२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

जाजरकोट–डोल्पा सडक : पाँच बेलिब्रिज बन्दै

ठूलीभेरी नदीमा २ र खदाङ, छलगाड र रुपागाड खोलामा बन्ने बेलिब्रिजको डिजाइन तयार भएपछि यसै आवमा टेण्डर
हरि गौतम

रुकुम पश्चिम — जाजरकोट–डोल्पा सडकअन्तर्गत रुकुम पश्चिम खण्डमा ५ वटा बेलिब्रिज निर्माण हुने भएको छ । सडक डिभिजन कार्यालय, चौरजहारीमार्फत रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, छोटेबगरदेखि डोल्पा सदरमुकाम दुनैसम्म बेलिब्रिज निर्माण गर्न लागिएको हो ।

जाजरकोट–डोल्पा सडक : पाँच बेलिब्रिज बन्दै

ठूलीभेरी नदीमा २ र अन्य खोलामा ३ वटा बेलिब्रिज निर्माणका लागि डिजाइन भइरहेको छ । सडक विभागले कन्सल्टेन्सीमार्फत बेलिब्रिजको डिजाइन गराइरहेको छ । त्यसलगत्तै पुल निर्माणका लागि टेन्डर आहृवान हुनेछ ।


डिभिजन कार्यालयका प्रमुख नरेन्द्र भट्टले एउटा बेलिब्रिजको लम्बाई ५० मिटरसम्म हुने बताए । ‘पहिलो चरणमा ५० मिटर र त्योभन्दा कम दूरी भएका ठाउँमा बेलिब्रिज बनाइन लागिएको हो,’ उनले भने, ‘डोल्पाको खदाङ र त्रिपुराकोटस्थित ठूलीभेरी नदीमा बेलिब्रिज बन्नेछन् ।’ उनले खदाङ, छलगाड र रुपागाड खोलामा पनि बेलिब्रिज बनाइन लागिएको जानकारी दिए । चालु आवमा सुरु भई आगामी आवभित्रै निर्माण सक्नेगरी बेलिब्रिज निर्माण हुने उनको भनाइ छ ।


ठेक्का लागिसकेपछि बेलिब्रिजका लागि ‘फाउन्डेसन’ तयार गरिने र सोपश्चात् ‘ट्रस्ट’ जोडिने कार्यालयले जनाएको छ । ‘ट्रस्ट’ ढुवानीका लागि हिउँदकै समय चाहिने भएकाले निर्माणको काममा ठेकेदार कम्पनीलाई बढी समय दिइने डिभिजन इन्जिनियर भट्टले बताए । भट्टले बेलिब्रिज निर्माणपछि वर्षाका कारण यातायात सेवा अवरुद्ध हुने समस्या समाधान हुने जनाए । वर्षायाममा आठबीसकोट नगरपालिकास्थित राडी र जाजरकोटको नगलगाड नगरपालिकास्थित बगराबीचको झोलुंगे पुलबाट सामान पल्टी गरेर ढुवानी गर्ने गरिएको छ ।


त्यस्तै, नलगाडको तातरीगाड र चौखेबजार नजिकको खोलामा पनि यातायातका साधन चल्दैनन् । झोलुंगे पुलबाट मोरसाइकल वारपार गराए पनि यी खोला ठूला गाडीका लागि बाधक मानिएका छन् । नलगाडबाट आठबीसकोटको छोटेबगर पुग्दा अर्को झोलुंगे पुल वारपार गर्नुपर्ने बाध्यता छ । वर्षातमा आठबीसकोट–६ स्थित रिजिगाड र दामाचौरको खोलामा पनि चारपांग्रे सवारीसाधन तर्न सक्दैनन् । हिउँदमा पनि राडीदेखि बगरा र तल्लुदेखि छोटेबगर जोड्ने पुल नबन्दा समस्या भएको यातायात व्यवसायीको गुनासो छ । ठूलीभेरी नदीमा पक्की पुल बने यातायातका साधन निर्वाध चलाउन सकिने व्यवसायीको भनाइ छ ।


३ जिल्ला जोड्ने पासागाड–आठबीसकोट–दुनै सडकखण्डको १ सय १८ किलोमिटर ट्र्याक २ वर्षअघि नेपाली सेनाले खोलेको थियो ।

प्रकाशित : माघ २, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?