१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अब सुर्खेतबाटै सवारी लाइसेन्स

ज्योति कटुवाल

(वीरेन्द्रनगर, सुर्खेत) — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न थालिएको छ । सोमबारदेखि यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र वितरण थालेको हो । 

यसअघि चालक अनुमतिपत्रका लागि बाँकेको नेपालगन्ज र काठमाडौं धाउनुपर्ने बाध्यता थियो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सवारी लाइसेन्सको फाराम भर्ने मेसिनको बटन थिचेर सेवाको उद्घाटन गरे । उनले योग्य र सक्षम चालकलाई मात्र अनुमतिपत्र दिन निर्देशन दिए । दबाव र पहुँचका आधारमा अनुमतिपत्र वितरण गर्ने व्यवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ । ‘जुनसुकै सवारी साधनको ट्रायल सिसी क्यामेराको निगरानीमा राखिनुपर्छ,’ उनले भने, ‘लाइसेन्स दिँदा व्यक्तिको दबाव र आर्थिक लालचमा नपरौं ।’ प्रदेश सरकार यातायातसम्बन्धी कानुन निर्माणको तयारीमा लागेको उनले जानकारी दिए । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र वितरण गर्ने अनुमति दिएपछि सोमबारदेखि यातायात व्यवस्था कार्यालयमा आवेदन भर्नेको घुँइचो लागेको छ । कार्यालयले सबै सवारी साधनका लागि अनुमतिपत्र दिने गरी आवेदन खुला गरिएको जनाएको छ ।


प्रमुख जिल्ला अधिकारीले चालक अनुमतिपत्रको व्यवस्थासँगै ग्रामीण सडक नियमन गर्न जरुरी रहेको बताए । ‘पुराना सवारी र जीर्ण सडकका कारण कर्णालीमा दुर्घटनाको जोखिम बढिरहेको छ,’ उनले भने, ‘डोजर पुग्ने बित्तिकै गाडी चलाउने प्रचलनलाई रोक्न सके दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ ।’


यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईंका अनुसार भने इलेक्ट्रोनिक विधिबाट ‘स्मार्ट लाइसेन्स’ वितरण गर्न लागिएको हो । उनका अनुसार आवदेन खुलेपछि पहिलो दिनमै कार्यालयमा भीड बढेको छ । उनले प्रचलित विधि र कानुनअनुसार नै अनुमतिपत्र वितरण गरिने जानकारी दिए । उनका अनुसार २ सय रुपैयाँ राजस्व बुझाएपछि कार्यालयबाटै अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको छ । ‘इलेक्ट्रोनिक विधिबाट कार्यालयमै फाराम भरिने भएकाले बाहिरबाट ल्याएका फारामबाट लाइसेन्स झिक्न पाइने छैन,’ उनले भने, ‘यो व्यवस्थामार्फत कार्यालयमा विचौलियाको प्रवेश रोकिनेछ ।’


कार्यालयले यसअघि नै अनुमतिपत्र वितरणको तयारी गरे पनि प्राविधिक कर्मचारीको अभावमा ढिलाइ भएको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार साहले करारमा प्राविधिकतर्फका कर्मचारी छनोट गरेरै भए पनि लाइसेन्स वितरणको कामलाई अन्य जिल्लामा बिस्तार गरिने बताए । ‘कर्मचारी अभावका कारण मन्त्रालयको काममा समेत समस्या भइरहेको छ,’ उनले भने, ‘कर्मचारी अभावकै कारण बजेट कार्यान्वयनमा चुनौती देखिएको छ ।’

प्रकाशित : माघ ७, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?