कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्किङ व्यवस्थित गरिँदै

हरि गौतम

(रुकुम पश्चिम) — मुसीकोट नगरपालिका–१, खलंगामा लामो समयदेखि अव्यवस्थित रहेको सवारी पार्किङलाई व्यवस्थित गर्न थालिएको छ । नगरपालिकाले बजारका विभिन्न ठाउँ र सडकमै गरिने पार्किङ हटाउन पहल थालेको छ ।

पार्किङ व्यवस्थित गरिँदै

जथाभाबी पार्किङका कारण खुला ठाउँ नै भेटाउन मुस्किल भएपछि व्यवस्थापन सुरु गरिएको नगरपालिकाले जनाएको छ । अहिले राप्ती लोकमार्गको दायाँबायाँ तथा पुष्पलालचोकमा जथाभाबी सवारी पार्किङ भइरहेको छ ।


अव्यवस्थित पार्किङको कारण बटुवासमेत समस्यामा पर्दै आएका छन् । नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष बिरबल केसीले सरोकारवालासँगको पटकपटकको छलफलपछि बजारमा हुने जथाभाबी पार्किङ हटाउन थालिएको बताए । जथाभाबी पार्किङ हुने सवारी साधनलाई अन्यत्रै लिएर व्यवस्थित गर्ने निर्णय भएको उनको जानकारी दिए । उनका अनुसार १ नम्बर वडाकै सल्लेमा जग्गा भाडामा लिएर सवारी पार्किङ गराउने प्रयास भइरहेको छ ।


वडा कार्यालयले तीन स्थानीयको जग्गा महिनाको १२ हजार रुपैयाँ तिरेर भाडामा लिएको छ । उक्त क्षेत्रमा पार्किङ गरेबापत एउटा सवारीबाट ५० रुपैयाँ लिने गरी निर्णय भएको छ । निजी सवारीको पार्किङ भने १ नम्बर वडाकै सहिदमैदानमा गराइने तयारी छ । यातायात व्यवसायीसमेतको छलफल र सहमतिमा उक्त निर्णय गरी कार्यान्वनमा लिन लागिएको वडाध्यक्ष केसीले जानकारी दिए । सदरमुकामस्थित मुख्य बजारमा बसपार्क छैन । सल्लेमा निर्माण गरिएको बसपार्क साँघुरो भएका कारण सार्वजनिक सवारीसाधन जथाभाबी पार्किङ गर्ने गरिएको हो । केही दिनभित्रै सवारी पार्किङरहित सडक बनाउने गरी काम भइरहेको वडा कार्यालयले जनाएको छ । अहिले सवारी पार्किङ भइरहेको ठाउँमा ‘नो पार्किङ’का बोर्ड राख्ने वडा कार्यालयको तयारी छ ।


सल्लेस्थित बसपार्कमा एक दर्वन गाडी अटाउन मुस्किल छ । टिकट काउण्टर बजार केन्द्रित भएपछि पनि सडकमा सवारी पार्किङ बाक्लिएको स्थानीयको गुनासो छ । सवारीसाधनको टिकट काउण्टर र टिकट काट्ने ठाउँ पनि व्यवस्थित गर्ने योजना अघि सारिएको वडा कार्यालयले जनाएको छ । जिल्लामा पाँच यातायात समिति छन् । जिल्ला बाहिरका अन्य समितिका गाडी पनि आउजाउ गर्छन् । स्थानीय गोपाल केसीले वडाले दीर्घकालीन रुपमा सममस्या समाधान गर्ने गरी पार्किङ व्यवस्थापन गर्न जरुरी रहेको औंल्याए ।


पार्किङ समस्याको दिगो व्यवस्थापनका लागि डीपीआर बनाइएको छ । सहरी विकास तथा भवन विभागले व्यवस्थित मलसहितको बसपार्क निर्माणको ५२ करोड १२ लाख रुपैयाँ लागतको बसपार्क निर्माण हुने गरी डीपीआर निर्माण गरेको हो । डीपीआर निर्माणपछि बसपार्क निर्माणको पहल थालिएको नगरपालिकाले जनाएको छ । मुसीकोट नगरपालिका–१ मा बनाइने बसपार्कको लागि आवश्यक सहयोग जुटाउने काम सुरु गरिएको नगर प्रमुख देविलाल गौतमले बताए ।

प्रकाशित : माघ ७, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?