१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सुन्तलाबाट गाँवै आत्मनिर्भर

विप्लव मर्हजन

सल्यान — छत्रेश्वरी गाउँपालिका–५, चोरपानीका ५६ वर्षीय दीपेन्द्रप्रकाश कवर जीविकोपार्जनमा समस्या भएपछि मजदुरीका लागि लामो समय भारतका विभिन्न ठाउँमा भौतारिए । भारतमा पाएको दुःख छोडेर केही वर्ष तरकारी खेती गरेका उनी २०५० सालदेखि सुन्तला खेतीमा रमाइरहेका छन् । उनकै प्रेरणामा अहिले चोरपानीका सबै घरधुरीमा सुन्तला खेती भइरहेको छ ।

सुन्तलाबाट गाँवै आत्मनिर्भर

कवरले कृषि विकास बैंकबाट २६ हजार रुपैयाँ ऋण लिई अन्नबाली लगाउने जग्गामा सुन्तलाखेती सुरु गरेका हुन् । अहिले उनको २६ रोपनी जग्गामा करिब ६ सय सुन्तलाका बोटले उत्पादन दिइरहेका छन् । उनको वार्षिक आम्दानी १० लाख रुपैयाँसम्म छ ।


अहिले गाउँका ७५ घरधुरीमा ३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । चोरपानीमा ७/८ रोपनी जग्गामा सुन्तला खेती नगर्ने परिवार छैनन् । अधिकांशका १ सय बढी बोटले अहिले उत्पादन दिइरहेका छन् । चोरपानी पछिल्लो समय ‘सुन्तला–गाउँ’ को रुपमा परिणत भएको छ । एक दसकअघिसम्म मजदुरीका लागि भारत जानेहरू अहिले सुन्तला खेतीमै रमाइरहेको कवर बताउँछन् । ‘२६ वर्षअघि मलाई नै गाली गर्नेहरू मेरै प्रेरणाबाट व्यावसायिक सुन्तलाखेतीमा रमाइरहेका छन्,’ उनले भने, ‘गाउँले सबै मेरो बाटोमा हिँडेको देख्दा खुसी लाग्छ, सुन्तलाले सबैलाई आत्मनिर्भर बनाएको छ ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार गाउँबाट यस वर्ष करिब ४० लाख रुपैयाँको सुन्तला बाहिरिएको छ । सुन्तलाबाट बर्सेनि ८ लाख रुपैयाँ आम्दानी गर्दै आएको स्थानीय बेलबहादुर घर्तीले बताए । उनले १३ रोपनी जग्गामा ५ सय बढी सुन्तलाका बोट लगाएका छन् । ‘उहाँ (कवर)कै योगदानले सबै किसानका पाखा जग्गा हरियाली बनेका छन्,’ उनले भने, ‘स्थानीयले गाउँमै रोजगारी पाएका छौं, जिल्लाबाहिर सुन्तलाको माग बढिरहेको छ ।’


भाउ बर्सेनि बढ्दै गएपछि सबै किसानले क्रमशः खेतीलाई विस्तार गरिरहेका छन् । कवरकै प्रगति देखेर आफूले ४ रोपनी जग्गामा सुन्तला लगाएको स्थानीय रिमबहादुर खड्काले बताए । उनको बारीमा करिब २ सय सुन्तलाका बोट रोपेका छन् । ‘सुन्तलाकै कारण गाउँको मुहारै फेरिएको छ, हामीले पढ्न नपाएपछि छोराछोरीले उच्च शिक्षा हासिल गरिरहेका छन्,’ उनले भने, ‘बजारको अभाव नभएपछि बर्सेनि व्यवसाय वृद्धि गर्न हौसिएका छौं ।’ सुन्तलाकै कमाइले कच्ची घरलाई पक्की बनाएको र वार्षिक ३ लाखसम्म बचत गरिरहेको उनी बताउँछन् ।

स्थानीय विमला थापाले सरकारी सहयोग थपिए गाउँको आर्थिक विकासले फड्को मार्ने बताइन् । ‘गाउँमा अन्नबाली लगाउन छोडेको धेरै भयो, परम्परागत अन्नबाली लगाउँदा खान नपुग्नेहरू लाखौं रुपैयाँ आम्दानी गर्न सफल बनेका छौं,’ उनले भनिन्, ‘सुन्तलाले नै हामीलाई सबथोक पुर्‍याएको छ, घर व्यवहार सजिलै चलेको छ, छोराछोरीले उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।’ कृषि विकास कार्यालयको तथ्यांकअनुसार सल्यानमा २ हजार हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । सुन्तला आयआर्जनको राम्रो माध्यम बनेको कृषि विकास अधिकृत महेश आचार्यले बताए । उनका अनुसार जिल्लाबाट वार्षिक १७ करोड रुपैयाँ बढीको सुन्तला बाहिर गइरहेको छ । उनले सुन्तला खेतीबाटै जिल्लाभरिका २ हजार किसान आत्मनिर्भर बनेको जानकारी दिए ।

प्रकाशित : माघ ९, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?