कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेटवर्क खोज्न पाखातिर

क्षमताभन्दा बढी सिम वितरण र टावरमा विद्युत आपूर्ति नहुँदा मोबाइलमा नेटवर्कको समस्या
तुलाराम पाण्डे

कालीकोट — मोबाइलमा नम्बर डायल गर्दा ‘कनेक्सन इरर’, ‘नेटवर्क बिजी’, ‘माफ गर्नुहोस्, तपाईंले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन’ लगायत संकेतले कालीकोटबासी आजित बनेका छन् । कहिले डायल गरेको एउटालाई गरेको फोन चिन्दै नचिनेका व्यक्तिको मोबाइलमा समेत पुग्ने गरेको छ ।

नेटवर्क खोज्न पाखातिर

‘मोबाइल नलाग्ने समस्या त पुरानै हो,’ मान्मका व्यवसायी रतनबहादुर शाहीले भने, ‘असम्बन्धित व्यक्तिकोमा फोन जाँदा थप झन्झट व्यहोर्नु परिरहेको छ ।’ उनले जरुरी काम परेको बेला फोन नलाग्दा समस्या भएको गुनासो गरे । २ साताअघिको भारी हिमपातका कारण टेलिफोन र मोबाइल सेवा प्रभावकारी बन्न नसकेको उनको भनाइ छ ।


क्षमताभन्दा बढी मोबाइलको सिम वितरण भएका कारण पनि उपभोक्तालाई समस्या परेको नेपाल टेलिकम, कालीकोटका प्रमुख प्रेमसिंह विष्टले स्वीकारे । विष्टका अनुसार जिल्लाभर ३१ हजार सिम वितरण गरिएको छ । टावरले धान्न सक्ने अवस्था नभएकाले सम्पर्क गर्दा समस्या आएको हो । ‘टावरमा विद्युतको पनि समस्या छ, जसका कारण उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ,’ उनले भने, ‘टावरको समस्या भएका ठाउँमा मर्मतका लागि टोली पठाइएको छ ।’ उनले केही स्थानमा टावरको क्षमता वृद्धि गर्न लागिएको सुनाए ।


०६३ माघदेखि सुचारु भएको टेलिफोन सेवा जिल्लाभर विस्तार भए पनि भरपर्दो नभएको बालअधिकारकर्मी बाले विश्वकर्मा बताउँछन् । उनका अनुसार कर्णाली राजमार्ग आसपासका अधिकांश ठाउँमा मोबाइलमा सम्पर्क नहुने समस्या छ । तिलागुफा–५, धनाडाका स्थानीय मोबाइलमा नेटवर्क खोज्न घर छाडेर पाखातिर जाने गरेका छन् । टेलिफोन टावरको समस्याले जुम्लाको माइथाप्लास्थित टावरको नेटवर्क टिप्ने ठाउँ खोज्दै पाखामा जानुपरेको स्थानीयको गुनासो छ ।


तिलागुफा नगरपालिकाको गाल्जे, धनाडा, खल्लागाड, बाली, टाकुल्ला, नाग्मलगायत ठाउँका बासिन्दा फोन नलाग्ने समस्याले पीडित छन् । ‘गाउमा फोन नै लाग्दैन,’ तिलागुफा–५, धनाडाका नन्दऋषि न्यौपानेले गुनासो पोखे, ‘बिहान–बेलुकी त घर वरिपरि कतै फोन लाग्दैन, दिउँसो घाम लागेको बेला परको पाखामा टावर टिप्छ ।’ उनले टावर टिपेको बेला आफन्तलाई फोन गर्न पाखामा जाने गरेको सुनाए ।


तिलागुफा नगरपालिकाको अस्थायी केन्द्र गाल्जेमा पनि मोबाइलमा सम्पर्क नहुने समस्या छ । नगरका कर्मचारी सञ्चार सम्पर्क गर्नुपरे कार्यालयमाथिको पाखामा गएर फोन गर्न गर्न बाध्य छन् । त्यो पनि दिउँसो घाम लागेको बेला मात्रै सम्भव हुने गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत कमला ठकुल्लाले टेलिफोन समस्याका कारण दैनिक काम प्रभावित भइरहेको बताइन् । तिलागुफाको चिल्खायामा टावर बनाउन सर्भे गरिए पनि ढिलाइ हुँदा स्थानीयबासी मर्कामा परेको उनको भनाइ छ । जुविथाको हरिचौरमा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले क्षति पुर्‍याएकाले सञ्चार सम्पर्क गर्न कठिनाइ भएको नगरप्रमुख रतनबहादुर शाहीको भनाइ छ ।


जिल्लालाई सञ्चार सुविधासँग जोड्न भर्ता लेकमा मुख्य टावर राखेर सदरमुकाम मान्म, सुकाटिया, जिम्जेडी, लालु, मेहेलमुडी, फुकोट, नानीकोटको मय, धौलागोहको राडुनेटा र जुविथाको हरिचौरमा टावर निर्माण भइसकेको टेलिकम कार्यालयले जनाएको छ । धेरैजसो टावर सोलारबाट चार्ज गर्नुपर्ने बाध्यता भएकाले बादल लागेको बेला मोबाइलले काम नगर्ने समस्या छ । मान्म, मेहेलमुडी र फुकोटको टावरमा मात्र विद्युतबाट चार्ज गर्ने व्यवस्था छ ।

प्रकाशित : पुस २८, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?