१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भ्रमण वर्ष : पर्यटक ल्याउनै चुनौती

संघीय र प्रदेश सरकारले सूचीमा राखेका मुख्य पर्यटकीय गन्तव्यमै पूर्वाधार अभाव छ 
चाँदनी कठायत

(वीरेन्द्रनगर) — कर्णाली प्रदेश सरकारले बुलबुले ताल परिसरबाट भव्य समारोहबीच नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन गरेको छ । तामझामका साथ बुधबार भ्रमण वर्षको सुरुवात गरिए पनि पर्यटक भित्र्याउन प्रदेश सरकारले वातावरण तयार पारेको छैन । 

भ्रमण वर्ष : पर्यटक ल्याउनै चुनौती

कर्णाली–रारा पर्यटन वर्ष–२०७५ मा लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको सरकारले भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, जसमध्ये १ लाख बाह्य पर्यटक हुने बताइएको छ । प्रदेश र संघीय सरकारले सूचित गरेका मुख्य पर्यटकीय गन्तव्यमा नै पूर्वाधार अभाव छ । पर्यटकको सुरक्षा, व्यवस्थित खाना र बासको उचित व्यवस्था नहुँदा लक्ष्यअनुसार पर्यटक भित्र्याउन नसकिने व्यवसायी बताउँछन् । कर्णाली–रारा पर्यटन वर्षकै समयमा निर्माण गर्ने भनिएको सडक र अन्य पर्यटन पूर्वाधारतर्फको काम पूरा हुन सकेनन् । प्रदेश सरकारले पर्यटन विकासका योजना कार्यान्वयनमा देखाएको सुस्तताले लक्ष्य पूरा हुन नसक्ने सरोकारवालाको भनाइ छ ।


पर्यटकीय गन्तव्यमा छैनन् पूर्वाधार

संघीय सरकारले गत वर्ष तोकेका सय पर्यटकीय गन्तव्यमध्ये कर्णालीका २१ स्थल समावेश छन् । प्रदेश सरकारले ४० गन्तव्यलाई उत्कृष्टमा सूचीकृत गरेको छ । तर सबैमा पूर्वाधारकै अभाव छ ।


नेपालको सबैभन्दा गहिरो ताल डोल्पाको से–फोक्सुण्डोमा सडक पुग्न सकेको छैन । त्यहाँ पुग्न पर्यटकले निकै कठिन यात्रा तय गर्नुपर्छ । डोल्पाको त्रिपुरासुन्दरी धार्मिक पर्यटन केन्द्र, माथिल्लो डोल्पा, हुम्लाको लिमी उपत्यका र खार्पुनाथ, सुर्खेतको जाजुरा दहलगायत पर्यटकीय स्थलमा सहज सडक सुविधा छैन । सडक पुगेका पर्यटकीय स्थलमा पनि पर्यटकको सुरक्षासँगै राम्रो खानपिन र बासको व्यवस्था हुन नसकेको वीरेन्द्रनगरका प्रेमबहादुर थापाले बताए । ‘हिमाली जिल्लाका पर्यटकीय स्थलमा सडक नपुगेको भन्ने मात्रै सुनिन्छ,’ उनले भने, ‘त्यहाँ पुगेर फर्किने पर्यटकलाई मात्रै थाहा छ कति दु:ख छ भनेर ।’ उनका अनुसार प्रदेश सरकारको सहयोगमा निर्माण गरिएका अधिकांश होमस्टे र अन्य होटल पनि पर्यटकमैत्री छैनन् । पर्यटकलाई आवश्यक पर्ने स–साना कुरालाई ख्यालमा राखी प्रदेश सरकारले काम गर्नुपर्ने उनको सुझाव छ ।


संघीय सरकारले तोकेका सय गन्तव्यमध्ये कर्णालीमा सुर्खेतको जाजुरा दह (गुप्ती ताल, मादले गुफा, शिव गुफालगायत) र गिद्देडाँडा, दैलेखको कोतगढी–पञ्चदेवल–बेलासपुर–महावु छन् । त्यस्तै सल्यानको कुपिण्डे दह, डोल्पाको त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र, जुम्लाको डुडुल चैत्य, हुम्लाको लिमी उपत्यका, मुगुको रारा–से फोक्सुण्डो (लेक टु लेक ट्रेकिङ), कालिकोटको पचाल झरना र जाजरकोटको खलंगा दरबार क्षेत्र नयाँ गन्तव्य तोकिएका हुन् ।


प्रदेश सरकारले पनि हुम्लाको लिमी उपत्यका र खार्पुनाथ, सिमिकोट, मुगुको राराताल र छायानाथ, जुम्लाको चन्दननाथ, गुठिचौर, पातारासी र सिँजा उपत्यकालाई गन्तव्यमा सूचीकृत गरेको छ । प्रदेश सरकारका गन्तव्यमा कालिकोटको पचालझरना, चुलीमालिका, कोटदरबार पिली र मान्म पनि समावेश छन् । त्यस्तै, दैलेखको राकमकर्णाली र पञ्चकोशी सर्किट, सुर्खेतको काँक्रेबिहार, बुलबुले ताल र पञ्चपुरी सर्किट, सल्यानको कुपिण्डे दह तथा खैरावाङ मन्दिर गन्तव्यको रुपमा परिभाषित भएका छन् । रुकुम पश्चिमको सिस्ने हिमाल, स्यार्पुताल मुसीकोट दरबार र डिग्रेमाई मन्दिर, जाजरकोटको भेरी मन्दिर, डोल्पाको माथिल्लो डोल्पा, से फोक्सुण्डो ताल र त्रिपुरासुन्दरी पनि गन्तव्यकै सूचीमा रहेको सरकारले जनाएको छ ।


