१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बाँसपानी गोली–काण्ड : बिथोलियो जीवन, भएन कारबाही

पीडित परिवारले सरकारबाट उचित राहत नपाएको गुनासो गरेका छन्

(सुर्खेत) — दिनभरि काउलो टिपेर थाकेको ज्यान । साँझ खाना खाएर सुत्ने तरखर हुँदै थियो । केही पर ‘ड्याङ्ग’ बन्दुक पड्केको आवाज सुनियो । सुरुमा त सेनाले तर्साउनका लागि फायर गर्‍यो होला भन्ने लाग्यो । हेर्दाहेर्दै सेनाको टोली नजिकै आइसकेको थियो । रत्नबहादुर सुनारसहित तीनजना पुरुष सेनाको घेरा तोडेर भागे ।

बाँसपानी गोली–काण्ड : बिथोलियो जीवन, भएन कारबाही

कृष्णबहादुर सुनार पक्राउ परे । ३५ वर्षीया देवीसरा सुनार, उनकी १३ वर्षीया छोरी चन्द्रकला र २९ वर्षीया अमृता सुनार भने उम्कन सकेनन् । ‘रातिको बेला अरूलाई बचाउनेभन्दा पनि आफू कसरी बच्ने भन्नेमै हाम्रो ध्यान गयो,’ १० वर्षअघिको उक्त घटना सुनाउँदै अमृताका श्रीमान् रत्नबहादुरले भने, ‘उनीहरू पनि भागेर आउलान् भन्ने सोच्दै रातभरि बाटो हेर्‍यौं, तर फर्केर आएनन् ।’


भोलिपल्ट बिहान ९ बजे फेरि बन्दुक पड्केको आवाज घरसम्मै सुनियो । स्थानीयको मनमा त चिसो पसेकै हो । जंगल घर नजिकै भए पनि फर्केर जान सक्ने अवस्था थिएन । पर्सिपल्ट बिहान त रेडियोबाट ‘दोहोरो झडपमा तीनजना चोरी सिकारीको मृत्यु’ भन्ने खबर आइहाल्यो । हरिहरपुर, कप्टेरीका रत्नबहादुरले बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भने, ‘अनाहकमा ज्यान त लिए, अहिलेसम्म न राहत मिलेको छ, न दोषीमाथि कारबाही नै भएको छ । हामीले न्याय कहिले पाउने ?’


२०६६ फागुन २६ को उक्त घटना ‘बाँसपानी गोली काण्ड’ का रूपमा चर्चित छ । बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानीमा काउलो टिप्न गएका मध्यवर्ती क्षेत्र कप्टेरीका दुई महिला र एक बालिकालाई नियन्त्रणमा लिएर हत्या गरेको आरोप सेनामाथि लाग्दै आएको छ । उक्त घटनाबारे छानबिन गर्न गठन भएको सरकारी छानबिन समिति, संसदीय समिति र राष्ट्रिय मानव अधिकार आयोगले समेत घटनामा सेनाको गल्ती औंल्याएका छन् । घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले १० वर्षपछि दोषीमाथि कारबाही र राहत माग गर्दै सरकार गुहारेका हुन् ।


देवीसराका तीन छोरा र तीन छोरी थिए । माइली चन्द्रकलाको उनीसँगै सेनाको गोलीबाट मृत्यु भयो । घटनाबाट श्रीमान् बाँचे पनि पाँच सन्तानको भने बिचल्ली भयो । जेठी छोरी शान्तिले घटनाको एक वर्षपछि पढाइ छाडिन् । १६ वर्षको उमेरमै गाउँ नजिकैको केटासँग बिहे भयो । ‘आमा बितेपछि घरमा दुःख भयो, खानलाउन पनि नपुग्ने,’ बिहीबार वीरेन्द्रनगरमा पत्रकारसँग उनले भनिन्, ‘सबैले सुख हुन्छ, घरबाट पनि माइतीमा हेर्न सकिन्छ भनेर सल्लाह दिएपछि बिहे गरें ।’ त्यसपछि भने भाइबहिनीको झन् बिचल्ली भएको उनले बताइन् । घटनाको दुई वर्षपछि बुबाले दोस्रो बिहे गरे । कान्छी आमाबाट तीन सन्तान छन् । देवीसराका पाँच छोराछोरीको जीवनको बाटो भने उक्त घटनापछि पूरै मोडियो । कसैले पनि पढाइ पूरा गर्न पाएनन् । शान्तिका अनुसार दुई भाइ कामको खोजीमा भारत गएका छन् भने कान्छी बहिनीको पनि सानैमा बिहे भइसकेको छ । कान्छो भाइमात्र अहिले ३ कक्षामा पढिरहेका उनले बताइन् । ‘आमा भइदिएको भए पढेर बोल्न सक्ने हुन्थ्यौं होला, पढ्ने बेला बच्चा जन्माएर स्याहार्नुपरेको छ,’ उनले भनिन्, ‘तैपनि आमा मार्नेलाई कारबाही भएको देख्न पाइयोस् ।’


