१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

हिमपातले चुलियो महँगी, चिनी प्रतिकिलो २ सय ५०

(हुम्ला) र (मुगु) — लामो हिमपातको कारण हवाइसेवा अवरुद्ध हुँदा हुम्ला सदरमुकाम सिमकोटमा महँगी र दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । उडान अनिश्चित हुँदा सदरमुकाम सिमकोटमा तरकारी, खाद्यान्नलगायत दैनिक उपभोग्य अभाव चुलिएको हो । 

हिमपातले चुलियो महँगी, चिनी प्रतिकिलो २ सय ५०

सडक सञ्जालले नजोडिएको हुम्लाका लागि हवाइसेवा एकमात्र विकल्प हो । जहाज नचल्दा स्थानीय व्यापारीले सुर्खेत र नेपालगन्जदेखि सामान ढुवानी गर्न सकेका छैनन् । ढुवानी ठप्प भएपछि व्यापारीले सामानको मुल्य १० देखि २५ प्रतिशतसम्म बढाएका छन् । सिमकोट बजारमा चिनी प्रतिकिलो २ सय ५०, तेल प्रतिलिटर १ सय ६०, २५ किलोग्रामको चामलको बोरा ४ हजार ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ । स्थानीयका अनुसार इन्धन प्रतिलिटर ३ सय रुपैयाँ, चाउचाउ प्रतिप्याकेट ३० रुपैयाँ र नुहाउने सावुनको मुल्य ७० रुपैयाँसम्म पुगेको छ । मुल्य दैनिक बढ्दै गएपछि गुजारा चलाउन समस्या भएको सिमकोट गाउँपालिका–८ की लीता परियारले बताइन् । ‘महँगी र अभावले साँझ–बिहान चुलो बाल्न समस्या भएको छ,’ उनले भनिन्, ‘व्यापारीले जहाज नचलेको निहुँमा सामानको मुल्य बढाइरहेका छन् ।’ हिमपातका कारण सिमकोटलगायत ग्रामीण क्षेत्रको जनजीवनसमेत कष्टकर बनेको उनले बताइन् ।


स्थानीय व्यापारीले हिमपातअघि नै सुर्खेत र नेपालगन्जबाट प्रतिकिलो एक सय २० देखि एक सय ३० रुपैयाँ ढुवानी शुल्क तिरेर सामान ढुवानी गरेका थिए । हिमपातपछि अधिकांश पसलमा दैनिक उपभोग्य सामानको मौज्दात सकिएको पानस सपिङ सेन्टरका सञ्चालक सरोज रावतले बताए । ‘प्लेन (जहाज) कहिले आउँछ भन्ने नै अन्यौल छ,’ उनले भने, ‘भएको सामान सकिँदै गएको छ, अभावका कारण केही सामानमा मुल्यबृद्धि गर्नुपर्ने बाध्यता भएको हो ।’


हिमपातका कारण नाम्खा गाउँपालिका र अन्य गाउँबीच सम्बन्धविच्छेद भएको छ । हिमपातले ग्रामीण क्षेत्रमा आउजाउ गर्ने बाटो पुरेपछि सदरमुकाम एक सातायता सुनसान छ । गाउँबाट सिमी, साग, आलु, फापर, कोदोलगायत खाद्यान्न र तरकारी ढुवानी हुन नसकेपछि अभाव चुलिएको स्थानीयको गुनासो छ । हिमपातका कारण हवाइसेवा अवरुद्ध हुँदा अभाव बढ्दै गएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । ‘दुई पटकसम्म हिउँ पन्छाएर जहाज खुलायौं, फेरि हिउँ परेपछि थप समस्या भयो,’ उनले भनिन्, ‘हिमपातले तिब्बत–सिमकोट सडकसमेत अवरुद्ध भएपछि जनजीवन कष्टपूर्ण बनेको हो ।’ हिमपातकै कारण हुम्लामा दुई सातादेखि इन्टरनेट सेवा अवरुद्ध छ । इन्टरनेट बन्द हुँदा सरकारी कार्यालयदेखि बैंकिङ कारोबारमा समस्या आएको उनले जानकारी दिइन् ।


गमगढीमा समेत दैनिक उपभोग्य बस्तु ग्याँस, तेल, चामल, चिनी, मैदालगायत अभाव हुन थालेको व्यापारी बुढाले बताए । हिउँले सडक अबरुद्ध हुँदा कर्मचारी स्थानीयलाई जुम्ला, कालीकोट, सुर्खेत, नेपालगन्ज जान कठिनाइ भएको छ । हिउँले जिप नचल्दा जुम्ला गोठीज्यूला घर जान नसकेको उद्योग बाणिज्य संघका कार्यालय सचिव दान बुढाले सुनाए । अर्कोर्फ, रारा बिमानस्थलमा समेत यात्रुको चाप बढेको छ । गाडीमा २ हजारमा पुगिने सुर्खेत–नेपालगन्ज जान यात्रुले जहाजमा ६ हजार रुपैयाँ तिर्न बाध्य छन् ।


हिउँमा डुबे गाडी

कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडकमा बाक्लो हिउँ परेपछि मालबाहक गाडी हिउँमा डुबेका छन् । यसले व्यापारीलाई चिन्तित तुल्याएको छ ।


पुस १८ गतेको भारी हिमपाते गमगढी–नाग्मा सडक खण्ड अन्तर्गत मुगु र जुम्लाको सिमाना घुच्चीडाब क्षेत्रमा आधा दर्जन गाडीहरू हिउमा डुबेका छन् । नेपालगन्जदेखि समान ल्याएर आएका ट्रक हिउँमा डुबेर चल्न सक्ने अबस्था नभएपछि व्यापारीले सामान निकालेर खच्चरमार्फत गमगढी बजार पुर्‍याएका छन् । स्थानीय व्यापारी रवि रावतका अनुसार अहिले पनि ५ वटा गाडी हिउँमा डुबेका छन् ।


‘हिउँ झन् थपिँदै जान्छ, डुबेका गाडी निकाल्नै सकिएको छैन,’ उनले भने, ‘कति दिनसम्म थन्किने हुन् थाहा छैन ।’ केही मालबाहक गाडी झारनाउला क्षेत्रमा हिउँमा फसेका छन् । भारी हिमपातका कारण गमगढी–नाग्मा सडकको सातमोडदेखि घुच्चीडाबसम्मको करिब १२ किलोमिटर सडकमा बाक्लो हिउँ भएको कारण सवारीसाधन अलपत्र परेका छन् । उक्त सडक क्षेत्रमा ५ फिटभन्दा बढी हिउँ जमेको व्यापारी प्रेम बुढाले बताए । उनका अनुसार गत पुसदेखि नै गमगढी–नाग्मा सडक खण्डमा राम्रोसँग सवारी चल्न सकेका छैनन् ।


खत्याड गाउँपालिका जोड्ने गम्था–कालाकाँडा सडक पनि पुस पहिलो सातादेखि अवरुद्ध भएको छ । लामो समयसम्म सडक अवरुद्ध हुँदा गाउँपालिका क्षेत्रमा दैनिक उपभोग्य बस्तुको अभाव देखिएको गाउँपालिका अध्यक्ष उब्जन शाहीले बताए । ‘विकास निर्माणको काम पनि प्रभावित भएको छ,’ उनले भने, ‘मान्छेको दैनिकी पनि उत्तिकै कष्टपूर्ण भएको छ ।’

प्रकाशित : माघ ७, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?