गाउँमै मसला उद्योग- कर्णाली - कान्तिपुर समाचार

गाउँमै मसला उद्योग

हरि गौतम

रुकुम पश्चिम — गाउँमै उद्योग स्थापना भएपछि मुसीकोट नगरपालिका–९ र १० का स्थानीयलाई अब मसला किन्न बजार जानुपर्ने छैन । स्थानीय महिलाले सहकारीमार्फत होलतारामै मसला उद्योग स्थापना गरी उत्पादन थालेका हुन् । 

उद्योग स्थापना भएपछि स्थानीय उत्पादनले समेत बजार पाएको छ । गाउँमै फलफूल, जडीबुटी र अन्य कृषि उत्पादनबाट मसला बनाउन थालिएको हो । स्थानीय उत्पादनको खपत तथा महिलालाई रोजगारीमा जोड्‍न सिर्जनशील महिला आयआर्जन बचत तथा ऋण सहकारी संस्थाले मसला उद्योग सञ्चालनमा ल्याएको हो । सहकारी नमुना गाउँअन्तर्गत २५ लाख रुपैयाँको लगानीमा उद्योग स्थापना भएको हो ।


कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २१ लाख अनुदान र सहकारी संस्थाको ४ लाख रुपैयाँ लगानीमा उद्योग स्थापना गरिएको छ । गत आर्थिक वर्षको बजेटबाट उद्योग सञ्चालनमा ल्याइएको सहकारीकी व्यवस्थापक जोखिमाया कठायतले बताइन् । उनका अनुसार उद्योगको भवन निर्माण र सामग्री खरिदको काम गत वर्ष नै गरिएको थियो । मेसिन जडानको काम सकिएपछि उद्योगबाट उत्पादन थालिएको उनको भनाइ छ । अदुवा, लसुन, अलैंची, टिमुर, बेसार, तेजपात, खुर्सानी, मरिच, भाँगोलगायत स्थानीय उत्पादनबाट मसला उत्पादन भइरहेको उनले जानकारी दिइन् । उद्योगमा चाहिने कच्चा पदार्थ उत्पादनका लागि सहकारीले १२ रोपनी जग्गा भाडामा लिएको छ । सहकारीका अनुसार उक्त जग्गामा बेसार, अलैंची, अदुवालगायत मसलाजन्य बालीको खेती भइरहेको छ ।


उद्योगले पहिलो चरणमा एउटै बालीको मसला र ‘मिक्स’ मसला उत्पादन गरिरहेको छ । उद्योगमा पाँच जना महिलाले नियमित रोजगारी पाइरहेका छन् । सहकारीमा ३ सय ६७ जना महिला आवद्ध छन् । ९ र १० दुवै वडाका महिला सहकारीका शेयर सदस्य रहेको व्यवस्थापक कठायतले जनाइन् । उनका अनुसार सहकारीले उत्पादन गरेको मसला ८ सय, बेसार ४ सय ६० र सिस्नोको पाउडर ४ सय रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ । कठायतले टिमुरको पाउडर १ हजार, मरिच मसला १ हजार ८ सय, खुर्सानी मसला ३ सय ७५ र भाँगाको गेडा १ सय ५० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको जानकारी दिइन् । ‘ठूलो प्रयासपछि हामी सानै भए पनि उद्योगमा जोडिन सफल भएका छौं,’ उनले भनिन्, ‘अब यसलाई बढाउँदै लैजाने र आयआर्जनमा वृद्धि गर्ने योजना छ ।’


उनका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सहकारी नमुना गाउँ कार्यक्रम चलिरहेको छ । चालु वर्ष पनि सहकारी नमुना गाउँ शीर्षकबाट केही बजेट आउने आशा गरिएको अध्यक्ष बुढाले बताइन् । अघिल्लो वर्ष नमुना गाउँका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । चालु वर्ष १ करोड रुपैयाँ छुट्याइएको छ । कृषि तथा सहकारीमन्त्री विमला केसीले ससाना भए पनि उद्योगमार्फत स्थानीयलाई आयआर्जनमा जोड्‍न लागिएको बताइन् । उनका अनुसार समूह र सहकारीमार्फत आयआर्जनका कार्यक्रममा कृषकलाई सहभागी बनाउने र समृद्धिको यात्रामा अगाडि बढ्ने प्रदेश सरकारको योजना छ ।

प्रकाशित : माघ ६, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीले धार फेरेपछि पानी संकट

कमल पन्थी

बर्दिया — कर्णाली नदीले धार परिवर्तन गरेपछि पूर्वी भँगालो गेरुवामा पानी सुक्न थालेको छ । पानी कम भएपछि मनाउ, खैरीचन्दनपुर, पाताभार र पशुपतिनगर गाउँमा सिँचाइ प्रभावित भएको छ । हिउँदका बेला पाँच हजार हेक्टर जमिनमा सिँचाइ अपुग भएको राजापुरस्थित कर्णाली नदी व्यवस्थापन आयोजनाले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गेरुवा नदी सुक्न थालेपछि वन्यजन्तुलाई समेत पानीको अभाव भएको छ ।

