२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लामा समुदायमा ल्होसारको रौनक

छपाल लामा

हुम्ला — जिल्लाका लामा समुदाय ल्होसार पर्वमा रमाइरहेका छन् । सिमकोटमा तोतङी ल्होसार आइतबार सामूहिक रुपमा मनाएर सकिए पनि गाउँमा रौनक कायमै छ ।  सिमकोटमा बस्दै आएका लामा समुदायले पहिलो दिन (शुक्रबार) घरघरमा ल्होसार मनाए ।

शनिबार घरघरमा पाहुना बोलाएर ल्होसार मनाइयो भने आइतबार सामूहिक रमाइलो गरी समापन गरिएको हो । बिहान पूजापाठपछि सबेरै लिंगो ठड्याएर जम्मा भएका सहभागीले शुभकामना आदानप्रदान गरी यस वर्षको ल्होसारलाई बिदाइ गरेका थिए ।

बौद्ध धर्मअनुसार ल्होसारको पूजापाठ गरेपछि वर्षभरि नै फल पाइने जनविश्वास छ । बालकदेखि वृद्धसम्म नयाँ लुगामा सजिएर ल्होसार मनाउने परम्परा छ । मुख्य पर्व शुक्रबार भए पनि सिमकोटमा जम्मा भएका २५ बस्तीका लामा समुदायले सामूहिक ल्होसार मनाएका हुन् । लामा संस्कृति मञ्चका अध्यक्ष धर्मनन्द लामाले लामा समुदायको ल्होसारलाई ठूलो चाडका रुपमा लिइने जानकारी दिए । उनका अनुसार लामा समुदायको बाहुल्य रहेका बस्तीमा ल्होसारको रमझम कायमै छ ।


घरघरमा मिष्ठान्न खाने र नयाँ कपडा लगाउने पर्वको रुपमा ल्होसारलाई लिइने उनले जानकारी दिए । ‘

गाउँगाउँमा पारिवारिक जमघट कायमै छ,’ उनले भने, ‘वर्षौंपछि गाउँमा जम्मा भएका मानिसका कारण गाउँमा छुट्टै रमाइलो छ ।’ बाहिर बस्दै आएका लामा समुदाय पुर्ख्यौली बस्तीमा गई ल्होसार मनाउँछन् ।


सिमकोटमा लामा समुदायका ६ सय बढी परिवारको बसोबास छ । सदरमुकाममा मनाइएको सामुहिक ल्होसारमा नाम्खा गाउँपालिकाका ६ वटै वडाका १८ बस्ती र सिमकोट गाउँपालिका–१, ३ र ४ का बासिन्दाको उपस्थिति थियो । लामा समुदायले सामुहिक ल्होसार मनाउन प्रतिव्यक्ति २ देखि ३० हजार रुपैयाँसम्म रकम संकलन गरेको अध्यक्ष

लामाले जानकारी दिए । उनका अनुसार ल्होसारका अवसरमा उवाको छ्याङ, सातु, छुर्पी राखेको थुप्पा, कोल, पुरी, खाप्से, खिर ममलगायत परिकार खाने चलन छ ।


ल्होसारमा महिलाले टोची, बख्खु, फुर्मेत, आगु र लामलगायत परिकार लगाउने चलन छ भने पुरुषले रातो काम्लो, बख्खु, पटुका प्रयोग गर्छन । पर्वकै अवसरमा सिमकोटमा लामा समुदायले सामुहिक नृत्य प्रदर्शन गरे । नयाँ वर्षका रुपमा ल्होसार मान्ने लामा समुदायका सुंगुर वर्ष सकिएको छ भने २१४७ मुसा वर्ष सुरु भएको छ । गाउँ गाउँमा ल्होसारको कार्यक्रम एक सातासम्म चल्ने सिमकोट–३ का छवाङ लामाले जानकारी दिए ।

प्रकाशित : पुस १४, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?