना गरिएको सिम्रुतु क्याम्पस सधैं सुनसानप्रायः रहन्छ । करिब ६ सय विद्यार्थी भर्ना भएको क्याम्पसमा कक्षामा नियमित उपस्थित हुने विद्यार्थीको संख्या मुस्किलले ३० हुन्छ । 

लहडमा क्याम्पस : पूर्वाधार न विद्यार्थी

जिल्लामा सञ्चालित अरू छ क्याम्पसको अवस्था पनि उस्तै छ । विद्यार्थी भर्ना हुने तर नियमित पढ्न नआउने । शिक्षक तथा कर्मचारी प्रायः फुर्सदिला बन्छन् । मुसीकोटमा मुसीकोट–खलंगा बहुमुखी र रुकुमेली क्याम्पस, चौरजहारीमा शीतल र जहारी क्याम्पस छन् । आठबीसकोटमा राडीज्युला शिक्षा, त्रिवेणीमा सिम्रुतु, सानीभेरीमा सानीभेरी शिक्षा र बाँफिकोटमा स्यार्पु बहुमुखी क्याम्पस छन् । जिल्लामा मुसीकोट–खलंगा र शीतल क्याम्पस ०६३ पछि मात्र सञ्चालनमा आएका हुन् । एउटा विद्यालयका विद्यार्थीलाई आधार मानेर गाउँगाउँमा क्याम्पस खोलिएका कारण विद्यार्थी नियमित हुन नसकेका हुन् ।

सानीभेरी शिक्षा क्याम्पसका प्रमुख भागिराम भण्डारीले भने अधिकतर विद्यार्थी भर्ना भएर एकैचोटि परीक्षामा आउने गरेको बताए । क्याम्पसको संरचनाले पुगे पनि विद्यार्थी नियमित नहुँदा पठनपाठन प्रभावकारी हुन नसकेको स्रिमुतु क्याम्पसका सहायक क्याम्पस प्रमुख सूर्यविक्रम खड्का बताउँछन् । भर्ना भएका सबै विद्यार्थी नआएपछि ४ कोठाबाट भए पनि क्याम्पस चलेको उनको भनाइ छ । ‘अन्य काममा संलग्न भएकाहरू भर्ना हुन्छन् र परीक्षामा आउँछन्,’ उनले भने, ‘पढ्न आउनेलाई ४ कोठा काफी छन् ।’


माध्यमिक विद्यालयको भरमा क्याम्पस

मुसीकोट–खलंगाबाहेक अरू सबै क्याम्पस विद्यालयमा निर्भर छन् । शीतल क्याम्पस शीतल माविलाई आधार मानेर स्थापना गरिएको हो । क्याम्पसमा ५ सयभन्दा बढी विद्यार्थी भर्ना भएका छन् ।


राडीज्युला शिक्षाको आफ्नै ४ कोठाको भवन भए पनि क्याम्पस बालकल्याण माविमा निर्भर छ । त्रिवेणी माविलाई आधार मानेर खोलिएको सिम्रुतु क्याम्पसको आफ्नै ८ कोठाको भवन बन्दै छ । ४ कोठा मात्रै प्रयोगमा छन् । अरू प्रयोजनमा त्रिवेणी माविको भर नपरी सम्भव छैन ।

राप्ती ज्ञानेदय माविको उपज सानीभेरी शिक्षा क्याम्पस हो । यसको भौतिक संरचना छ तर पुगेको छैन । हिमालय उच्च मावि, खोलागाउँको भौतिक संरचना उपयोग गरेर जहारी क्याम्पस परनिर्भर छ । त्यस्तै वीरेन्द्र माविकै शिक्षक र अभिभावकको पहलमा खोलिएको स्यार्पु बहुमुखी क्याम्पस पनि अझै आत्मनिर्भर बन्न सकेको छैन । त्रिभुवन जनता माविको भौतिक संरचना प्रयोग गरिरहेको रुकुमेली क्याम्पसको आफ्ना नाममा कुनै भौतिक संरचना छैन ।


०३७ मा स्थापना भएको मुसीकोट खलंगा क्याम्पस मात्र अहिले आफ्नै संरचनामा छ । सुरुमा यो पनि त्रिभुवन जनता माविलाई नै आधार मानेर खोलिएको थियो । कागजमा बाहेक सबै क्याम्पसले मापदण्ड पूरा गर्न सकेका छैनन् ।


