कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सामुदायिक वन फाँडेर पार्क

ज्योति कटुवाल

(सुर्खेत) — वीरेन्द्रनगर नगरपालिका–४ स्थित भैरव सामुदायिक वन फँडानी गरेर करिब ७५ रोपनी क्षेत्रफलमा स्तम्भ र पानीको फोहोरासहितको पार्क निर्माण गर्न लागिएको छ । प्रदेश सरकारको वन तथा वातावरण निर्देशनालयले १ करोड १३ लाख ५१ हजार रुपैयाँको लगानीमा सामुदायिक वन क्षेत्रमा स्तम्भ र फोहोरा बनाउन सुरु गरेको हो ।

सामुदायिक वन फाँडेर पार्क

योजनाका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रकम विनियोजन गरेको छ । वनक्षेत्रमा ठेक्कामार्फत सहिद स्तम्भ र पानीको फोहरा बनाइन लागेको सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार वनको ३.८० हेक्टर जमीनमा सहिद पार्क बनाउनेगरी काम सुरु गरिएको हो । निर्माण कम्पनी अभियान निर्माण सेवाले चालु आर्थिक वर्षको असार मसान्तसम्म काम सक्नेगरी गत भदौ १२ गते ठेक्का सम्झौता गरेको थियो ।


डिभिजन वन कार्यालयले लामो समय रुख काट्न रोक लगाएपछि निर्माणको काम रोकिएको थियो । राजनीतिक दवावका कारण वन कार्यालय आफ्नो अडानबाट ३ महिनापछि पछि हटेको थियो । सामुदायिक वनका करिव ४ सय मूल्यवान् जडीबुटीसहित सालका रुख मासिएको वन डिभिजनका कर्मचारीको भनाइ छ । ‘वन फाँडेर पार्क बनाउन प्रदेश सरकारले बजेट छुट्याउँछ, कसरी हुन्छ वन संरक्षण ?,’ वन डिभिजनका एक कर्मचारीले भने, ‘प्रदेश सरकारले योजना पहिचान गर्न नसक्दा वन फडानीको समस्या बढ्दै गएको छ ।’ सहिद स्तम्भ बनाउन लगाइएको क्षेत्रमा सामुदायिक वनले वनस्पति उद्यान बनाएको थियो । उद्यानमा रहेका रक्तचन्दनलगायत मूल्यवान् जडीबुटी र अन्य बोटबिरुवा मासिएको उनको दाबी छ ।


वडा नं. ४ का बासिन्दा रुपे गिरीले सुर्खेतमा खानेपानी, सडकलयात अत्यावश्यक पूर्वाधार हुँदाहुँदै प्रदेश सरकारले पार्कका लागि बजेट विनियोजन गरकोमा आपत्ति जनाए । ‘सार्वजनिक वन मासेर पार्क बनाएर के पाइन्छ ?,’ उनले भने, ‘जंगलको बीचमा बनाइएको पार्कको सुरक्षा कसले लिन्छ ?, प्रदेश सरकारले पार्क बनाएर पर्यटकभन्दा पनि विकृति भित्र्याउन खोजेको जस्तो देखियो ।’


अभियान निर्माण कम्पनीका प्रतिनिधि अनप्रसाद अधिकारीले वन डिभिजनले लामो समय रुख कटानमा रोक लगाएपछि योजनाको काम सुरु गर्न ढिलाइ भएको बताए । उनका अनुसार वनकै अवरोधका कारण समयमै योजना सम्पन्न गर्न समस्या देखिएको छ । ‘सम्झौताको करिब ३ महिना वनको अवरोधका कारण कामै हुन सकेन,’ उनले भने, ‘असार मसान्तभित्रै काम सम्पन्न गर्ने सम्झौता गरिएकाले निर्माणलाई तीव्रता दिएका छौं ।’


४ नम्बर वडाध्यक्ष निलकण्ठ खनालले सामुदायिक वनको साधारण सभाले नै सहिद पार्कको नाममा जग्गा हस्तान्तरण गरेकाले निर्माणमा कुनै समस्या नभएको बताए ।


प्रकाशित : माघ १, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?