१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

हिंसाका घटनामा ‘लेनदेन’

मनोज पौडेल

(कपिलवस्तु) — मुलुकभरि बलात्कार र यौनसम्बन्धी हिंसामा संलग्नलाई थप सजायको माग भइरहेका बेला जिल्लामा भने आर्थिक लेनदेन गरेर घटनामा मिलापत्र गराएको पाइएको छ । गत कात्तिक र मंसिरमामा प्रहरीमा जाहेरी परेका दुई घटनामा मिलापत्र गराइएको हो ।

समाजमा क्रियाशील बिचौलियाले सरकारी निकायभन्दा बाहिर मुद्दा मिलाउने गरेका छन् । यस्ता व्यक्तिले मिलापत्रबापत आफू रकम लिन्छन्, पीडित पक्षलाई दबाब र प्रभावमा राख्छन् । प्रलोभन दिन्छन् । सोही आडमा कानुनी प्रक्रिया छलेर मुद्दा टुंग्याउने गरेका छन् । यस्तो लेनदेनले पीडित प्रहरीसमक्ष पुग्नै पाउँदैनन् । अर्कोतर्फ प्रहरीले जाहेरी लिन आलटाल गर्ने यहाँका पीडितले आरोप लगाएका छन् ।


कात्तिक पहिलो साता कपिलवस्तु नगरपालिकाकी एक महिलाले बर्दीमा आएका प्रहरी हवल्दार बलबहादुर जिसीले कुटपिट गरेको आरोप लगाइन् । उनका अनुसार मदिरा सेवन गरेर आएका हवल्दारले संवेदनशील अंगमा प्रहार गरेर लछारपछार गरेका थिए । हवल्दार जिसीले आफ्नो रेस्टुराँको टेबल र कुर्सी तोडफोड गरेको उनले बताइन् । कात्तिक ७ गते भएको घटनाविरुद्ध जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगिन् । प्रहरीले घटना दर्ता गर्न मानेन । गत मंसिर १ गते पत्रकार सम्मेलन गरेर जाहेरी दर्ता नभएको गुनासो गरिन् । घटनालगत्तै जिल्ला प्रहरीले हवल्दार जिसीलाई निलम्बन गरेको थियो ।


स्थानीयका अनुसार आरोप सार्वजनिक गरेपछि महिलामाथि दबाब पर्‍यो । अनौपचारिक रूपमा मिलापत्र गरियो । त्यसपछि उनी चुपचाप बसेकी छन् । अहिले घटनाबारे बोल्दिनन् । थाहा नपाएजस्तो गर्छिन् । उनी निकट स्रोतका अनुसार १ लाख १० हजार रुपैयाँ लेनदेन गरेर मिलापत्र गरिएको थियो । प्रहरी उपरीक्षक दीपशमशेर जबराले पीडितको जाहेरी नआएकाले मुद्दा चलाउन नसकिएको जिकिर गरे । ‘जिसीलाई थप कारबाहीका लागि जाहेरी चाहिन्छ,’ उनले भने ।


मायादेवी गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई बलात्कार गरिएको घटनामा पनि कानुनी प्रक्रिया सुरु भएन । सो घटनामा पनि मिलापत्र गराइएको थियो । गत मंसिर १८ गते साँझ ती किशोरीमाथि जबर्जस्ती गरिएको थियो । पीडित परिवारका अनुसार गाउँकै युवा अजहर तेली मुसलमानले किशोरीलाई घटना हुनुभन्दा १० दिनअघि सीमसहितको मोबाइल दिएका थिए । त्यसपछि प्रत्येक दिन साँझ भेट्न बोलाउन थाले । घटनाका दिन ती किशोरी बारीमा खुर्सानी टिप्दै थिइन् । त्यही बेला आएका अजहरले उनलाई लडाएर जबर्जस्ती गरेको पीडित किशोरीको भनाइ छ ।


घटनाको अर्को दिन अजहरले धम्क्याएर मोटरसाइकलमा लगेको उनको भनाइ छ । तीन दिनसम्म लुम्बिनीमा राखेर बलात्कार र घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएको उनले बताइन् । किशोरी हराएपछि परिवारले खोजी थालेको थियो । लुम्बिनी क्षेत्रबाट मंसिर २२ गते साँझ फेला पारेर ल्याएको पीडितका दाइले बताए । छोरीले सबै कुरा सुनाएपछि अजहरविरुद्ध जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेको किशोरीका बाबु बताउँछन् । प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि तौलिहवास्थित माहुरी होम नामक संस्थाले पीडित किशोरी, उनका बुबा, दाइ र गाउँलेको सहभागितामा पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गरेको थियो ।


कपिलवस्तु प्रहरीले घटनास्थल रूपन्देहीको लुम्बिनी भएकाले मुद्दा हेर्न नमिल्ने बताएको थियो । रूपन्देही प्रहरीले भने घटनास्थल कपिलवस्तु भएकाले उतै मुद्दा दर्ता गर्नु भनेर पठायो । परिवारका अनुसार तीन/चार दिन यसैमा अलमल भयो । आरोपित गाउँमा सम्पन्न परिवारका व्यक्ति हुन् । त्यसैले विभिन्न व्यक्तिमार्फत घटना ढाकछोप गर्न दबाब दिए । आर्थिक प्रलोभन देखाए । यसैबीच, बिचौलिया सक्रिय भए । पीडित निकटका अनुसार ६ लाख रुपैयाँमा मेलमिलाप भयो । त्यसपछि पीडित किशोरीका बाबु ‘छोरीले ढाँटेकी रै’छ’ भनेर पत्रकार सम्मेलन गर्न सदरमुकाम आए । उनलाई अधिकारकर्मीले फिर्ता पठाए । ‘यसमा बिचौलिया मात्र संलग्न छैनन्,’ अधिकारकर्मी रामविकास चौधरीले भने, ‘प्रहरीको पनि मिलेमतो छ ।’


इलाका प्रहरी कार्यालय, लुम्बिनीले भैरहवास्थित भीम अस्पताल पुर्‍याएर किशोरीको स्वास्थ्य जाँच गराएको थियो । प्रमाण पनि संकलन गरिसकेको जनाएको थियो । थप बुझ्ने क्रममा घटनास्थल कपिलवस्तु परेकाले सबै कागजात उतै पठाइदिएको इलाका प्रहरी लुम्बिनीका निरीक्षक ईश्वर कार्कीले बताए । घटनास्थल लुम्बिनी भएकाले कपिलवस्तुमा मुद्दा दर्ता गर्न नमिल्ने प्रहरी उपरीक्षक जबराको भनाइ छ । ‘यहाँ मुद्दा दर्ता भएको छैन,’ उनले भने, ‘उतै बुझ्नुस् ।’

प्रकाशित : पुस २४, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?