धनकलीलाई छैन पिरलो

हरि गौतम

(रुकुम पश्चिम) — ‘खानेपानीकै लागि धेरै ज्यान खियाइयो होला,’ धनकली ओलीले भनिन्, ‘अब त त्यतिबेलाको दुःख भुल्दै गएका छौं ।’ त्रिवेणी गाउँपालिका–९ नालेचौरकी उनी डेढ वर्षअघिसम्म खानेपानी ओसार्नमै दैनिक ३ घण्टा बिताउँथिन् । चौरजहारी नगरपालिका–१४ नाउलीकी रामसरी पुनलाई पनि वस्तुभाउका लागि पानी जुटाउन ठूलो सास्ती थियो । डेढ वर्ष अघिसम्म उनी २ घण्टा हिँडेर कालाखोलाबाट खानेपानी बोक्थिन् । 

धनकलीलाई छैन पिरलो

उनीहरू मात्र होइन, नाउली र नालेचौरसहित खड्काटोल, डाँडागाउँ, नुवाकोटडाँडालगायत टोलवासीको धेरै समय पानी बोक्नमै जान्थ्यो । गाउँ नजिकै मुहान नहुँदा स्थानीयले लामो समयदेखि खानेपानी अभाव भोग्दै आएका थिए । तर अब समय फेरिएको छ । पहिले जिल्लामै सबैभन्दा बढी सुक्खा क्षेत्र मानिएका यी गाउँमा एक घर, एक धाराको सुविधा पुगेको छ । खानेपानीका लागि छुट्याउनुपर्ने समयमा अहिले अन्य घरायसी काम गर्न सजिलो भएको धनकलीले जनाइन् ।


स्थानीयका अनुसार कुनै बेला घरको एक जनाको काम पानी ओसार्ने मात्रै हुन्थ्यो । ‘दुःख पनि त्यतिकै थिए,’ रामसरीले भनिन्, ‘अब खानेपानीको पिरलो छैन ।’ दैनिकी सहज बनेको उनले सुनाइन् । मिटरबाट पानी आउने भएकाले मितव्ययी तरिकाले प्रयोग गरिरहेको उनले जानकारी दिइन् । स्थानीयले पानी प्रयोग गरेबापत शुल्क तिर्ने गरेका छन् । त्रिवेणी गाउँपालिका–९ का ७४ र चौरजहारी नगरपालिकाका ४० घर परिवारमा खानेपानीको धारा जडान गरिएको छ ।


उनीहरूले ७ युनिट पानीको १ सय २० रुपैयाँ महसुल बुझाउने गरेका छन् । स्थानीयबाट संकलन भएको रकम खानेपानी आयोजना मर्मतमा खर्च भइरहेको छ । दुवै वडाका १ सय ५६ घरधुरीका लागि खानेपानी आयोजनाको डिजाइन गरे पनि अहिले १ सय १४ घरमा पानी आइरहेको छ । अरु घरमा जडानको प्रक्रिया सुरु भएको छ । त्रिवेणी गाउँपालिका–९ को हिमालय मावि र नुवाकोटडाँडास्थित प्रहरी चौकी पनि खानेपानी आयोजना बनेपछि लाभान्वित भएका छन् ।


यी गाउँ यत्तिकै खानेपानी समस्याबाट मुक्त भएका होइनन् । उपभोक्ता, स्थानीय सरकार र सरोकारवालाको लगानी र ठूलो मेहनतपछि गाउँमा खानेपानीको संकट हल भएको हो । गाउँभन्दा माथि पानीका मुहान नभएपछि गाउँमुनिको कालाखोलाबाट पानी डाँडामा पुर्‍याइएको छ । सोलार प्रविधिको प्रयोग गरी लिटमार्फत कालाखोला, घोर्लेगोठ, नुवाकोटडाँडा खानेपानी आयोजना निर्माण गरिएको हो । निर्माण समितिका सचिव सन्तोष ओलीले १ करोड ३१ लाख रुपैयाँको लगानीमा आयोजना सम्पन्न भएको जानकारी दिए । समितिका अनुसार नेपाल रेडक्रस सोसाइटीको ६४ लाख ४८ हजार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको १७ लाख ३२ हजार, त्रिवेणी गाउँपालिकाको ७ लाख र चौरजहारी नगरपालिकाको ४ लाख ५० हजार रुपैयाँ लगानीमा आयोजना बनेको हो । आयोजनामा स्थानीयले ३३ लाख ३० हजार बराबरको जनश्रमदान र उपभोक्ताबाट १ लाख ४९ हजार रुपैयाँ संकलन गरिएको थियो । आयोजनामा १९ किलोवाटको सोलार प्रयोग गरिएको छ ।


कालाखोलाबाट घोर्लेगोठसम्म पानी उकाल्न मुहानमा एउटा इन्टेक निर्माण गरिएको छ । कालाखोलादेखि घोर्लेगोठसम्मको दुरी ७ सय २० मिटर छ । तलबाट माथि पानी ल्याई गाउँमा वितरण भएपछि गाउँले पनि दंग भएको चौरजहारी–१४ का वडाध्यक्ष अतिराम बिष्टले बताए ।

प्रकाशित : माघ ४, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?