कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

लागूऔषध दुर्व्यसनी बढ्दै

एलपी देवकोटा

(जुम्ला) — चालू आर्थिक वर्षका ५ महिनामा जुम्ला प्रहरीले १० जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । यो वर्ष लागूऔषधका ३ मुद्दा अदालतमा दर्ता भए । शनिवार एक ग्राम लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको प्रहरीले एक साताअघि जुम्ला विमानस्थलबाट ६ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

दुर्गम गाउँमा सडक सञ्जाल जोडिएसँगै पछिल्लो समय लागूऔषधको दुर्व्यसनी बढिरहेको छ । बेरोजगारी, पारिवारिक तनाव र देखासिकीलगायत कारणले दुर्व्यसनीको संख्या बढिरहेको हो । भारतको रुपैडिहा नाका हुँदै नेपालगञ्ज भएर जिल्लामा ठूलो परिमाणमा लागूपदार्थ भित्रिने गरेको प्रहरीको तथ्यांक छ । औसत दैनिक १० देखि १ सय ५० ग्रामसम्म ब्राउनसुगर जिल्लामा भित्रिरहेको छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार २०६९ सालदेखि मात्रै जुम्लामा लागूऔषध भित्रन थालेको हो । ‘रुपैडिहाबाट लुकाइछिपाइ लागूऔषध आउने क्रम बढेको छ,’ जिल्ला प्रहरी प्रमुख डीएसपी लालबहादुर धामीले भने, ‘कहिलेकाहीँ त जहाजबाटै लागूऔषध ओसारपसार हुन्छ ।’ कारोबारीले रुपैडियाबाट रफिक अहमद नामका व्यापारीमार्फत ब्राउनसुगरलगायत लागूपदार्थ ल्याउने गरेको प्रहरीको अनुसन्धानले खुलेको छ ।


जिल्लामा लागूऔषध प्रयोग बढ्दै गएपछि स्थानीय सरकारले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन् । चन्दननाथ नगरपालिकाले अभियान नै चलाएको छ । पहिलो चरणमा ९ माध्यमिक विद्यालयमा सचेतनामूलक कक्षा सञ्चालन गरिएको नगर प्रमुख कान्तिका सेजुवालले बताइन् ।


प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले लागूऔषध कारोबारको जालो तोड्ने प्रयास गरिरहेको बताइन् । जिल्लालाई लागूऔषधमुक्त बनाउन स्थानीय सरकार, प्रहरी र सरोकारवालासँग छलफल भइरहेको उनले जनाइन् । प्रहरीले लागूऔषध प्रयोग नियन्त्रण र निषेध अभियान जिल्लाभर सञ्चालन गरिरहेको छ ।


‘ओसारपसार रोक्न जिल्ला भित्रिने विभिन्न नाकामा गस्ती बढाइएको छ,’ डीएसपी धामीले भने, ‘लुकीछिपी प्रयोग गर्ने सयौं छन्, निगरानी गरिरहेका छौं ।’ उनले खुलेआम बजारका पेटीमा लागूऔषध किनबेच गर्ने र सेवन गर्नेको संख्या घटेको दाबी गरे ।


नयाँ रुट ‘हवाई मार्ग’

पुस २ गते जुम्ला विमानस्थलको टर्मिनल भवनभित्र प्रहरीले ६ ग्राम अवैध लागू औषध ब्राउनसुगर बरामद गर्‍यो । यो घटनासँगै जहाजबाट पनि जिल्लामा लागूऔषध ओसारपसार भइरहेको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुसन्धान जारी रहेकाले संलग्नको नाम गोप्य राखिएको छ । डीएसपी धामीले घटनापछि जहाजमा निगरानी थालिएको जानकारी दिए ।


घटनापछि भिजिट कर्णाली कम्पनीका दुई कर्मचारीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार स्याम्पुको डिब्बाभित्र ६ ग्राम लागूऔषध थियो । उक्त कार्टुनभित्र १२ दाना सुन्तला र साबुन पनि राखिएको डीएसपी धामीले जनाए ।


बढ्दै मुद्दा

जिल्लामा लागूऔषध विरुद्धका मुद्दा बढिरहेका छन् । आर्थिक वर्ष २०७३/०७४ मा लागूऔषधका ७ वटा मुद्दा परेकोमा गत वर्ष ५ मुद्दा चलाइए । केही समययता १० जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।


प्रहरी अनुसन्धान अनुसार सबैभन्दा बढी १५ देखि ३० वर्षसम्मका व्यक्ति लागूऔषध प्रयोग र ओसारपसारमा संलग्न छन् ।


प्रकाशित : पुस ९, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?