म्याद सकिँदासम्म बनेन पुल

(रुकुम पश्चिम) र (सल्यान) — सम्झौताअनुसार काम भएको भए गाराघाटस्थित सानीभेरी नदी वारपार गर्न समस्या हुने थिएन । मुसीकोट नगरपालिका १ र बाँफिकोट गाउँपालिका १० जोड्ने सानीभेरी नदीमाथिको पक्की पुल निर्माणको काम लामो समयदेखि अलपत्र छ ।

म्याद सकिँदासम्म बनेन पुल

सडक डिभिजन कार्यालय, चौरजहारीमार्फत निर्माण भइरहेको पुल निर्माणको अवधि अघिल्लो माघसम्म थियो । तर पुल निर्माण भइसक्नुपर्ने समय सकिएर थप १ वर्ष वित्दा पनि पुल निर्माणको काम १० प्रतिशत बनेको छैन । पुल निर्माणको जिम्मा लिएको नागार्जुन कन्स्ट्रक्सन कम्पनीको लापरवाहीले पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो । अहिलेसम्म दुवैतर्फको पिलरको केही काम सकिनुबाहेक अरु प्रगति हुन सकेको छैन । सानीभेरी नदीवारि र पारिको पिलर पनि पूरा नगरी ठेकेदार सम्पर्कमा आएका छैनन् ।


२०७३ असारमा नागार्जुन कन्स्ट्रक्सन र सडक डिभिजनबीच १० करोड ८६ लाख रुपैयाँमा पुल निर्माणको सम्झौता भएको थियो । निर्माणको काम भने २०७३ पुसबाट मात्रै सुरु भएको डिभिजनले जनाएको छ । डिभिजनका अनुसार सुरुका ३ महिना राम्रैगरी काम गरिए पनि त्यसपछि भने ठेकेदार कम्पनीले ठूलो लापरबाही गरिरहेको छ । स्थानीय हरिभान नेपालीले केही समय मात्रै काम गरेको ठेकेदार कम्पनीका प्रतिनिधिलाई देख्न छोडिएको लामो समय भइसकेको बताए । ‘२०७५ मै पुल निर्माण हुने भनेर सुनेका हामी पुल बन्ने भएपछि खुसी थियौं,’ उनले भने, ‘अब त पुल बन्छ कि बन्दैन भन्ने आशंका पैदा भइसक्यो ।’


पुल डोल्पा जाने सडकका लागि मुख्य मानिन्छ । यसको साथै गाराघाट नजिकै बाँफिकोट गाउँपालिका ९, भेराखेतमा ४ सय केभीएको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशन बनाउन कामसमेत प्रभावित हुने देखिएको छ । यसको साथै त्यस क्षेत्रका व्यापारिक केन्द्र छिन्खेत, राडीबजार हुँदै जाजरकोट र डोल्पा समेतको सडक यातायात सेवालाई जोड्ने गरी यो मोटरेवल पुलको काम सुरु गरिएको थियो । पुल निर्माण सक्नुपर्ने सम्झौताको समय सकिएको एक वर्ष वित्दासमेत म्याद थप भएको छैन । ठेकेदार कम्पनीले म्याद थपका लागि निवेदन दिएको छ । तर म्याद थपको प्रक्रिया अघि नबढेको सडक डिभिजनले जनाएको छ ।


म्याद थपका लागि आवश्यक पुष्टि हुने कागजात र प्रमाण भएपछि मात्रै म्याद थपको प्रक्रिया अघि बढ्ने डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए । दुवै तिरका एक/एक पिलर निर्माण गरेको कम्पनीले बीचको पिलर बनाउने र अरु काम नगरेको उनले जनाए । ठेकेदार कम्पनीले बीचमा कडा चट्टान भेटिएकोले समस्या भएको र डिजाइन परिवर्तनसम्मको कुरा गरेको उनले जानकारी दिए । कडा चट्टानको परीक्षण गरेपछि आउने प्रतिवेदनका आधारमा म्याद थपको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । केही दिनभित्र फाउण्डेशनमा कडा चट्टान भए/नभएको परीक्षण गर्ने तयारीमा ठेकेदार उनी बताउँछन् उनका अनुसार परीक्षणपछि काममा थप एक्सन लिइनेछ ।


पुलले जनजीवन सहज

सल्यानको कालीमाटी गाउँपालिका ७, हात्तीदमारका १५ वर्षीय रविन्द्र खत्रीलाई विद्यालय जान कुनै समय बबई नदी तर्न चिन्नाको सहारा लिनुपर्ने बाध्यता थियो । स्थानीय सुरवीर खत्रीले नदी तर्ने क्रममा तीन वर्षअघि झण्डै ज्यान गुमाए । उनका अनुसार स्थानीयलाई लामो समय भगवान भरोसामा नदी तर्नुपर्ने बाध्यता थियो ।


पुल बनेपछि भने उनीहरूले उक्त समस्याबाट मुक्ति पाएका छन् । नदीमा पुल बनेपछि स्थानीयको सास्ती मात्रै हटेको छैन, बजार र गाउँबीचको सम्बन्ध जोडिएको छ । पुलकै कारण बालबालिकाको पठनपाठन नियमित बनेको छ भने सामान ढुवानीमा सहज भएको छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुल्चोकले २ सय २० मिटर लम्बाइको झोलुंगे पुल निर्माण गरेको हो । कार्यालयका अनुसार पुल निर्माणमा १ करोड २० लाख रुपैयाँ खर्च भएको छ । निलगिरि तथा थानी बिल्डर्सले गत वर्ष पुल निर्माणको काम पूरा गरेको डिभिजन कार्यालयले जनाएको छ ।


कालीमाटी गाउँपालिका ७, हात्तीदमार र दम्दवाली जोड्न झोलुंगे पुल निर्माण भएपछि आसपासका गाउँको दूरीसमेत छोटिएको स्थानीय पूर्णबहादुर रोकाले बताए । पुलले कालीमाटी गाउँपालिकाका ६ गाउँबीच सम्बन्ध जोडेको उनी बताउँछन् । पुल नभएकै कारण दम्दवालीस्थित जनता माविका बालबालिका बर्खाका ३ महिना पढाइबाट वञ्चित थिए । पुल बनेपछि दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न ढुवानी र ओसार–पसारमा राहत मिलेको स्थानीय शिक्षक सुरेशकुमार गाहामगरले बताए । उनका अनुसार पुल नहुँदा बिरामीले समयमै उपचार नपाउने समस्या थियो ।


प्रकाशित : मंसिर ३०, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?