कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हिमपातले कर्णालीका ३ जिल्ला प्रभावित

धावनमार्ग हिउँले ढाकेपछि सिमकोट, दुनै र मुगुमा हवाई सेवा बन्द
हुम्लाको लिमीसँग दुई सातादेखि सम्पर्क विच्छेद
ज्योति कटुवाल

वीरेन्द्रनगर — बाक्लो हिमपातका कारण कर्णालीका हिमाली जिल्लाहरू मुगु, हुम्ला र डोल्पामा सातादेखि हवाई र सञ्चार सेवा अवरुद्ध छ ।

हिमपातले कर्णालीका ३ जिल्ला प्रभावित

पहिलेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात भएपछि तीन जिल्लामा हवाई र सञ्चार सेवा प्रभावित भएको हो । यस पटकको हिउँदमा कर्णालीमा तीनपल्ट भारी हिमपात भइसकेको छ ।


सडक सञ्जालले नजोडिएको जिल्ला हुम्लामा हवाई सेवा अवरुद्ध हुँदा स्थानीयको बाहिर आउजाउ रोकिएको छ । धावनमार्गमै बाक्लो हिउँ जमेपछि हुम्लाको सिमकोट, डोल्पाको दुनै र मुगुको रारा विमानस्थलमा उडान– अवतरण ठप्प छ ।


नेपाल टेलिकमको सुर्खेत कार्यालयका प्रमुख नवराज खतिवडाका अनुसार फोन सेवा अवरुद्ध रहेका क्षेत्रमा मर्मतका लागि गएका कर्मचारी हिउँमा अड्किएर बसेका छन् । दैलेख र कालीकोटको सिमाना महाबु लेकमा रहेको रिपिटर टावरमा समेत समस्या आएको उनले बताए ।


‘महाबुमा बाक्लो हिउँ जमेकाले प्राविधिक टोली टावर भएको ठाउँमा पुग्नै सकेका छैनन्,’ उनले भने, ‘दैलेखतिरबाट टोली महाबु जान नसकेपछि कालीकोटको भर्ता हुँदै पठाएका छौं, पुगेर मर्मत गरेपछि मात्रै सेवा सहज हुनेछ ।’ पहिलो चरणमा पठाइएका प्राविधिकको टोली बाक्लो हिउँका कारण गाउँमै अड्किएर बसेको उनले बताए ।


शुक्रबार दोस्रो पटक कालीकोटको बाटो हुँदै प्राविधिकहरू टावरतर्फ लागेका छन् । हिमपातसँगै चट्याङले पनि रिपिटर टावरमा क्षति पुर्‍याएपछि सञ्चार सेवा अवरुद्ध भएको हुनुपर्ने अनुमान प्राविधिकको छ । टावरले काम नगर्दा ल्यान्डलाइन, जीएसएम, स्काई तथा इन्टरनेट सेवा अवरुद्ध छ ।

मौसमी समस्याका कारण जुम्ला, हुम्ला, डोल्पा र मुगुमा हवाई सेवा बन्द भएको सीता एयरलाइन्सका प्रबन्धक विनोद गिरीले बताए । ‘सबै एयरपोर्टमा हिउँ जमेको छ । घाम लागे पग्लिन्थ्यो, घामै लागेको छैन,’ उनले भने, ‘सबै एयरलाइन्सले उडान रोक्नुपर्ने बाध्यता मौसमका कारण आएको हो ।’ निजी क्षेत्रका विमान कम्पनीले ती जिल्लामा सुर्खेतबाट कार्गो र नेपालगन्जबाट यात्रु उडान भर्दै आइरहेका छन् ।


हुम्लाको खार्पुनाथ गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत प्रज्ञान शाहीले सोलार पनि हिमपातका कारण बिग्रिएपछि सेवा प्रवाहमा समस्या भएको बताए । फोन, विद्युत् र इन्टरनेट ठप्प हुँदा कार्यालयको काम नै प्रभावित छ । ‘अहिले अफिस खोलेर बस्नेबाहेक अरू काम हुन सकेका छैनन्,’ उनले भने, ‘हिमपातले बाहिर हिँड्डुल नै गर्न नसकिने भएको छ ।’ गाउँमा रहेको एनसेलको टावरमा हिमपातका कारण समस्या आएर सञ्चार अवरुद्ध हुँदा सास्ती भएको उनले बताए ।


सोलार प्यानल राखेर बिजुलीको विकल्पमा उपयोग गरिरहेकाहरूलाई पनि घाम नलाग्दा ऊर्जा संकट छ । ‘इन्टरनेट नचल्दा बैंक र वित्तीय संस्थाहरूको काम पनि बन्द छ,’ उनले भने ।

हुम्लाको नाम्खा गाउँपालिकाको लिमीमा बाक्लो हिमपात भएपछि दुई सातायता नजिकका अरू गाउँसँग सम्पर्क विच्छेद भएको छ ।


हुम्लाको लिमी बर्सेनि सर्वाधिक हिमपात हुने क्षेत्र हो । हिमपात सुरु नहुँदै अधिकांश बासिन्दा बेंसी झरिसकेका छन् । गाउँमा अहिले गुम्बाका भिक्षु र सीमित संख्यामा हेरालुहरू मात्र छन् । लिमी चीनसँग सीमा जोडिएको गाउँ हो ।

प्रकाशित : पुस २५, २०७६ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?