आंशिक अध्यापकको भर

यहाँका अधिकतर क्याम्पसमा आंशिक अध्यापक छन् । मुसीकोट–खलंगा, शीतल र रुकुमेली क्याम्पसबाहेक अरू ५ क्याम्पसका प्रमुख नै पूर्णकालीन छैनन् ।


बालकल्याण माविको सामाजिक विषयका स्थायी शिक्षक नयना चन्द राडीज्युला शिक्षाका प्रमुख छिन् । वीरेन्द्र माविका निमावि तहका शिक्षक तिलक पुन बेतलबी बिदामा स्यार्पु बहुमुखी क्याम्पसको प्रमुख छन् । हिमालय माविको प्लस टुको दरबन्दीका सुदर्शन शाहले जहारी क्याम्पस, राप्ती ज्ञानोदय मावि सिम्लीका प्ल टुको दरबन्दीका भागिराम भण्डारीले सानीभेरी शिक्षा क्याम्पस र त्रिवेणी माविको प्लस टुको दरबन्दीकी चन्द्रा ओलीले सिम्रुतु क्याम्पसको नेतृत्व गरिरहेकी छन् ।

मुसीकोट–खलंगा बहुमुखी क्याम्पसबाहेक अन्य ७ क्याम्पसमा अध्यापक पूर्णकालीन कम र आंशिक धेरै छन् । कुनै क्याम्पसका १ र २ जना मात्र पूर्णकालीन छन् । स्नातकको ४ वर्षे कोर्सका विषय अध्यापनका लागि पूर्णकालीन र आंशिक गरी ३० जनासम्म अध्यापकको नाम छ । मुसीकोट खलंगा बहुमुखी क्याम्पस अघिल्लो वर्षदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक बनेको छ भने अरू सबै क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त क्याम्पस हुन् । क्याम्पस जागिरे पढ्ने थलोमा रूपान्तरण भइसकेको स्थानीय कमल केसीले बताए । ‘विभिन्न जागिरमा रहेका तथा विभिन्न प्राविधिक विषय पढिरहेकाको सर्टिफिकेट लिने थलो मात्रै क्याम्पस भइरहेका छन्,’ उनले भने, ‘भर्ना भयो, परीक्षा दियो, सर्टिफिकेट लियो ।’ उनका अनुसार भर्ना भएका मध्ये धेरै नआउने भएपछि आउन चाहने विद्यार्थी पनि नियमित क्याम्पस आउँदैनन् ।


आन्दोलनका भरमा क्याम्पस खोलिएपछि उच्च शिक्षाको महत्त्व नै घटेको जस्तो भएको मुसीकोट खलंगा बहुमुखी क्याम्पसका प्रमुख मुकुन्दप्रसाद शर्मा बताउँछन् । साविक रुकुम हुँदा जिल्लामा तीन क्याम्पस थिए । खलंगामा, चौरजहारीमा र रुकुमकोटमा यी क्याम्पस जिल्लाका लागि पर्याप्त भए पनि पछिल्लो पटक खुलेका क्याम्पस जिल्लाका लागि बढी नै भएको उनको बुझाइ छ । यसबाट शैक्षिक क्षेत्रमा ठूलो क्षति हुने क्याम्पस प्रमुख शर्माले बताए ।

‘सर्टिफिकेट लिने कुरा मात्रै शैक्षिक क्षेत्रमा ठूलो क्षति हुने सम्भावना छ,’ क्याम्पस प्रमुख शर्माले भने, ‘२/४ वर्ष यसरी चले पनि यसबाट धेरै आश गर्ने ठाउँ देखिँदैन ।’ नियमित पठनपाठनका लागि विद्यार्थी नआउने भएपछि सेमेस्टर प्रणालीमा असर भइरहेको उनले गुनासो पोखे ।

‘अधिकांश विद्यार्थी लोकसेवाको तयारीमा हुन्छन्, उनीहरूको करिअरका लागि राम्रो हो,’ शर्माले भने, ‘तर मुख्य आर्जन गर्नुपर्ने ज्ञान छाडेर साइडमा लाग्ने कुराले अरू क्षेत्रमा समस्या हुने देखिन्छ ।’

प्रकाशित : माघ १०, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?