कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अभिभावकसँगै कैद

विप्लव महर्जन

(सल्यान) — उनी ६ वर्षकी भइन् । यो उमेरमा अरु बालबालिका विद्यालय जान थाल्ने भए पनि उनले अहिलेसम्म कापीकलम देख्न पाएकी छैनन् । सल्यान बाग्चौर नगरपालिका–७ कोटबाराकी चेतना रावत अभिभावकको गल्तीका कारण उनीहरूसँगै जिल्ला कारागारमा कैद छिन् । कारागारमा आमाबुबासँगै ४ वर्षीया बहिनी वर्षा र १ वर्ष ४ महिनाका भाइ हिक्मत पनि कैद छन् । 

अभिभावकसँगै कैद

अभिभावकले गरेको गल्तीले चेतनासहित ४ बालबालिका जिल्ला कारागारमा कैद भएका हुन् । बाग्चौर नगरपालिका–१२ बाफुखोलाका ९ महिने दीपेश डाँगी पनि कारागारमा छन् । उनीहरू लामो समयदेखि आधारभूत अधिकारबाट समेत वञ्चित छन् । चेतना, वर्षा र हिक्मत बहुविवाहमा कैद सजाय भुक्तान गर्दै आइरहेका टेकबहादुर र गंगा रावतका सन्तान हुन् । सोही मुद्दामा थुनिएका दिलमाया र लोकबहादुर डाँगीका छोरा हुन्, दीपेश ।


दुई वर्षभन्दा माथिका बालबालिकालाई जेलभित्र राख्न नपाइने कानुनी व्यवस्था छ । तर, अभिभावकलाई छोड्न नमान्दा र आफन्तले लिन नआउँदा समस्या भएको कारागार प्रशासनले जनाएको छ । कैद हुनुपर्दा बालबालिका घुमफिर, पठनपाठन, खेलकुद र मनोरञ्जनलगायत सुविधाबाट वञ्चित छन् । उनीहरूले इच्छा अनुसार खानसमेत पाउँदैनन् । गंगाका २ छोरीलाई घर लैजान मिल्ने भए पनि आफन्तले लिन नआएको कारागारका सूचना अधिकारी केशवराज न्यौपानेले बताए ।


बालबालिकालाई कुनै बालगृहमा राख्न सकिने भए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन । यसअघि कारागारमा रहेका ४ बालबालिकालाई केन्द्रीय बालकल्याण समितिको जिम्मा लगाइएको थियो । कारागारमै बच्चा जन्मिएपछि दिलमायालाई ३ महिना सुत्केरी बिदा दिएर कारागार बाहिरको घरमा राखिएको थियो । उनी ५ महिनादेखि जेलमा बस्दै आएकी छन् । रिहा हुन तीन महिना मात्र बाँकी रहेकाले सन्तानलाई कारागारमा सँगै राखिरहेको डाँगीले जानकारी दिइन् । जेठी पत्नी इन्द्राले दिएको उजुरीका आधारमा प्रहरीले डाँगी दम्पतीविरुद्ध मुद्दा चलाएको थियो ।


गत कात्तिक २४ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका टेकबहादुर दम्पती २०७८ वैशाख ५ गते रिहा हुने कारागार प्रशासनले जनाएको छ । लोकबहादुर दम्पती आगामी वैशाखमा कारागारबाट छुट्नेछन् ।

प्रकाशित : पुस १७, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?