शान्तिले आमामाथि गोली दाग्नेलाई कारबाहीको माग गर्न थालेको पनि १० वर्ष बित्यो । सेनाको ठाकुरद्वारास्थित ज्वालादल गणका तत्कालीन उपसेनानी सुबोध कुँवरको कमान्डमा गएको १७ सैनिक र चार सशस्त्र वनरक्षकको टोलीले आमाको हत्या गरेको उनको भनाइ छ । तत्कालीन व्यवस्थापिका संसद्को महिला बालबालिका तथा समाज कल्याण समितिको संसदीय टोलीले घटनाको स्थलगत अध्ययन गरी सेनाले अनाहकमा महिला र बालबालिकाको हत्या गरी उल्टै चोरीसिकारीको आरोप लगाएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।


सरकारले समेत घटनापछि २०६६ चैत ४ मा तत्कालीन सहन्यायाधिवक्ता सरोज गौतमको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले कस्तो प्रतिवेदन दिएको छ भन्ने अहिलेसम्म गुपचुपमै छ । बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले भने घटनामा मारिएका र भाग्न सफल भएका व्यक्तिहरू चोरी सिकारी नभएका बताएको थियो । घटनापछि पक्राउ परेका देवीसराका श्रीमान् कृष्णबहादुरलाई निकुञ्जले चैत ४ गते नै ‘चोरी सिकारीमा संलग्न नरहेका’ भन्दै छाडेको थियो । मृतक महिला र बालिका पनि चोरी सिकारी नभएको भन्दै पीडित परिवारसँग सहमति गरिएको थियो ।


पीडित परिवारले सरकारबाट उचित राहतसमेत नपाएको बताएका छन् । घटनापछि चौतर्फी दबाब बढेपछि निकुञ्जले तीनजनाको परिवारलाई एकमुष्ट तीन लाख रुपैयाँ दिएको थियो । देवीसराको एउटा छोरालाई निकुञ्जमा रोजगारी दिने सहमतिसमेत भएको थियो । ‘सहमतिअनुसार सरकारले जागिर दिएको भए अहिले भाइले इन्डियाको गल्लीमा काम खोज्दै भौंतारिनुपर्ने थिएन,’ शान्तिले भनिन्, ‘उतिबेला निमुखालाई मारेको भन्दै धेरै हल्लाखल्ला भएपछि जागिर दिने लिखित कागज गरिएको थियो,’ उनले भनिन्, ‘अब त्यो कागज कहाँ छ, अत्तोपत्तो छैन ।’


गोलीकाण्डपछि श्रीमती (अमृता) गुमाएका रत्नबहादुरले पनि घटनाको दुई वर्षपछि अर्को बिहे गरे । कान्छी श्रीमतीबाट दुई सन्तान जन्मिएका छन् । अमृताका तीन छोराछोरीले भने त्यसपछि निकै हन्डर खाए । ‘उनीहरूलाई सम्हाल्ने प्रयास त गरिरहेको छु तैपनि कहिलेकाहीँ गाह्रो हुँदोरहेछ,’ रत्नबहादुरले भने, ‘अब हाम्रो एउटै माग छ, अनाहकमा ज्यान लिने सेनामाथि कारबाही होस् ।’


प्रकाशित : पुस ५, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?