३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

वर्षौंपछि फर्कियो ज्योति

आाखाको शल्यक्रिया गर्न नेपालगञ्ज वा तुलसीपुर जानुपर्ने बाध्यता हटाउन बर्सेनि शिविर
विप्लव मर्हजन

सल्यान — नेवकली घर्तीले ३ वर्षअघि आँखाको ज्योति गुमाइन् । सिम्ता गाउँपालिकाकी ७० वर्षीया उनी ६ महिनायता अर्काको सहाराविना हिँडडुल गर्नै नसक्ने भइन् । बन्गाडकुपिण्डे नगरपालिका–१ देवस्थलकी ६५ वर्षीया पार्वती रानाले पनि ६ वर्षदेखि बाहिरी संसार देख्नै पाइनन् ।

वर्षौंपछि फर्कियो ज्योति

दुवै आँखामा मोतीविन्दु भएपछि उनीहरू लामो समयदेखि घरभन्दा बाहिर जान सकेका थिएनन् । गाउँपालिकाले गाउँमै निःशुल्क आँखा शिविर सञ्चालन गरेपछि उनीहरूको आँखाको ज्योति फेरि फर्किएको छ । शिविरमा सुर्खेत र सल्यानका मोतीविन्दु भएका १ सय ९ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।

‘फेरि संसार देखिन्छ जस्तो लागेकै थिएन, न अप्रेसन गर्ने पैसा थियो, न उपचार गराउनसक्ने आफन्त,’ ६० वर्षीय दिलबहादुर कुँवरले भने, ‘दशकपछि फेरि संसार देख्न पाइयो ।’ शिविरले विपन्न नागरिकलाई ठूलो राहत मिलेको उनले सुनाए । जिल्लामा आँखाको शल्यक्रिया सुविधा नहुँदा मोतीविन्दुका बिरामीले वर्षौंदेखि उपचार पाउन सकेका थिएनन् । आँखा देख्न नसक्दा अधिकांश बिरामी घरमै थलिएका थिए ।

‘शौच जाँदा पनि सहयोगी चाहिनुपर्ने बाध्यता थियो,’ रानाले भनिन्, ‘सबैमा अरुकै भर पर्दा किन बाँचेकी हुँलाजस्तो पनि लाग्थ्यो, धेरैपछि संसार देख्न पाएँ, अझै बाँच्ने आशा पलायो अब ।’ आँखाको शल्यक्रिया गर्न नेपालगन्ज वा दाङको तुलसीपुर जानुपर्ने बाध्यता हटाउन गाउँपालिकाले शिविर आयोजना गरेको जनाएको छ । गाउँपालिकाले शिविरमा आएका बिरामीलाई कम्बलसमेत प्रदान गरेको छ । स्थानीय पूर्णकली विकले कम्तीमा ५० हजार रुपैयाँ खर्च हुने उपचार गाउँमै निःशुल्क रुपमा पाउँदा नयाँ जीवन पाएको अनुभूति भएको सुनाइन् ।

शिविरमा ५ सय ४९ जनाको आँखाको चेकजाँच गरी निःशुल्क औषधि र चस्मा उपलब्ध गराइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र पुनले जानकारी दिए । उनले आँखाका रोगीको संख्या बढ्दै गएकाले वर्सेनि शिविर सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिन बर्सेनि शिविर आयोजना गर्ने गरिएको बताए । उनका अनुसार गत वर्ष सञ्चालन गरिएको शिविरमा १ हजारभन्दा बढीको उपचार गरिएको थियो ।

प्रकाशित : पुस २२, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?