औपचारिकतामा सीमित बडघर प्रथा

भवानी भट्ट

(कञ्चनपुर) — गाउँलेको आग्रह र नयाँ व्यक्ति अघि नसर्दा सीता डगौंरा लगातार तेस्रोपटक बडघर चुनिइन् । वेदकोट नगरपालिका–७, मन्दिरपुरकी सीतालाई यसपटक बडघर हुने इच्छा थिएन । तर, माघीको दोस्रो दिन गाउँलेले उनलाई सर्वसम्मत पुनः बडघर बनाए । ‘पहिलेजस्तो सबैले भनेको मान्दैनन्,’ ३८ वर्षीया सीताले भनिन्, ‘विगतको जस्तो मानसम्मान पनि छैन, अहिले बडघर हुन पनि कमै रुचाउँछन् ।’

गाउँमा हुने विवाह, व्रतबन्ध वा अन्य शुभकार्यका लागि गाउँलेहरू सबै जुट्नुपर्छ । त्यसका लागि बडघरले चौकिदारमार्फत सबैलाई बोलाएर कामको जिम्मेवारी तोक्छन् । दाउरा चिर्ने, पात टिप्ने, निम्तो बाँड्ने र कसैलाई लिपपोत तथा सरसफाईको काम दिन्छन् ।


यस्तोमा हरेक घरबाट एकजना उपस्थित हुनैपर्ने नियम थियो । तर, अहिले चौकिदारलाई १० पटकसम्म पठाउँदा पनि सबै नआउने गरेको उनले गुनासो गरिन् ।


माघी पर्व सकिएसँगै अधिकांश थारु गाउँमा बडघर छान्ने काम पनि सकिएको छ । बडघरका रुपमा केही गाउँमा पुरानै अनुहार दोहोरिएका छन् भने केहीमा नयाँ अनुहार पनि आएका छन् । परम्परागत यो चलन चलिरहे पनि बडघर छान्नेदेखि नेतृत्व लिने लगायत गतिविधिमा चासो घट्दै गएको छ । केही वर्ष अघिसम्म ग्रमीण भेगमा सडक निर्माणदेखि कुलो खन्ने र मठमन्दिर निर्माणका काममा बडघरकै निर्देशनमा स्थानीयले श्रमदान गर्थे ।


काममा खटिएपछि सकेसम्म सबै अन्तिमसम्मै जुट्थे । तर, अहिले यस्तो काममा बडघरले बोलाउँदा धेरै त आउँदै आउँदैनन्, आएकाले पनि अल्छिपना देखाउँछन् । कतिपयले बालबालिका पठाइदिन्छन् । ‘यसपाला त हामीले माघीकै दिन सार्वजनिक कार्यक्रम वा भोजभतेरको काममा घरमुली नै उपस्थित हुनुपर्ने निर्णय गरेका छौं,’ २०४० देखि निरन्तर बडघर रहंँदै आएका वेदकोट–९, लालपुरका धीरेन्द्र डगौंराले भने । उनका अनुसार पछिल्लो समय राजनीतिक आस्थाका आधारमा समाज नै विभाजित हुँंदा त्यसको असर बडघर छान्ने परम्परा र उनीहरूको भूमिकामा समेत परेको छ । थारु समुदायमा झैझगडादेखि सानातिना विवाद सबै बडघरले नै मिलाउने गर्थे । सामाजिकसँगै न्यायिक कामसमेत बडघरकै जिम्मामा हुन्थ्यो ।


अहिले सामान्य झगडाको विषय पनि प्रहरी र अदालतसम्म पुग्ने गरेको धीरेन्द्र बताउँछन् । ‘प्रथामा आधारित न्याय प्रणाली थियो, अहिले त्यो छैन,’ बडघर भलमन्सा मटोवा महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका धीरेन्द्रले भने, ‘संगठित समाज निर्माणमा बडघर भलमन्साहरूको ठूलो भूमिका छ, यसलाई सरकारले पनि कुनै न कुनै स्थान दिनुपर्छ ।’


०७३ मा बर्दियामा भएको देशभरका बडघर भलमन्सा र मटोवाहरूको भेलाले राज्य प्रणालीमै भूमिका दिनुपर्ने माग गरेको थियो । समाजलाई एकतावद्ध बनाउन, नेतृत्व गर्न र संस्कृति जोगाउनसमेत बडघर लगायतको भूमिका आवश्यक रहेको निष्कर्ष निकालिएको डगौंराले सुनाए ।


विगतमा धेरैजसोको मुख्य पेसा कृषि थियो । सिजनबाहेकको समयमा सबै खाली हुन्थे । अधिकांश अशिक्षित थिए । हिजोआज व्यापार, व्यवसायसँंगै अन्य काममा समेत थारु समुदाय लागिपरेका छन् । शिक्षाको स्तर उकासिएको छ । विगतको जस्तै समय दिन नसक्ने भएकाले पनि बडघरलाई नटेरेको जस्तो देखिएको वेदकोट–७, वसन्तपुरका बडघर कृष्ण बहादुर चौधरीले बताए ।


‘समाजलाई एकतामा बाँध्न हिजो पनि बडघरको भूमिका थियो, आज पनि छ,’ उनले भने । यहाँ विगतजस्तो ठूला थारु गाउँ छैनन् । थारु गाउँमा पहाडी समुदायको बसोबास बढ्दो छ । फरक समुदाय हुँदा उर्दी जारी गर्न मिल्दैन । त्यसकारण यसलाई अझै सशक्त र प्रभावकारी बनाएर लैजानुपर्ने धीरेन्द्र सुझाउँछन् ।

प्रकाशित : माघ ७, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?