प्रदेश सरकारको नयाँ बाटो

प्रदेश सरकारले पर्यटन विकासका लागि १० वर्षीय गुरुयोजना बनाएको छ । गुरुयोजनाअनुसार प्रदेश सरकारले सो अवधिमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, जसमा ४ लाख विदेशी पर्यटक रहने उल्लेख छ । अहिले कर्णालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा हरेक वर्ष ३९ दशमलव ५ प्रतिशतका दरले वृद्धि गर्ने सरकारको योजना हो ।


पर्यटकलाई आकर्षित गर्न भ्रमण वर्षको शुभारम्भदेखि नै कर्णालीको प्राकृतिक र जैविक विविधतामा आधारित आयोजनाहरू, तीर्थस्थल, अध्यात्म र ध्यानसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने भएको छ । प्रदेश सरकारले मूर्मा मोडल इकोभिलेज, काँक्रेविहार प्राणी उद्यान, छार्का–धो–सालदाङ–भिजेर–कामाराङ हिउँ चितुवा एक्सपेडिसन र भण्डारवन प्राकृतिक पदमार्ग/प्राकृतिक प्राणी उद्यानलाई योजनामा राखेको जनाएको छ । योजना अनुसार राकम पर्यापर्यटन तथा मत्य विकास र सुर्खेत–गोठीकाँडा–सिद्धपाइला केबलकार सञ्चालन गर्ने सरकारी तयारी छ ।


गुरुयोजनामा संस्कृति, कला र इतिहासम्बन्धी ६, साहसिक तथा मनोरञ्जनसम्बन्धी ११ र व्यापारसम्बन्धी ३ आयोजना सञ्चालन गर्न खोजिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए । उनले गुरुयोजनाको लक्ष्य हासिल गर्न उत्पादन केन्द्रित बजारीकरण, सार्वजनिक–निजी–सहकारी साझेदारी र वातावरणमैत्री पर्यटन पूर्वाधार विकासका रणनीति अपनाइने जनाए । पर्यटन क्षेत्रका रुपमा प्रदेशलाई ५ भागमा विभाजन गरिएको उनी बताउँछन् । बुढाका अनुसार मध्य कर्णाली (सुर्खेत र दैलेख) पर्यटन क्षेत्र, मध्य भेरी पर्यटन क्षेत्र (रुकुम पश्चिम, सल्यान जाजरकोट), डोल्पो पर्यटन क्षेत्र (डोल्पा), रारा–जुम्ला–सिंजा–कालिकोट पर्यटन क्षेत्र (कालिकोट, जुम्ला र मुगु) र हुम्ला–लिमी–हिल्सा पर्यटन क्षेत्र (हुम्ला) लाई गुरुयोजनामार्फत अघि सारिएको हो ।


कर्णालीमा आउने पर्यटकहरूको संख्यामा वृद्धि गर्न प्रदेश सरकारले संस्थागत संरचनाअन्तर्गत अन्तरदेशीय पर्यटन समन्वय समितिसमेत गठन गर्ने भएको छ । गुरुयोजनामा कर्णाली–चीन (तिब्बत) अन्तरदेशीय पर्यटन समन्वय समिति गठन गर्ने उल्लेख छ । मुख्यमन्त्रीको अध्यक्षतामा कर्णाली प्रदेश पर्यटन समन्वय परिषद्, पर्यटन मन्त्रालयका सचिवको अध्यक्षतामा कर्णाली प्रदेश पर्यटन बोर्ड, पर्यटन मन्त्रालयमा पर्यटन तथा संस्कृति महाशाखा स्थापना गर्ने प्रदेश सरकारको योजना छ ।


पर्यटकलाई २१ दिन बसाइने

पर्यटकले कर्णालीमा बिताउने समयलाई बढाउने योजनासमेत अघि सारिएको छ । प्रदेशको पर्यटन मन्त्रालयका अनुसार पर्यटकलाई २१ दिनसम्म बसाउनेगरी योजना बनाइएको हो ।


अहिले भारतीय पर्यटकबाहेक अन्य बाह्य पर्यटकको अवधि १९ दिन रहेको दाबी गर्दै पर्यटन मन्त्रालयले २ दिन थपेर २१ दिन पुर्‍याउने जनाएको हो । प्रत्येक पर्यटकले प्रतिदिन १ सय २० डलर खर्च गर्ने अनुमान गरेको सरकारले यसबाट समृद्ध कर्णाली आधार तयार हुने दाबी गरेको छ ।


गुरुयोजनाअनुसार पर्यटनसम्बन्धी १० वर्षे कर्णाली पर्यटन गुरुयोजनाको कार्यान्वयन गर्न ५ अर्ब बजेट आवश्यक पर्ने मन्त्री बुढा बताउँछन् । उनका अनुसार पर्यटकीय उत्पादन विकास र स्तरोन्नतिका लागि १०, पर्यटन पूर्वाधार विकासमा ३५, गन्तव्य प्रवर्द्धन र बजारीकरणमा १० र नीति तथा संस्थागत संरचनामा १० प्रतिशत रकम खर्च हुने अनुमान छ ।

प्रकाशित : पुस १७, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?