भेरीबाट लिफ्टिङ गरी खानेपानी

हरि गौतम

रुकुम पश्चिम — लामो समयदेखि काकाकुल बनेको चौरजहारी नगरपालिकामा खानेपानीको समस्या समाधान हुने भएको छ । चौरजहारी उपत्यकाका उपभोक्तालाई लक्षित गरी विजयश्वरी–चौरजहारी सुक्खा क्षेत्र खानेपानी आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

भेरीबाट लिफ्टिङ गरी खानेपानी

नगरपालिकाका वडाहरू १, २, ३ र ४ का स्थानीयको समस्या समाधान गर्न केन्द्र सरकारले सुक्खा क्षेत्र खानेपानी आयोजनाको काम अघि बढाएको थियो । आयोजनाको काम अब ५ प्रतिशत मात्रै बाँकी रहेको विजयश्वरी–चौरजहारी सुख्खा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । संस्थाका अनुसार आयोजनाका भौतिक संरचनामा रंगरोगन गर्ने र केही फिल्टरमा पम्प जडानको काम मात्र बाँकी छ ।


आयोजना निर्माणको काम सम्पन्न हुने क्रममा रहेकोले उपभोक्ताको तर्फबाट हुनुपर्ने आवश्यक तयारीलाई अघि बढाइएको संस्थाका अध्यक्ष तेजबहादुर बटालाले बताए । आयोजनाको सदस्य बन्न उपभोक्ताबाट ५ हजार रुपैयाँ नगद संकलन र धारा जडानको काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार उपभोक्ता आफैंले सामग्री खरिद गरी धारा जडानको काम गरिरहेका छन् । उपभोक्ताले गर्नुपर्ने १० प्रतिशत श्रमदानअन्तर्गत हरेकले धारा किनेर आफैं जडान गरिरहेका छन् ।

४ वडा वडाका १ हजार ६ सय ४५ उपभोक्ताको घरमा खानेपानी पुग्ने र यसले लामो समयदेखिको समस्या समाधान गर्ने बटालाको भनाइ छ । ‘अब केही समयमै हामी पर्याप्त पानी पाउछौं,’ उनले भने, ‘त्यसका लागि उपभोक्ताले गर्नुपर्ने काम भइरहेको छ ।’ ठेकेदारको तर्फबाट गर्नुपर्ने काम लगभग सकिएको उनले सुनाए ।


भेरी नदीको पानी लिफ्टिङ गरेर खानेपानी आयोजना बनाइएको हो । सिएबी कन्स्ट्रक्सन कम्पनीले १६ करोड रुपैयाँको लागतमा आयोजना बनाएको हो । २०७५ साउन १ देखि निर्माण सुरु भएको थियो । यसै आर्थिक वर्षभित्रै आयोजनाको काम सक्नुपर्ने भए पनि त्यसको ४ महिनाअघि नै आयोजना हस्तान्तरण हुने निर्माण कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधि प्रवीर डाँगीले भने, ‘संरचना रंगरोगनको काम मात्रै बाँकी छ, आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । बाँकी काम पनि निरन्तर गरिरहेका छौं । हामी बैसाख १ मा हस्तान्तरण गर्ने तयारीमा छौं ।’


आयोजनाका लागि चौरजहारी–३ को मटेला कैंचाबाट भेरीको पानी लिफ्टिङ गरिएको संस्थाले जनाएको छ । प्रतिसेकेन्ड २० लिटर पानी आउने बताइएको छ । आयोजनामा ९ ट्यांकी र एउटा फिल्टर प्लान्ट निर्माण भएको छ । पानी लिफ्टिङका लागि भेरीको छेवैमा २ वटा इनार बनाइएको छ ।


वर्षाको समयमा पनि खानेपानीका लागि लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुन लागेकोमा उपत्यकाबासी खुसी छन् । ‘लामो समयदेखिको समस्या समाधान हुन लागेको छ,’ चौरजहारी नगरपालिका–१, का भद्रुलाल जैसीले भने, ‘घरमै धारा जोडिएपछि दुःखका दिन जाने आशामा छौं ।’

प्रकाशित : पुस २८, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?