१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुसे भैलीको रौनक

(मुगु) र (जुम्ला) — सोरु गाउँपालिका–८ की २० वर्षीया जुनसरा कार्की र उनका साथीहरू दैनिक गाउँमा जम्मा हुन्छन् । केही दिनयता उनीहरूले अबेरसम्म घरघरमा गई भैली खेलिरहेका छन् । भैलीसँगै उनीहरू दैनिक देउडा गाउँछन् ।

पुसे भैलीको रौनक

कर्णालीका हिमाली जिल्लाका अधिकांश बस्तीमा अहिले पुसे भैलीको रौनक छ । भैली खेल्न आएका छोरीचेलीलाई घरधनीले चामल, दाल, तेल, नुन र दक्षिणा दिएर पठाउने गरेका छन् । मादल र खैचडीको तालमा मुगुमा पुसे भैली खेल्ने गरिएको छ । भैली खेल्न अविवाहित छोरीचेली आफन्त र छिमेकीको घरमा जम्मा हुने गरेका छन् भने विवाहित महिला माइतीमा आउँछन् । कर्णालीमा तिहारको भैलीभन्दा पुसे भैलीलाई महत्व दिइन्छ ।


भैली खेल्न आएका चेलीले चिसो भगाउन वनजंगलबाट आफै दाउरा ल्याएर बाल्ने गरेका छन् । पुसको पूर्णिमादेखि औशीसम्म भैली खेलेर जम्मा भएको दक्षिणा र खाद्य सामग्री दैनिक भोज खान प्रयोग गरिन्छ । मुन्दु, कोटिला, भीई, झयारी, नार्थपु, बामलगायत बस्तीका युवतीले भने आफ्नै घरबाट खाद्य सामग्री जुटाउने चलन छ । उनीहरूले बिहान भोज खान्छन् भने राति घरघरमा गई भैली खेलेर रमाइलो गर्छन् । छिमेकी गाउँका आफन्तलाई समेत भैलोको भोज खान निम्ता दिने चलन गाउँबस्तीमा कायमै छ । आफन्तले भोज खाएबापत इच्छाअनुसार छोरीचेलीलाई दक्षिणा दिने चलन केही गाउँमा छ ।

सुकाढिक गाउँकी दाना गिरीले भैलीका कारण गाउँघर रमाइलो बनेको बताइन् । ‘टाढा विवाह गरेकी छोरी भैलो खेल्न र भोज खान माइतीमा आउने गरेका छन्,’ उनले भनिन्, ‘अधिकांश गाउँमा पुसका छोटा दिन र लामा रात भैलीमै बित्छन् ।’ उनका अनुसार खत्याड गाउँपालिकाको रिघा, आम र हयाङलुलगायत बस्तीमा पुसे भैली खेलिन्छ ।


छायानाथरारा नगरपालिका–३ की वडा सदस्य पञ्चदेवी खड्काले छोरीचेली माइतीमा आएपछि गाउँघर रमाइलो बनेको बताइन् । ‘वर्षौंदेखि भेट नभएका चेलीको भेट पुसे भैलीमै हुन्छ,’ उनले भनिन्, ‘मुगुका अधिकांश गाउँको मुख्य चाड नै पुसे भैली हो ।’ भेटघाट, खानपिन र रमाइलो पर्वका रुपमा पुसे भैलीलाई लिइने उनले सुनाइन् ।


सदरमुकाम आसपास र बजार क्षेत्रमा भने पुसे भैली हराइसकेको छ । माइती आएका चेलीलाई खिचडी खुवाउने चलन ग्रामीण क्षेत्रमा कायमै छ । कर्णाली नाट्य समूहका संयोजक हिराविजुली नेपालीले भने पुर्ख्यौली भैली विस्तारै हराउन थालेकोमा चिन्ता व्यक्त गरे । ‘परम्परागत चाडपर्वलाई संरक्षण गर्नसके कर्णालीको पहिचान मेटिने छ,’ उनले भने, ‘मौलिक चाडकै कारण कर्णालीको पहिचान फरक छ ।’ उनका अनुसार मुगुमा भुवा, पिठायाँजस्ता मौलिक चाड पनि पुस महिनामै मनाउने चलन छ ।


हराउँदै ठूली भैली

कर्णालीका हिमाली जिल्लामा मनाइने ठूली भैली शुक्रवार जुम्लामा सुरु भएको छ । कृषिका कुनै काम पुसमा नहुने भएकाले रमाइलो गर्दै ठूली भैली खेल्ने गरिएको हो । जुम्लामा कल्याल राजाको पालादेखि हिउँदमा ठूली भैली खेल्ने चलन रही आएको स्थानीय जानकार रामकृष्ण बुढथापाले बताए । ‘तिहारमा खेलिने भैलो कर्णालीको इतिहास होइन,’ उनले भने, ‘यहाँको संस्कृति भनेकै पुस महिनामा खेलिने भैली हो ।’ उनका अनुसार जुम्लामा औंशीदेखि पञ्चमीसम्म ५ दिन पुसे भैली खेलिन्छ ।


यहाँका सबैजसो स्थानीय तहमा आफ्नै पहिरन लगाएर महिला–पुरुषले भैली खेलिरहेका छन् । युवा पुस्तामा हस्तान्तरण नहुँदा जुम्लामा बुढापाखाले मात्र भैली खेल्छन् । युवाले भैली खेल्न नजानेको स्थानीय डिल्ली खत्रीले बताए । ‘हामी लय निकाल्नै जान्दैनौं,’ उनले भने, ‘कर्णालीको संस्कृति संरक्षणका लागि बुढापाखाबाट सिक्न जरुरी छ ।’ नागरिक अगुवा बुढ थापाका अनुसार अन्नबाली भित्र्याएर भकारी भरिभराउ भइसकेपछि थकाइ मार्ने मेलोका रुपमा ठूली भैली खेल्न थालिएको हो । पुवापुस्तालाई पनि पुसे भैलीमा संलग्न गराउन सके कर्णालीको संस्कृति संरक्षण हुने स्थानीय संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए ।

प्रकाशित : पुस १२, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?