चामल ढुवानीमा लापर्बाही

ठेकेदारले ढुवानीमा ढिलाइ गर्दा बारेकोटबासी तीन गुणा महँगोमा बजारको चामल किन्न बाध्य
भीमबहादुर सिंह

जाजरकोट — ठेकेदारको लापर्बाहीले बारेकोट गाउँपालिकामा चामल अभाव भएको छ । समयमै चामल ढुवानी नहुँदा घाटस्थित खाद्य डिपो लामो समयदेखि रित्तै छ । खाद्य डिपोमा चामल नभएपछि स्थानीयबासी महँगोमा बजारको चामल किनेर गुजारा चलाउन बाध्य छन् । 

चामल ढुवानीमा लापर्बाही

२ महिनादेखि बारेकोट–५, घाटस्थित डिपोमा चामलको मौज्दात शून्य छ । डिपोमा चामल नपाइएपछि स्थानीयबासी दुई दिन पैदल हिँडेर नलगाड–६, कालीमाटी बजारबाट खाद्यान्न खरिद गर्न बाध्य छन् । पुरानो अन्न सकिएको र नयाँ बाली नपाकेकोले बारेकोटमा चामल अभाव भएको स्थानीय पृथ्वीराज ज्योतिले बताए । ‘डिपोमा कहिलेकाहिँ मात्र चामल आउँछ,’ उनले भने, ‘चामल आएको बेला खोसाखोस हुन्छ ।’


चामल ढुवानीको जिम्मा कार्कीगाउँको एमबी बिल्डर्सले लिएको छ । ४/५ घण्टा पैदल हिँडेर डिपोमा पुगेका स्थानीयबासी चामल नभएपछि रित्तो हात घर फर्कन बाध्य छन् ।


घाट डिपोका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि २ हजार ५ सय क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । डिपोमा भने अहिलेसम्म ३ सय क्विन्टल मात्र चामल ढुवानी भएको लिमिटेडका बरिष्ठ सहायक रामप्रसाद पौडेलले बताए । उनका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा डिपोमा कम्तीमा १ हजार क्विन्टल चामल ढुवानी हुनुपर्ने हो । उनले ठेकेदारकै लापर्बाहीले बारेकोटमा चामल अभावको समस्या देखिएको जनाए ।


बारेकोट गाउँपालिका जिल्लामै कम खाद्यान्न उत्पादन हुने स्थानीय तह हो । धानलगायत अन्न उत्पादन कम हुँदा स्थानीय वर्षौंदेखि खाद्य डिपो र बजारकै चामलको भर पर्न बाध्य छन् । गाउँमा चामलको अभाव भएपछि स्थानीयलाई बजारमा मोटो चामल पनि ६० रुपैयाँ प्रतिकिलो किनेर गुजारा गर्नुपर्ने बाध्यता छ । ‘डिपोमा चामल भए सस्तोमा किन्न पाइन्थ्यो,’ ज्योतिले भने, ‘चामल नभएपछि हामीजस्ता गरिबलाई ऋण लिएरै बजारको चामल खरिद गर्नुपर्ने बाध्यता छ ।’ उनले खाद्यको चामलभन्दा बजारको चामल ३ गुणा महँगो पर्ने बताए ।


बारेकोटका बासिन्दाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग घाट डिपोको लागि १० हजार क्विन्टल चामलको कोटा माग गर्दै आएका छन् । डिपो प्रमुख जयकृष्ण चौधरीले माथिल्लो निकायमा फोन तथा पत्राचार गरी पटकपटक चामल पठाइदिन ताकेता गरिरहेको बताए । लिमिटेडका अनुसार ठेकेदारकै लापर्बाहीका कारण अन्य डिपोमा पनि चामलको मौज्दात कम छ । चालु आर्थिक वर्षका लागि रग्दा डिपोमा १ हजार, घोगीमा ३ सय ५०, दशेरामा १ सय ७० र जुनीचाँदेमा ३ सय क्विन्टल चामल पठाइएको छ । सम्बन्धित ढुवानी ठेकेदारलाई बारम्बार ताकेता गर्दा पनि चामल ढुवानी हुन नसकेको बरिष्ठ सहायक पौडेलले बताए ।


ठेकेदार कम्पनीले भने लगातारको हिमपात र वर्षातका कारण चामल ढुवानीमा समस्या भएको जनाएको छ । ‘हिमपात र वर्षाका कारण हानीसल्ला लेक हुँदै बारेकोट जाने बाटो बन्द भएपछि ढुवानीमा समस्या भएको हो,’ एमबी विल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले भने, ‘पहिलेको हिउँ नबिलाउँदै फेरि हिमपात भएपछि चामल बारेकोट पुर्‍याउन सकिएको छैन ।’ उनले हिउँ बिलाएपछि चामल ढुवानीको कामलाई तीव्रता दिइने बताए ।


लिमिटेडले घाट डिपोमा जिरा मसिनो, मोटो, मकवानपुर, अरुवा मध्यमलगायत चामल प्रतिकिलो ३६ देखि ६० रुपैयाँमा बिक्री गर्दै आएको छ । स्थानीयले कुशे गाउँपालिकाको घरंगा, जुनीचाँदे गाउँपालिकाको रजुतरा, शिवालय गाउँपालिकाको शिवालय र छेडागाड नगरपालिकाको काँडालगायत स्थानमा खाद्य डिपो माग गरेको वरिष्ठ सहायक पौडेलले बताए । उनले त्यसबारे माथिल्ला निकायमा पत्राचार गरिसकेको जानकारी दिए ।

प्रकाशित : माघ ६, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?