अहिले धार परिवर्तन भएर कैलालीतर्फ धेरै पानी बग्न थालेपछि बर्दियातर्फको गेरुवा सुक्न थालेको हो । जलस्तर घटेपछि दुवैतर्फ कर्णालीको पानी बाँडफाँट गर्न लागिएको व्यवस्थापन कार्यालयले जनाएको छ । गेरुवा नदी बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गरेको छ । त्यसैले यो वन्यन्तुका लागि पानीको स्रोत हो । पानी सुक्न थालेपछि वन्यजन्तु प्रभावित हुन थालेका हुन् । निकुञ्जको लालमटियामा गिटी–बालुवा थुप्रिएकाले नदीले धार परिवर्तन गरेको हो । पानी थुन्ने गिटी–बालुवा हटाएर निकास दिनका लागि राष्ट्रिय निकुञ्ज विभागले बर्दिया राष्ट्रिय निकुञ्जलाई स्वीकृति दिएको थियो । निकुञ्ज हुँदै बग्ने गेरुवामा पानी सुकेका कारण वन्यजन्तु मर्कामा परेपछि विभागले निकास दिन निर्देशन दिएको हो । पहिले गेरुवामा प्रशस्त पानी बग्थ्यो ।

एक दशकयता विभिन्न समयमा आएको बाढीले गिटी–बालुवा थुपार्न थालेपछि त्यसको प्रभाव अहिले देखिन थालेको हो । गत वर्षबाट गिट्टी र बालुवा हटाउन थालिएको निकुञ्जका रेन्जर सन्देश पौडेलले बताए । ‘ठूलो परिमाणका गिट्टी, ढुंगा र बालुवा हटाउन सम्भव भएन,’ उनले भने, ‘निकुञ्जका कर्मचारीको प्रयासले मात्र सम्भव छैन । यसका लागि ठेक्कामार्फत हटाउनु पर्छ ।’ गेरुवाको तटीय क्षेत्रमा बाघ, गैंडा, चित्तल, हात्तीलगायत वन्यजन्तुको बासस्थान रहेको उनले सुनाए ।

एक दशकअघिसम्म गेरुवामा धेरै पानी बग्थ्यो । पानीको बहाव तीव्र थियो । गेरुवाअन्तर्गत कोठियाघाटमा एक हजार मिटर लामो पुल निर्माण गरिएको छ । अहिले पुलमुनि पानी छैन । राजापुरलाई बाँकी जिल्लासित जोड्न कोठियाघाटमा हिउँदमा पन्टुन पुल जडान गरिन्थ्यो । अहिले त्यहाँको पानी हेर्दा कर्णाली नदी भएको पत्याउन मुस्किल पर्छ । जलस्तर उच्च हुँदा डल्फिन विचरण गरेको देखिन्थ्यो । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार मनाउघाट, गोलाघाट र कोठियाघाटमा डल्फिन विचरण गर्थे । अहिले यहाँ रहेका चारवटा डल्फिन कर्णालीको दौलतपुर र पाताभार क्षेत्रमा विचरण गर्न थालेको निकुञ्जले जनाएको छ ।

विगतमा गेरुवामा र्‍याफटिङ सञ्चालन हुँदै आएको थियो । जलस्तर घटेपछि बन्द भएको छ । अहिले पश्चिम कर्णालीमा सञ्चालनमा रहेको निकुञ्जले जनाएको छ । गेरुवामा पानी कम भएपछि निकुञ्जले एक दर्जनभन्दा बढी ठाउँमा सोलार प्रविधिबाट वन्यजन्तुका लागि पिउने पानीको व्यवस्था गरेको छ ।

कैलालीको रानीजमरा सिँचाइ आयोजना सम्पन्न भएपछि हिउँदमा गेरुवामा पानी सुक्ने र त्यसले वन्यजन्तु उच्च जोखिममा पर्ने वन्यजन्तु विशेषज्ञ डा. शान्तराज ज्ञवालीले बताए । हिउँदमा आवश्यक पर्ने पानीका बारेमा अध्ययन गर्न जरुरी भएको उनले बताए ।
कटान रोक्न, पर्याप्त सिँचाइ सुविधा पुर्‍याउन र वन्यजन्तुलाई पानीको असुविधा हुन नदिन अहिलेको धार परिवर्तन गर्न जरुरी रहेको नदी व्यवस्थापन आयोजना प्रमुख केदार श्रेष्ठले बताए । कटान र बाढीको समस्या समाधान नगरे जोखिम बढ्ने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले सुनाए ।

प्रकाशित : माघ ६, २०७६ १२:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×